हिमाल आरोहणको अनुमति राजकुमारलाई तर, आइपुगे राजपरिवारका सदस्य
हिमाल आरोहणको लागि आज बहराइनका राजपरिवारका सदस्य आएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयका सूचना अधिकारी सुरेश अधिकारीले भने, “बहराइनका राजकुमार नभएर राजपरिवारका एक सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा आएका हुन्।”
अधिकारीले थपे ‘‘बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफा आफैं आएका होइनन्। राजपरिवारका सदस्य मात्रै भएकोले सोही अनुसारको प्रोटोकल अनुसार उनको स्वागत गरिएको छ।’’
सरकारले यसअघि भ्रमण अनुमति स्वीकृति दिँदा नै राजपरिवारका सदस्य भनेकोले सोही अनुसारको प्रोटोकलमा भ्रमण टोलीको स्वागत गरेको उनले बताए।
अधिकारीका अनुसार परराष्ट्र मन्त्रालयलाई प्राप्त विवरण अनुसार राजपरिवारका एक सदस्य शेख मोहम्मद हमादसहितको १८ जनाको टोली आएका हुन्।
यो टोली खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा गोरखाको मनास्लु हिमाल आरोहण गर्न आएको हो। उनीसहितको टोली अहिले एक साताका लागि गोकर्ण फरेस्ट रिसोर्टमा क्वारेन्टिमा बसेका छन्।
तर, मन्त्रिपरिषद्को १४ भदौको बैठकले ३१ भदौपछि बहराइनका राजकुमारसहित १८ जनाको टोलीलाई नेपाल आउन अनुमति दिएको थियो।
सरकारले उक्त टोलीमा बहराइनका राजकुमार नै आउने गरी लोबुचे र मनास्लु हिमाल आरोहण गर्न चार्टर्ड उडानमार्फत् आउने गरी अनुमति दिएको थियो। तर, टाेलीमा राजकुमार नासिर नभएर राजपरिवारका सदस्यसहितको टोली आज नेपाल आइपुगेको छ।
पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको थियो। पर्यटन मन्त्रालयका प्रवक्ता तथा सहसचिव कमलप्रसाद भट्टराईका अनुसार राजकुमार आफैं आउने गरी दिएको अनुमतिमा राजपरिवारका सदस्य मात्रै भएको विषय आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए।
सरकारले हिमाल आरोहणका लागि अनुमति दिएको र टोलीको व्यवस्थापन गर्ने काम भने सम्बन्धित एजेन्सीले नै गर्ने भट्टराई बताउँछन्।
पर्यटन मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्य भने राजकुमार आउने अनुमति लिएर राजपरिवारको सदस्यको टोली मात्रै आएको विषयमा औपचारिक रूपमा जानकारी नआएको बताउँछन्।
उनले भने, “जसका लागि अनुमति दिइएको हो सोही टोली भएको हाम्रो अनुमान हो।”
अनुमति भन्दा फरक व्यक्ति आउँछ र टोलीका सदस्य हेरफेर हुन्छ भने त्यसको जानकारी आरोहणका लागि बोलाउने र व्यवस्थापन गर्ने निकायसँग लिनुपर्ने आचार्य बताउँछन्।