गण्डकी प्रदेशमा डेङ्गी र स्क्रब टाइफसको संक्रमण
गण्डकी प्रदेशमा डेङ्गी र स्क्रबटाइफसको सङ्क्रमण बढेको छ। हालसम्म तनहुँ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीका बिरामी भेटिएका छन्। यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ।
कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसका बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। निर्देशनालयले १६ पुस २०७६ देखि ३१ भदौसम्म प्रदेशमा डेङ्गीका १०५ र स्क्रब टाइफसका ५४ जना बिरामी भेटिएका जनाएको छ।
यो प्रदेशमा डेङ्गी र स्क्रब टाइफसका सबैभन्दा बढी बिरामी म्याग्दीमा देखिएका छन्। यस अवधिमा म्याग्दीमा डेङ्गीका ६४ र स्क्रब टाइफसका ४३ बिरामी भेटिएका जनाइएको छ। कास्कीमा २०, लमजुङमा १०, स्याङ्जामा चार, नवलपरासीमा तीन, बागलुङमा दुई, पर्वत र गोरखामा एक/एक जना डेङ्गीका बिरामी भेटिएका छन्।
त्यसैगरी, बागलुङमा ६, नवलपरासीमा तीन र कास्कीका दुई जनामा स्क्रब टाइफस देखिएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए। डेङ्गी नियन्त्रण गर्न र सङ्क्रमण फैलिन नदिन स्वास्थ्य संस्था मार्फत ‘खोज र नष्ट गर’ अभियान तथा सरसफाइका कार्यक्रम शुरु गरिएको उनले बताए।
डेङ्गी ‘एडिस’ लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो भने स्क्रब टाइफस किराबाट मानिसमा सर्ने सरुवा रोग हो। डेङ्गीमा मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिरा देखापर्ने लगायत लक्षण देखिन्छन्। यस्तै, स्क्रब टाइफसका बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना आउने, झाडापखाला लाग्ने लगायत लक्षण देखिन्छ।