स्थिर ब्याजदरको व्यवस्था एक महीनाभित्र कार्यान्वयन गर्न राष्ट्र ब्यांकको निर्देशन
नेपाल राष्ट्र ब्यांकले कर्जा अवधिभरि परिवर्तन नहुने गरी तोकिने ब्याजदर असोज मसान्तभित्र निर्धारण गर्न र प्रकाशन गर्न ब्यांक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
राष्ट्र ब्यांकले बुधबार ब्यांक तथा वित्तीय संस्थालाई परिपत्र गरेर एक महिनाभित्र स्थिर ब्याजदर कार्यान्वयनमा लैजान निर्देशन दिएको हो। केन्द्रीय ब्यांकले पहिलो पटकका लागि असोज मसान्तभित्रमा स्थिर ब्याजदर निर्धारण गरी सार्वजनिक रुपमा प्रकाशन गर्न समेत निर्देशन जारी गरेको छ। यस्तो स्थिर ब्याजदर ब्यांक तथा वित्तीय संस्थाले अर्धवार्षिक रुपमा तोक्नुपर्नेछ।
यो निर्देशनसँगै अब स्थिर ब्याजदर कार्यान्वयनमा आउनेछ।
एकीकृत निर्देशिकामार्फत् एक साताअघि केन्द्रीय ब्यांकले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरूको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको थियो।
स्थिर ब्याजदर कायम भएपछि ब्यांक तथा वित्तीय संस्थाबाट ऋण लिँदा जति प्रतिशत ब्याजदर तोकिएको हुन्छ, ऋण चुक्ता गर्ने अवधिसम्म त्यसमा थपघट गर्न मिल्दैन।
ब्यांक तथा वित्तीय संस्थाका ऋणीहरूले ऋण लिँदा ब्याजदर एउटा तोकिएपनि ब्यांकले बिस्तारै ब्याजदर बढाउँदै लैजाने गरेको गुनासो गर्दै आएका छन्। ऋण लिने बेलाको भन्दा ब्याजदर बढाउँदै लगेपछि किस्ता तिर्ने बेला मध्यम वर्गलाई सधै सकस पर्छ।
राष्ट्र ब्यांकले व्यक्तिको नाममा प्रवाह हुने एक वर्षभन्दा बढी समयका लागि लिइएका घर, गाडी लगायतका कर्जामा ब्याजदर स्थिर राख्न निर्देशन दिएको थियो। यसअघि नै ब्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा लगायतका आवधिक कर्जाको हकमा पनि ग्राहकको अनुरोधमा स्थीर ब्याजदर कायम हुने गरी कर्जाका शर्त परिवर्तन गर्न पनि केन्द्रीय ब्यांकले निर्देशन दिएको थियो।
स्थिर ब्याजदर प्रचलित दरभन्दा केही महंगो भने हुनसक्छ।