मृत्यु भइसकेका व्यक्तिको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
सरकारले मृत्यु भइसकेका व्यक्तिको शवबाट स्वाब निकालेर कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार नियमित मिडिया ब्रिफिङमा बोल्दै मृत्यु भइसकेका व्यक्तिहरूको कोरोना परीक्षण नगर्ने निर्णय भएको जानकारी दिए।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्ने निर्णय गरेको जानकारी गराउँदै प्रवक्ता गौतमले बरु शव व्यवस्थापन गर्दा स्वास्थ्य सावधानी अपनाउनु पर्ने र सम्पर्कमा आएका व्यक्तिहरू १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने बताए।
यसअघि कोरोना भाइरस संक्रमणसँग मिल्ने लक्षण भएका व्यक्तिको मृत्युभएपछि मृतकको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको थियो। प्रवक्ता गौतमले यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने जानकारी समेत गराए।