तारादेवी थापाः कोरोना कहरमा उपत्यकाको जिल्ला हाँकिरहेकी प्रहरी कमाण्डर
एसपी तारादेवी थापाका लागि कोरोना संक्रमण महामारीको असहज समयमा भक्तपुरको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु चुनौती हो नै, जिल्लाको नेतृत्व नै पहिलो पटक गरिरहेकी उनी यसलाई आफ्नो क्षमता साबित गरेर देखाउने अवसर मान्छिन्।
जिल्लाका प्रहरी प्रमुखमाथि आफ्नो क्षेत्रमा शान्ति–सुरक्षा कायम गरी समुदाय स्तरमा अमनचैन कायम गराउने मुख्य दायित्व हुन्छ। कोरोनाभाइरस संक्रमण (कोभिड–१९) महामारीको यो समयमा भने संक्रमणबाट आम नागरिकलाई सुरक्षा, स्वास्थ्य उपचार लगायतमा समन्वय र सहजीकरण गर्ने अतिरिक्त अभिभारा पनि जिल्लाका प्रहरी इञ्चार्जमा थपिएको छ।
यही चुनौतीका बीच गत ८ असारमा प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाले भक्तपुरको प्रहरी प्रमुखको जिम्मेवारी पाइन्। उपत्यकाभित्रका तीन जिल्लामध्ये काठमाडौं र ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रमुख हुन्छन् भने भक्तपुरमा एसपी। यसर्थ कोरोना महामारीका वेला जिल्ला हाँक्ने महिला कमाण्डरले एएसएसपी इञ्चार्ज हुने जिल्लासँग समन्वय गर्नुपर्ने दायित्व पनि छ।
प्रतिकूल समयमा पाएको यो चुनौतीलाई थापा भने अवसर मान्छिन्। “चुनौती त जहाँ पनि हुन्छ”, उनी भन्छिन्, “सामान्य अवस्थामा प्रहरी नियमावलीले तोकेको काम गथ्र्यौं, अहिले फ्रन्टलाइनमा कोभिड–१९ विरुद्ध पनि खटिरहेका छौं।”
“चुनौती त जहाँ पनि हुन्छ, सामान्य अवस्थामा प्रहरी नियमावलीले तोकेको काम गर्थ्याैं, अहिले फ्रन्टलाइनमा कोभिड–१९ विरुद्ध पनि खटिरहेका छौं।”
थापाको अनुभवमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका क्रममा अग्रभागमा खटिंदा समुदायसँग अझै नजिक भएर काम गर्ने मौका मिलेको छ। विभिन्न ठाउँका मानिसले आफ्नो टोलमा थपिएका संक्रमितबारे फोन गरेर सोध्ने गरेको उनी बताउँछिन्। “समुदायले सबैभन्दा सजिलो माध्यम नेपाल प्रहरीलाई मान्नुहुन्छ, कोरोना संक्रमित कति थपिए, मेरो ठाउँमा कति जना भए भनेर हाम्रो महानगरीय प्रहरी परिसर र मलाई पनि फोन आइरहन्छ”, उनी भन्छिन्।
कोरोना कहरमा जिल्ला हाँक्दै
उपत्यकाभित्रको सानो जिल्ला र जनसंख्या पनि कम भएको भक्तपुरमा कोरोना संक्रमितको संख्या काठमाडौं र ललितपुरको तुलनामा थोरै छ। यद्यपि महामारीको वेला संक्रमण बढ्न नदिन र जोखिमपूर्ण गतिविधि नियन्त्रण गर्न अपनाउनुपर्ने सजगता र सक्रियता भने उत्तिकै संवेदनशील रहेको एसपी थापा बताउँछिन्।
जनसंख्या थोरै र मानिसहरूको आवागमन कम भएकाले काठमाडौं र ललितपुरको तुलनामा भक्तपुरमा कम संक्रमित रहेको र यसमै सीमित गर्न आफूहरू लागिरहेको उनको भनाइ छ। “आवागमन कम गराउने र बाहिर निस्किँदा मास्क लगाउन कडाइ गर्ने गरिरहेका छौं”, उनी भन्छिन्, “सरसफाइको विषय पनि शुरुदेखि नै समुदाय स्तरमा जनचेतना बढाइरहेका छौं।”
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदायसँग मिलेर कोभिड–१९ र अन्य घटना रोकथाम र नियन्त्रणमा काम गर्न सजिलो भएको उनको अनुभव छ। महामारीको असहज अवस्थामा जिल्ला प्रहरी प्रमुख हुँदाको अप्ठेरा के छन् त ?
आफू नेतृत्वमा हुँदा चाहेको निर्णय गरेर लागू गर्न सकिने र काम देखाउन पाइने एसपी थापा बताउँछिन्। “तर कहिलेकाहीँ असामान्य अवस्था आएमा असाध्यै चुनौती पनि हुन्छ, तर त्यो सामना गर्न सक्नुपर्छ”, उनी भन्छिन्।
यो वेला अरु अपराधका घटना कम भए पनि घरेलु हिंसाका घटना बढी भएको उनले देखेकी छिन्। त्यसलाई प्रहरीले प्राथमिकतामा राखेको उनी बताउँछिन्। बन्दाबन्दी/निषेधाज्ञाको समयमा कतिपय पीडित यातायातको साधन नपाएर प्रहरी कार्यालयमा आइपुग्न गाह्रो हुँदा उनले प्रहरीको गाडी पठाएर ल्याउने र पु¥याउने व्यवस्था मिलाएकी छिन्। “बन्दकै कारण प्रहरी सेवा पाइएन भन्ने अवस्था अहिलेसम्म आउन दिएको छैन”, उनी भन्छिन्।
बिहान सबेरै उठेर मातहतको इकाईबाट अपडेट लिएसँगै उनको काम शुरु हुन्छ। दिनभरिका काम समीक्षा गर्दै सुत्ने तर्खर गर्दा मध्यरात हुन्छ। “बिहान सामान्यतया आम मानिस उठ्ने समय अगावै उठ्नुपर्छ र निद्रामा पनि चनाखो हुनुुपर्छ”, उनी भन्छिन्, “बिहानदेखि कुनै ठूलो घटना भएन भने आज त शान्तिपूर्ण रुपमा दिन बित्यो भन्ने हुन्छ।”
जिल्ला कमाण्डको पहिलो अनुभव
थापाका लागि कोरोना संक्रमण महामारीका वेला जिल्लाको कमाण्ड सम्हाल्नु आफैंमा चुनौती हुँदै हो, त्यसमा पनि जिल्ला प्रहरी प्रमुखका रूपमा भक्तपुर उनको पहिलो जिम्मेवारी हो। पहिलो पटक जिल्ला इञ्चार्जको दायित्व सम्हाल्दा महामारीको असहज परिस्थिति पर्नु आफ्ना लागि क्षमता साबित गर्ने थप अवसर भएको उनको बुझाइ छ।
थापाले यसअघि प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँदा ललितपुरको सातदोबाटो प्रहरी वृत्तको प्रमुखमा एक वर्ष नेतृत्व गरेकी छिन्। २०५६ सालमा प्रहरी सेवामा प्रवेश गरेयता काठमाडौं उपत्यकाकै विभिन्न इकाईमा काम गर्दै आएकाले उनलाई उपत्यकामा कसरी काम गर्नुपर्छ भन्ने अनुभव छ। यसैले जिल्ला कमाण्डको पहिलो अनुभव भए पनि यो आफ्नो लागि चुनौतीभन्दा पनि अवसर बढी भएको उनी मान्छिन्।
“बिहान सामान्यतया आम मानिस उठ्ने समय अगावै उठ्नुपर्छ र निद्रामा पनि चनाखो हुनुुपर्छ, बिहानदेखि कुनै ठूलो घटना भएन भने आज त शान्तिपूर्ण रुपमा दिन बित्यो भन्ने हुन्छ।”
थापाको मातहतमा साढे ८०० हाराहारीमा प्रहरी जनशक्ति छन्। प्रायः महिलाको नेतृत्वलाई समाजले सहजै नस्वीकार्ने अनुभव विभिन्न ठाउँमा नेतृत्व गरिसकेका र जिल्ला कमाण्ड सम्हालेका प्रहरी महिलाहरुकै छ। तर, उनले त्यस्तो महसुस गर्नुपरेको छैन। किनभने, भक्तपुरमा यसअघि पनि महिलाहरुले प्रहरी कमाण्ड सम्हालेर सफल नेतृत्वको उदाहरण दिइसकेका छन्। २०७२ असोजमा किरण बज्राचार्य र त्यसपछि २०७३ मंसीरमा किरण राणाले भक्तपुर प्रहरीको नेतृत्व गरिसकेका छन्।
“यहाँ म भन्दा अगाडि महिलाहरूले सफल नेतृत्व गरिसक्नुभएकाले मैले त्यस्तो प्रश्न र अविश्वास सामना गर्नुपरेको छैन”, उनी भन्छिन्, “उहाँहरूले प्रमाणित गरेको विश्वास कायम राख्दै आफ्नो नेतृत्व सफल बनाउन लागिपर्छु।”
भक्तपुरमा अहिले सुरक्षा र प्रशासनमा कस्तो संयोग छ भने, प्रहरी प्रमुखसँगै प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि महिला नै छन्। सीडीओको जिम्मेवारीमा हुमकला पाण्डे छिन्। बाहिरबाट हेर्दा ‘महिलाहरुले हाँकेको भक्तपुर जिल्ला’ भनेर बुझ्ने गरिएको छ। थापा भन्छिन्, “नीति नियम अनुसार सीडीओ साबको सुपरभिजनमा हामीले काम गर्ने हो, मुख्यतया प्रहरीको जिम्मेवारी बुझ्ने खालको हुनुभयो भने सजिलो हुन्छ।”