काठमाडौं उपत्यकामा दैनिक गतिविधि खुला गरियो, यातायातमा जोरबिजोर प्रणाली भने कायमै
निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेका काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले अब निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेका छन्।
बुधबार साँझ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको नयाँ आदेश अनुसार सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली कायमै रहने जनाइएको छ।
अघिल्लो हप्तादेखि लागू गरिएको जोर बिजोर प्रणाली अर्को आदेश नआएसम्मका लागि कायमै राखिएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले लामो दूरीका यातायात सञ्चालन गर्न पाउने भने पनि छोटो दूरीका यातायातमा भने पुरानै नियमलाई निरन्तरता दिइएको छ।
मन्त्रिपरिषद्ले भोली, १ असोजदेखि स्वास्थ्य प्रोटोकल कायम राखेर लामो दूरीका यातायात खुलाउने निर्णय गरिसकेको छ।
प्रमुख जिल्ला अधिकारीहरूले निषेधित रहेका गतिविधिको सूची सार्वजनिक गरेका छन्। जसमा सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब, स्पा, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्याली, सभा, खेल प्रशिक्षण तथा खेलकुद, पुस्तकालय, संग्राहलय, चिडियाखानामा लगाइएको रोक कायमै राखिएको छ। अर्थात्, अब यी बाहेक व्यापारिक क्षेत्र, होटल व्यवसाय आदी खुला हुनेछन्।
यसअघि २४ भदौमै बारअनुसार व्यापार व्यवसाय खोल्न दिने निर्णय गरिएको थियो भने होटल तथा रेष्टुरेन्टमा केही सीमासहित सञ्चालन गर्न दिने निर्णय गरिएको थियो।