ब्यांकमा राखिएको बचतमा ब्याजदर घटेको घट्यै
गत फागुनमा ब्यांकमा गरिने बचत खातामा सर्वसाधारणले औसतमा ४.७८ प्रतिशत ब्याजदर पाउँथे। कतिपय ब्यांकले अघि सारेका विभिन्न नामका बचत खातामा त सर्वसाधारणले ६ प्रतिशतभन्दा माथि समेत ब्याजदर पाउँथे।
तर, अहिले ब्यांकहरुले वचत खातामा दिने ब्याजदर औसतमा ३.६४ प्रतिशतमा ओर्लिएको छ। कतिपय ब्यांकले त २ प्रतिशत हाराहारीमा वचतको ब्याजदर निर्धारण गरेका छन्। जस्तै, धेरै खालका वचत खाता सञ्चालन गरिरहेको एनआईसी एशिया ब्यांकले विभिन्न खालका वचत खाताको ब्याजदर २ प्रतिशतमा सीमित राखेको छ। हिमालयन, एभरेष्ट, ग्लोबल आईएमई, ब्यांक अफ काठमाण्डू, प्रभू आदि ब्यांकका वचत खाताको न्यूनतम ब्याजदर ३ प्रतिशतभन्दा तलैसम्म ओर्लिएको छ।
ऋण माग्ने ग्राहक नभएर ब्यांक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएपछि ब्यांकमा राखिएको रकममा पाइने ब्याजदर लगातार घटिरहेको छ। जसका कारण ब्यांकमा रकम जम्मा गर्ने सर्वसाधारणले पाउने ब्याज रकम पनि घटिरहेको छ।
निश्चित अवधि तोकिएर जम्मा गरिएको मुद्दति निक्षेपमा पनि ब्याजदर पर्याप्त घटेको छ। जस्तै, गत फागुनमा औसतमा ९.७४ प्रतिशत रहेको मुद्दति निक्षेपको ब्याजदर अहिले औसतमा ८.७९ प्रतिशतमा झरेको छ। विभिन्न ब्यांकहरुले त मुद्दति निक्षेपमा ७ प्रतिशतको हाराहारीमा ब्याजदर दिने स्किम अघि सारेका छन्। छोटो समयका लागि राखिने कल डिपोजिट खाताको ब्याजदर त औसतमा १.७३ प्रतिशतमा ओर्लिएको छ। जबकि, ६ महिनाअघि यस्तो खातामा रकम राख्नेले ४.३२ प्रतिशत ब्याज पाउँथे।
सस्तो ब्याजदरमा ऋण दिएर ग्राहक तान्नुपर्ने दबावमा परेका कारण ब्यांकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर घटाइरहेका हुन्।
एक वर्ष अगाडि सर्वसाधारणले १ वर्षे मुद्दति निक्षेपमा औसतमा पनि १० प्रतिशत ब्याजदर पाउँथे। अहिले त्यो झण्डै ८ प्रतिशतको हाराहारीसम्म ओर्लिएको छ।
ब्यांकहरुमा निक्षेपको ब्याजदर घट्दै गएकोमा राष्ट्र ब्यांक भने चिन्तित छ। ब्यांकमा निक्षेपको ब्याजदर घटेमा सर्वसाधारणले आफूसँग भएको रकम सहकारीमा राख्ने वा भारततिर पलायन गराउने जोखिम राष्ट्र ब्यांकले औंल्याउने गरेको छ।
ब्यांकमा राखिने निक्षेपको ब्याजदर मात्रै होइन्, ऋणको ब्याजदर पनि तल ओर्लिएको छ। गत फागुनमा औसतमा ११.८० प्रतिशत रहेको ऋणको ब्याजदर अहिले १०.४७ प्रतिशतमा झरेको छ। कतिपय ब्यांकले १० प्रतिशतभन्दा पनि कममा ऋण दिइरहेको बताइन्छ।
आर्थिक क्रियाकलाप सुस्त भएर ऋणीको संख्या घटेपछि अहिले वित्तीय प्रणालीमा झण्डै २ खर्बजति लगानीयोग्य पुँजी छ। भदौको तेस्रो सातासम्ममा वाणिज्य ब्यांकमा रु. ३४ खर्ब ९१ अर्ब निक्षेप छ भने रु. २८ खर्ब ९७ अर्ब ऋण लगानी गरेका छन्। गत चैत अन्तिमदेखि भदौको तेस्रो सातासम्ममा वाणिज्य ब्यांकमा रु. ३ खर्बजति निक्षेप थपिएको छ भने ऋण भने करिब रु. ५२ अर्बजति मात्रै बढेको छ। यसको अर्थ, वाणिज्य ब्यांकहरुमा निक्षेप थपिइरहे पनि ऋण प्रवाह भने बढेको छैन। ऋण नबढ्नुको अर्थ आर्थिक क्रियाकलाप सुस्त हुनु हो ।