काठमाडौं महानगरलाई अबदेखि अनलाइनबाटै राजस्व तिर्न सकिने
काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणाली मार्फत राजस्व निर्धारण तथा संकलन शुरु गरेको छ।
महानगरपालिकाले आज वडा नम्बर २६ लगायत १० वटा वडाबाट सेवा सञ्चालन गरेको हो। महानगरपालिकाको सातौं नगरसभाको निर्णय अनुसार विभिन्न १० वटा वडाबाट सेवा शुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बताए।
उनका अनुसार, सेवाग्राहीले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो गरेकाले अब सबैले घरैबाट कर तिर्न सक्ने व्यवस्था गरिएको हो।
अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिनेछ। यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास महानगरपालिकाले लिएको छ।