कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टायता कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ जना पुगेको छ।
मृत्यु हुनेमा बारामा ४६ वर्षीया, काभ्रेमा ५५ वर्षीया, काठमाडौंमा ७१ र ७४ वर्षीया महिला रहेका छन्। साथै पुरुषमा काभ्रेमा ४१ वर्षीय, सुनसरीमा ७० वर्षीय सप्तरीमा ३५ वर्षीय र कास्कीमा ७० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टायता थप १५३९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै ५८३२७ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हाल मुलुकमा १६२४२ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ५५४१ जना संस्थागत आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टायता १०६८ जना निको भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४१७०० पुगेको छ।
हाल क्वारेन्टिनमा ७८२० जना रहेका छन्। पछिल्लो २४ घण्टामा १०४९४ वटा पीसीआर नमुना परीक्षण भएको छ। हाल मुलुकमा भेन्टिलेटरमा २६ जना र आइसोलेसनमा १७३ जनाको उपचार भइरहेको छ।