असहिष्णु र पुरातनपन्थी समाजको विनिर्माण
पुस्तकका स्मृति कथाहरुले विद्यामान सामाजिक चेतको मथिंगल हल्लाउने ल्याकत राख्छन्। पुस्तकले रूढी, असहिष्णु, पुरातन र यथास्थितिवादी समाजको विनिर्माण गर्ने प्रयास गरेको छ।
पाचौँ/छैठौं शताब्दीमा नै तर्कशास्त्रलाई सैद्धान्तिकरण गर्ने वेला अरस्तुले भनेका थिए— तर्ककर्ताले तर्क तथा विचार संचार गर्न आफ्नो स्मृति (मेमोरी) को कूटनीतिक प्रयोग गर्न सक्छन्। दोस्रो विश्वयुद्ध र उत्तर उपनिवेशकालमा स्मृतिले राजनीतिक तथा विघटनकारी रङ लिन थाल्यो। त्यसपछि, विशेषगरी कला, साहित्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा स्मृतिलाई विनिर्माण रणनीतिको रुपमा प्रयोग हुन थाल्यो।
निजी स्मृति वा सामूहिक स्मृतिले यथास्थिती, अधिनायकत्व, असमानता, उत्पीडन र अन्य सामाजिक, सांस्कृतिक तथा राजनीतिक मनोमानीलाई उधिन्ने काम गर्छ। स्मृतिकथामा सत्त्व पुस्तकमा लेखकले स्मृतिलाई विगत चिहाउने र समाज देखाउने डिस्कोर्सको रुपमा प्रयोग गरेका छन्।
पुस्तकमा स्मृतिलाई विगत चिहाउने एउटा आँखीझ्याल मात्र बनाइएको छैन। बरु उत्तरआधुनिकताको एउटा जटिल तर अपरिहार्य मुद्दा ‘म को हुँ’ भन्ने प्रश्नको नेपाली सामाजिक तथा सांस्कृतिक परिप्रेक्ष्य अनुरुप एउटा नौलो विमर्श तयार गरिएको छ।
यो पुस्तकका धेरैजसो कथाले परिचय राजनीतिका विविध आयाम जस्तै नारीत्व, लैङ्गिकता, यौनिकता, निजत्व, पुंसत्व, मर्दपनलाई विषयवस्तु बनाएका छन्। यद्यपि, यिनीलाई हेर्ने, पहिचान गर्ने, र ‘म को हुँ’ भन्ने प्रश्नलाई परिभाषित गर्ने परिस्थिति, सन्दर्भ, व्याख्या, रूपरेखा फरक र विशिष्ट छन्।
‘अनिच्छित आगन्तुक‘, ‘म पुतली’, ‘फरूवाको लय’, ‘लोग्नेको दर्जा’ जस्ता सशक्त स्मृतिले आफ्नो अनुभवलाई नितान्त व्यक्तिगत दृष्टिकोणबाट मात्र नभई सिंगो सामाजिक संरचनाबाट हेरेका छन्। जस्तो, ‘फरूवाको लय’मा लेखकले करीक एक्काइस दिनमा ‘पन्द्रोडा’ गराको आलीकान्ला एक्लै ताछ्ने आत्मविश्वास र दृढ्तामा आफ्नो सत्त्व वा निजत्व भेट्छिन्।
‘मृत्युपछिको राजनीति’ छोरासरह आफ्नी आमाको दाहसंस्कार गर्न पाउने सांस्कृतिक अधिकारमा केन्द्रित छ। नारीत्व र नारी हुनुको बुझाइलाई अन्य स्मृतिले पनि गहन तथा आलोचनात्मक चेतसहित प्रस्तुत गरेका छन्।
‘आमा र सगरमाथा’ मा लेखकले रजश्वलाको रगतमार्फत संसार चिहाउँछिन्। ‘पीडादेखि सपनासम्म’मा सामाजिक र पारिवारिक लाञ्छानाको पहाड पार गरेपछि प्राप्त एकल स्वतन्त्रता चित्रण गरिएको छ। त्यसैगरी, ‘जेहिठिना रहले, सेहिठिकार’मा लेखकले आफ्नो रैथाने भाषा तथा संस्कृति संकटको निरन्तरतामा सत्त्वको खोजी गरेका छन्। ’साइकल ईपिफेनी’मा पर्यटकीय अतिरञ्जित मोहमा आफ्नो परिचय डगमगाएको आभास गर्छन्।
दोहोरो सीमान्तीकरणका अनुभव अझ धारिला र पारिला छन्। बाहुनकी छोरी हुनु, मधेशमा छोरी हुनु र तथाकथित सानो जातमा छोरी हुनुले निजत्व र सत्त्व दुवैलाई भिन्नभिन्न दृष्टिकोण प्रदान गर्छन्।
‘जातीय अनुभूति’, ‘फर्केर हेर्दा’, ‘जातले बिझाउँदा’,मा स्मृतिले दोहोरो सीमान्तीकरणको मुद्दालाई बलियोसँग उठान गरेका छन्। त्यसकारण पुस्तकमा परिचय राजनीतिका विविध धारणाले बहुल अर्थ दिन्छन्। यो बहुलतालाई कथाहरुको बहुल प्रस्तुतिले थप सहयोग पु¥याएको छ। केही स्मृति नजन्मिएको बच्चाबाट आउछन् त केही बाल्यावस्थाबाट। अनि केही प्रौढ मस्तिष्कबाट।
‘कस्तो केटीमान्छे जस्तो’, ‘रोजे जस्तो हुन्छ जीवन’, ‘मर्द बन्ने संघर्ष’, ‘जीवन मृत्यु र पुनर्जीवन’ जस्ता कथा एकातिर अग्रगामी चेतले भरिएका छन् भने अर्कोतिर लामो समयसम्म मौजुद विषम लैङ्गिक सामाजिक चेत र 'होमोफोबिक' सङ्कीर्णतामाथि निर्मम प्रहार गर्छन्। कतिपय अवस्थामा विद्यमान सामाजिक तथा सांस्कृतिक अनुदारताले पात्रलाई परिभाषित गरेको छ। त्यही सत्त्व नै उसको परिचय/परिबन्ध बनेको छ।
आधुनिकताका संवाहक शिक्षा, विज्ञान, प्रविधिप्रति पनि स्मृतिकथाले यथेष्ट कटाक्ष गरेका छन्। सामाजिक सोच र चेतनामा गुणात्मक विकास नहुनाले यी संवाहक विरोधाभाषको चपेटामा परेका छन्।
आधुनिकताकाको सवालमा पुस्तकले एउटा महत्वपूर्ण मुद्दाको उठान गरेको छ। करीब सबै स्मृतिकथा हाम्रो समाज (उत्तर) आधुनिकताको विजारोपण भइसकेपछिको कालखण्डसँग प्रत्यक्ष सरोकार राख्छन्। तर, सामाजिक चिन्तन तथा सोचले सत्त्व, पहिचान र निजत्वलाई बहुल बनाउने र विभेद, कुसंस्कार, दमन, दलन, अन्याय, अत्याचार र उत्पीडनलाई निरुत्साहित गर्ने सम्बन्धमा उल्लेख्य फड्को भने मारेको छैन।
आधुनिकताका संवाहक शिक्षा, विज्ञान, प्रविधिप्रति पनि स्मृतिकथाले यथेष्ट कटाक्ष गरेका छन्। सामाजिक सोच र चेतनामा गुणात्मक विकास नहुनाले यी संवाहक विरोधाभाषको चपेटामा परेका छन्। जस्तो, प्रविधिले गर्भमा रहेको बच्चाको लिङ्ग थाहा पाउने सुविस्ता त दियो तर, सङुकुचित सोंच व्याप्त समाजमा यसै कारण लैङ्गिक विभेद फस्टाउने र अझै खाडल गहिरो हुने संभावना पनि जीवितै छ। ‘अनिच्छित आगन्तुक’मा यही विषय उठाइएको छ।
भाषा लगायत, अनुभव कथ्यको शिलाशिलामा कतिपय ठाउँमा सम्पादन सुस्त देखिन्छ। केही स्मृति आम र सामान्य छन्। पुस्तकको परिचयमा उद्घोष गरेजस्तो सबै कथाले परिवर्तनका एजेण्डालाई उजागर गर्ने उद्देश्यलाई सघाउने सामथ्र्य राख्दैनन्। यस्ता स्मृतिलाई कटौती गरी पुस्तकको आयतनलाई कम र तौललाई बढी गराएको भए सम्पादन कुशल देखिन्थ्यो।
धेरै स्मृति मर्मस्पर्शी छन्, दारुण छन्। तर, यी अनुभव सङ्कीर्ण समाज, कट्टर संरचना, पुरातन सोचविरुद्ध स्वतन्त्र तथा सशक्त अभिव्यक्ति हुन्। समग्रमा अधिकतर स्मृतिकथाले सिंगो सामाजिक तथा राजनीतिक संरचनाका विविध पक्षमा लैंगिक, यौनिक तथा जातीय विभेदबाट निर्मित एकात्मक मानक र परिभाषाको विपक्षमा वकालत गर्छन्।
पुस्तकः स्मृतिकथामा सत्त्व विधाः कथा सम्पादनः अर्चना थापा प्रकाशकः अक्षर क्रियसन्स नेपाल पृष्ठः २३९ मूल्यः रु.४५०/–