सकियो लगानी सम्मेलन : १५ परियोजनामा समझदारी, १७ मा आवेदन
सरकारले आयोजना गरेको लगानी सम्मेलन १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
आर्थिक समृद्धिको मार्ग चित्र पहिल्याउने लक्ष्यका साथ आयाेजना गरेकाे सम्मेलनमा १७ वटा परियोजनामा आवेदन परेको छ।
पहिलो संयुक्त सम्झौताका रुपमा केही परियोजना संयुक्त लगानीमा निर्माण गर्नेगरी चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी भएको छ । त्यस्तै नेपालमा ६०० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि चौधरी ग्रुप र स्काई पावरबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सिजी लाइफ र टर्कीमा मुख्यालय रहेको मोबाइल सेवा प्रदायक कम्पनी टुर्क सेलबीच पाँचाैं पुस्ताको मोबाइल नेटवर्क नेपालमा विस्तार गर्ने समझदारी भएको छ ।
सम्मेलनमा प्रदेश नं २ मा सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि मुख्यमन्त्री लालबाबु राउत र सिजी इन्फ्रास्ट्रक्चरका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गरेका छन् ।
९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा प्रवद्र्धक सतलज विद्युत् निगमका अध्यक्ष शतिशकुमार शर्मा र स्टेट बैंक अफ इण्डियाका सहायक प्रबन्धक सरोती विनोद कुमार, एभरेष्ट बैंक नायब महाप्रबन्धक गिरिश कोइली र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले संयुक्त रुपमा हस्ताक्षर गरे ।
उक्त आयोजनामा स्टेट बैंक अफ इण्डियाको रु छ हजार ५६० करोड, एभरेष्ट बैंकको रु ८१२.६१ करोड र नबिल बैंकको रु ४८७.५८ करोड लगानी गर्ने भएका छन् ।
१६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण गर्न हाइड्रो सोलुसन ग्रुप र हुनान सिन्ह्वा वाटर कन्जरभेसन हाइड्रो पावरबीच सम्झौता भएको छ ।
लगानी बोर्ड नेपाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएमएफ)बीच सार्वजनिक निजी साझेदारी ९पिपिपी० मोडलमा सिमरा विशेष आर्थिक क्षेत्र निर्माणसम्बन्धी समझदारी भयो ।
बनेपा हिमालय बुटिक भिलेज रिसोर्ट प्रालि निर्माणका लागि उक्त कम्पनीका कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सिन्सियर कन्सल्टिङ प्रालिका प्रबन्ध निर्देशक एड्डी सियाबीच हस्ताक्षर भएको छ ।
त्यसैगरी गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले रु १० अर्ब बराबरको लगानी गर्ने समझदारीपत्रमा एनआरएनएका अध्यक्ष भवन भट्ट र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहबीच समझदारी भएको छ । उक्त रकम पूर्वाधार विकासमा खर्च गरिने एनआरएनले जनाएको छ।
नेशनल कोल्याटरल म्यानेजमेन्ट र नेपाल वेयर हाउस कम्पनी लिमिटेडबीच हरित भण्डारगृह निर्माण गर्नेसम्बन्धी समझदारीमा कम्पनीका प्रबन्ध निर्देशक आनन्दा बगिरा र केल्याटरल म्यानेजमेन्टका उपप्रमुख कार्यकारी अधिकृत अनुपम कौशिकबीच हस्ताक्षर भयो ।
पूर्वाधार विकास सहकार्यका लागि नेपाल निर्माण व्यवसायी महासङ्घ र म्यान्माको लाइसेन्स कन्ट्र्याक्टर एशोसिएशन (एमएलसिए) बीच समझदारी भएको छ ।
सम्मेलनकै क्रममा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना निर्माणका लागि कोरियाली प्रवद्र्धक कोसेपले ६५० मिलियन डलर बराबरको लगानी प्रतिबद्धता गरेको छ । आगामी असोजबाट आयोजनाको निर्माण गरिने कोसेपका उपाध्यक्ष हाक विक किमले बताए ।
भारतको मुथोड फाइनान्सले युनाइटेड फाइनान्स लिमिटेडलाई ३९ करोड ९० लाख लगानी गर्ने घोषणा गरेको छ ।
लगानी बोर्ड नेपाल र दक्षिण अफ्रिकाको लगानी बोर्डबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी र दक्षिण अफ्रिका लगानी बोर्डका निमित्त प्रमुख युनुश हुसैनले हस्ताक्षर गरे ।
अपी पावर कम्पनी नेपाल र कँडेल ग्रुप अफ कम्पनी, युकेबीच १८ मेगावाट क्षमताको सौर्य परियोजना, ९८ मेगावाटको जलविद्युत् परियोजना र १० मेगावाट क्षमताका वायु ऊर्जा उत्पादनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस्तै डोल्मो हिमालय इनर्जीले पनि लगानीको घोषणा गरेको छ ।
लगानीका लागि आवदेनन परेका १७ परियोजनामा यातायात पूर्वाधारतर्फ सात, ऊर्जातर्फ चार, कृषिका तीन, शिक्षा तथा स्वास्थ्यका दुई र ढुवानी पूर्वाधारका एक परियोजनामा रहेका छन् । सरकारले ७७ परियोजनालाई ‘शो केश’मा राखेको थियो ।
सम्मेलनमा ४० देशका ७३५ प्रतिनिधि सहभागी भएका थिए । यस्तै ३०० विदेशी र १०० वटा स्वदेशी कम्पनीलेको सहभागिता सम्मेलनमा रहेको थियो ।
सम्मेलनमा भएका समझदारी शुरुआत मात्रै भएको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाले केही समयभित्रै सकारात्मक प्रभाव देखिने बताए ।
सर्वोच्च शिखर सगरमाथा र भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल समृद्धिको यात्रामा रहेको र विश्वका लगानीकर्ताका लागि सुगमस्थल रहेको सन्देशसमेत सम्मेलनले दिएको छ ।