पोखरा विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकियो
निर्माणाधिन पोखरा क्षेत्रीय अनतर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति ६३ प्रतिशत सम्पन्न भएको छ। सन् २०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम शुरू भएपनि कोरोनाभाइरस महामारीका कारण केही समस्या हुने देखिएको छ। यद्यपि, अहिलेसम्म विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकिएको छ।
विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मरहरू, केबुल र लाइटिङ लगायतका कामहरू सम्पन्न भएका छन्। माटो कटान र भर्ने काम ९८ प्रतिशत सकिएको विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए।
उनका अनुसार गाडी गुड्ने सडक, पहुँच मार्ग र ट्रमिनल भवनको काम पनि अन्तिम चरणमा पुगेको छ। कार पार्किङको काम सकिएको र भवनको हकमा १४ वटा भवनको फिनिसिङको काम सकिइसकेको विमानस्थलका आयोजना प्रमुख मुनाकर्मीले बताए।
निर्धारित समयभन्दा ६ महीना अघि नै काम सम्पन्न गर्ने लक्ष्य भएपनि कोरोना महामारी र बन्दाबन्दीले चिनियाँ कामदार उतै रोकिएकाले धेरै समय काम हुन नसकेको मुनाकर्मी बताउँछन्। बन्दाबन्दीले २०० चिनियाँ कामदार रोकिएका छन्।
विमानस्थलमा अहिले २४४ चिनियाँ र ११८ नेपाली कामदार कार्यरत छन्। विमानस्थल निर्माण सामग्रीको भने अभाव नरहेको आयोजना प्रमुख मुनाकर्मी बताउँछन्। बन्दाबन्दी अघि नै आवश्यक सामग्री चीनबाट ल्याइएको र केही सामान भारतको कलकत्ता बन्दरगाहबाट आउने क्रममा रहेकाले निर्माण सामग्रीको अभाव नहुने मुनाकर्मीले बताए।