महामारीका वेला कर्मचारीलाई चुनावको चटारो, यस्तो छ चुनावी जोडघटाउ
निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियनको निर्वाचन २४ असोजमा गर्ने कार्यतालिका सार्वजनिक भएपछि कर्मचारी संगठनहरू आ–आफ्नो पल्ला भारी बनाउने रस्साकस्सीमा जुटेका छन्।
सरकारले कोरोनाभाइरस संक्रमण महामारीका बीच निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियनको निर्वाचन गर्ने तयारी गरेको छ। सरकारले २४ असोजमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि कर्मचारीका संगठनहरू चुनावी तयारीमा जुटेका छन्।
कार्यतालिका अनुसार, ९ असोजमा मतदाता नामावली प्रकाशन, ११ असोजमा मतदाता नामावली उपर दाबी–विरोध, १३ असोजमा अन्तिम नामावली प्रकाशन तय गरिएको छ। त्यसैगरी, उम्मेदवारी दर्ता १४ असोज बिहान १० देखि अपराह्न ५ बजेसम्म, उम्मेदवारले नाम फिर्ता लिने समय १५ असोज बिहान १० देखि १२ बजेसम्म, उम्मेदवारको नाममा दाबी–विरोध १५ असोज दिउँसो १ देखि ५ बजेसम्मको समय तोकिएको छ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन असोज १६ गते गर्ने कार्यतालिका छ।
आधिकारिक ट्रेड यूनियनको निर्वाचन गर्ने प्रयोजनका लागि ५ साउनको मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवा कानून समूहका सह–सचिव कलानिधि पौड्याललाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ। प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अवधिभरका लागि १९ जना कर्मचारीको दरबन्दी समेत स्वीकृत गरिएको छ। जिल्लाको हकमा भने जिल्ला सरकारी वकील कार्यालयलाई जिम्मा दिइएको छ।
निजामती सेवा ऐन, २०४९ मा भएको व्यवस्था अनुरुप आधिकारिक ट्रेड यूनियनको दोस्रो कार्यकालका लागि निर्वाचन हुन लागेको हो। यसअघि पहिलो कार्यकालको निर्वाचन १९ जेठ २०७३ मा भएको थियो।
यो निर्वाचनमा २०४९ सालको ऐन तथा निजामती सेवा नियमावली २०५० अनुसार नियुक्त भई हाल अधिकृत र त्यसभन्दा तल्लो पदमा कार्यरत कर्मचारी मतदाता हुनेछन्। कर्मचारी समायोजन ऐन, २०७५ पछि लोकसेवा आयोगको विज्ञापन बमोजिम छनोट भई विभिन्न स्थानीय तहमा नियुक्त भई पदस्थापना भएका कर्मचारीहरुले भने मत हाल्न पाउने छैनन्। यस्तै, यसअघि साविक जिल्ला विकास समितिमा कार्यरत कर्मचारीहरुले पनि मतदानमा भाग लिन पाउँदैनन्।
चुनावी मैदानमा तीन संगठन, सामाजिक सञ्जाल मार्फत प्रचार
पूर्ण समानुपातिक निर्वाचन प्रणाली अनुसार हुन लागेको आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा तीन वटा संगठनले प्रतिस्पर्धा गर्दैछन्। जसमध्ये तत्कालीन नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी यूनियन र तत्कालीन माओवादी निकटको राष्ट्रिय कर्मचारी संगठन प्रतिस्पर्धामा उत्रिंदैछन्।
पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा आधारित आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा प्राप्त मतको आधारमा पदहरुको बाँडफाँड गरिन्छ। केन्द्रमा सबैभन्दा धेरै मत ल्याउनेले अध्यक्ष र कोषाध्यक्ष पाउँछ भने दोस्रो हुनेले महासचिव र तेस्रो हुनेले सचिव पाउँछ। तीन वटा मात्र संगठनले थ्रेसहोल्ड कटाएकाले प्रथम हुनेले नै उपाध्यक्ष पद पाउँछ।
अघिल्लो निर्वाचनमा सहभागी मधेशी निजामती कर्मचारी मञ्च भने यस निर्वाचनमा सहभागी हुन पाउने छैन। अघिल्लो निर्वाचनमा १० प्रतिशत थ्रेसहोल्ड नकटाउने कर्मचारी यूनियन स्वतः खारेज हुने प्रावधान रहेकाले निर्वाचनमा मञ्च सहभागी हुन नपाउने भएको हो। अघिल्लो निर्वाचनमा मञ्चले ८ प्रतिशत मत ल्याएको थियो।
सरकारले निर्वाचनको तयारी थालेपछि कर्मचारीका संघ–संगठनले प्रचारप्रसार तीव्र पारेका छन्। नेपाल निजामती कर्मचारी यूनियनका अध्यक्ष गोपाल पोखरेलले सात वटै प्रदेशमा प्रचारप्रसार समिति गठन गरेर प्रचार शुरु गरिएको बताए।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले पनि महामारीका कारण विगतमा जस्तो भेला र चुनाव प्रचार गर्ने अवस्था नभएकाले सामाजिक सञ्जाल मार्फत प्रचार शुरु गरिएको बताए।
यूनियनका अध्यक्ष पोखरेल भने महामारीका वेला चुनावको औचित्य र आवश्यकताबारे सरकारले अध्ययन गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, “अहिले अवस्था सहज नभएकाले पछि निर्वाचन गर्न सकिन्थ्यो, तर निर्वाचन घोषणा भइसकेकाले हामी चुनावको तयारीमा लाग्न बाध्य छौं।”
कर्मचारीका केही नेताहरु पनि महामारीको वेला निर्वाचन गर्न उपयुक्त नहुने बताउँछन्। आफ्नो नाम उल्लेख गर्न नचाहने एक नेता भन्छन् “महामारीका वेला कर्मचारीले रमाइलो गर्ने कि जनताको सेवा गर्ने हो। अहिले निर्वाचन गर्ने वेला हुँदै होइन, जसरी पनि स्थगित गर्नुपर्छ।”
चुनावको जोडघटाउ
पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा आधारित आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा प्राप्त मतको आधारमा पदहरुको बाँडफाँड गरिन्छ। केन्द्रमा सबैभन्दा धेरै मत ल्याउनेले अध्यक्ष र कोषाध्यक्ष पाउँछ भने दोस्रो हुनेले महासचिव र तेस्रो हुनेले सचिव पाउँछ। तीन वटा मात्र संगठनले थ्रेसहोल्ड कटाएकाले प्रथम हुनेले नै उपाध्यक्ष पद पाउँछ।
अघिल्लो निर्वाचनमा नेपाल निजामती कर्मचारी संगठनले २१ हजार १२७, यूनियनले १६ हजार २५९, नेपाल राष्ट्रिय कर्मचारी संगठनले ५ हजार २९, मधेशी निजामती कर्मचारी मञ्चले ३ हजार ५६१, स्वतन्त्र कर्मचारी मिलन केन्द्रले १ हजार ४२९ मत प्राप्त गरेका थिए।
यस पटक रमाइलो पक्ष के छ भने, पार्टी एकीकरण भएका नेकपा एमाले र नेकपा माओवादी निकटका कर्मचारी छुट्टाछुट्टै हिसाबले चुनावमा प्रतिस्पर्धा गर्दैछन्। त्यसैले निर्वाचनमा निर्णायक मत मधेशी कर्मचारी मञ्च र रुक्म लामिछाने नेतृत्वको स्वतन्त्र कर्मचारी मिलन केन्द्रको हुने देखिन्छ।
कांग्रेस निकट यूनियन मञ्च र मिलन केन्द्रसँग रहेको मत आफ्नो पक्षमा पार्ने रणनीतिमा छ। यसका साथै, नेकपा कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले कर्मचारी समायोजनमा कर्मचारीलाई समस्या पारेको भन्दै सत्तारुढ दलमा आबद्ध कर्मचारी संगठनलाई मत दिएका कर्मचारीले पनि यस पटक आफूलाई भोट दिने भएकाले प्रथम हुने यूनियनको आकलन छ।
यस पटक रमाइलो पक्ष के छ भने, पार्टी एकीकरण भएका नेकपा एमाले र नेकपा माओवादी निकटका कर्मचारी छुट्टाछुट्टै हिसाबले चुनावमा प्रतिस्पर्धा गर्दैछन्। त्यसैले निर्वाचनमा निर्णायक मत मधेशी कर्मचारी मञ्च र रुक्म लामिछाने नेतृत्वको स्वतन्त्र कर्मचारी मिलन केन्द्रको हुने देखिन्छ।
यूनियनका अध्यक्ष पोखरेलले मधेशी कर्मचारी मञ्च र मिलन केन्द्रसँग वार्ता भएको र उनीहरुको समर्थन आफूहरुले प्राप्त गर्ने समझदारी बनेको बताए। “मोटामोटी सहमति भइसकेको छ, त्यसलाई अन्तिम रुप दिन मात्र बाँकी छ। यसपटक यूनियन पहिलो हुने विषयमा शंका छैन”, उनले भने।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष देवकोटा पनि अघिल्लो चुनावको विरासत कायम रहने बताउँछन्। पार्टी एकीकरण भए पनि दुई कर्मचारी संगठनको एकीकरण नभएकाले छुट्टाछुट्टै हिसाबले निर्वाचनमा जानुपर्ने बाध्यता रहेको उनी बताउँछन्। “यो हारे पनि जित्ने चुनाव हो। भोलि एकता भएपछि प्राप्त पद पनि हाम्रै हुन्छ”, उनी भन्छन्, “सकेसम्म मिल्ने प्रयास भएको छ। मिल्न नसके पनि दुवैले प्राप्त गर्ने पद एउटै हो।”