माधवकुमार नेपाल भन्छन्- 'नेतृत्वको दाबी गर्ने पिरलोमा म छैन'
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आगामी महाधिवेशनमा नेतृत्वको दाबी गर्ने पिरलोमा आफू अहिल्यैदेखि नरहेको बताएका छन्। उनले अहिले नै नेतृत्वको दाबी गर्ने बेला आइनसकेको भन्दै दावी गर्ने कि नगर्ने भन्ने पिरलोमा आफू अहिल्यै नरहेको बताएका हुन्।
"कामको आवश्यक्ताले मैले कहाँ जिम्मेवारी पाउँछु वा पार्टी कार्यकर्ताहरूले मलाई कुन जिम्मेवारीमा पठाउँछन्, त्यसको आधारमा र नेतृत्वको बीचमा कस्तो सहमति हुन्छ त्यसको आधारमा यो विषयको टुंगो लाग्छ", वरिष्ठ नेता नेपालले भने।
भर्खरै सम्पन्न स्थायी कमिटी बैठकमा आफूले फरक मत राखेको नभई सुझाव प्रस्तुत गरेको उनले बताए।
वरिष्ठ नेता नेपालले सहमतिलाई अझ बढी जोड दिन आफूले १७ बुँदे सुझाव प्रस्तुत गरेको बताए।
स्थायी कमिटीका अन्य सदस्यहरूले पनि लिखित र मौखिक रुपमा सुझावहरू दिएको उल्लेख गर्दै आफूले राखेका विषयहरूलाई पनि सुझावका रुपमा लिनुपर्ने धारणा उनले राखे। आफूले राखेको सुझावले पार्टीलाई ट्रयाकमा ल्याउने, अगाडि बढ्न गति प्रदान गर्ने र अधिकतम उद्देश्यलाई साकार पार्न सहयोग पुग्ने वरिष्ठ नेता नेपालको दाबी छ।
अधिकतम उद्देश्यलाई पूरा गर्न नसके पार्टीको औचित्य नै नरहने भएकाले आफूले सहमतिलाई मजबुत बनाउन र अझ बढी बहस गर्नुपर्ने आवश्यकता देखेकाले सुझाव प्रस्तुत गरेको उनले स्पस्ट पारे।
वरिष्ठ नेता नेपालले महाधिवेसनपछि बन्ने पार्टीका संरचनाहरू छरितो हुनुपर्ने बताएका छन्। उनले पार्टीका विभिन्न संगठन तथा कमिटीहरू छरितो भएमात्रै संगठन गतिशिल हुने र जनताको बृहत्तर हितका लागि काम गर्न सक्ने बताए।
"जुन पार्टीको टाउको ठूलो छ त्यो पार्टी सुक्न थाल्यो भनेर बुझ्न थाले हुन्छ। टाउको ठूलो, भूडि ठूलो भयो भने त्यो मान्छे रोगी हो भनेर बुझ्नुभए हुन्छ। जसको जिउ पातलो छ टाउको पनि ठिक्क छ, दिमाग सफा छ र खुट्टा बलियो छ, त्यसले जस्तोसूकै जिम्मेवारी बहन गर्न सक्छ। चुनौतीको सामना गर्नसक्छ", उनले भने, "पार्टीको हकमा पनि त्यही लागू हुन्छ । पार्टीका दुईवटै खुट्टा र हात दह्रो हुनुप¥यो, जिउ स्लिम हुनुपर्यो, कमिटिहरू स्लिम हुनुपर्यो।"
वरिष्ठ नेता नेपालले २५ भदौमा स्थायी कमिटीमा जुटेको सहमतिले पार्टीलाई नयाँ दिशा दिने विश्वास समेत व्यक्त गरे। साथै उनले आफूले लामो समयदेखि उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीको विषय लागू भएको समेत दाबी गरे।