खाली भए रौतहटका सबै क्वारेन्टिन
रौतहटका सबै क्वारेन्टिन खाली भएका छन्। जिल्लाका १८ वटै स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिन खाली भएका हुन्।
गएको ११ चैतदेखि भदौ मसान्तसम्म जिल्लामा १३० वटा क्वारेन्टिन सञ्चालनमा आएका थिए। सबै क्वारेन्टिनमा गरी १३ हजार ७०० भन्दा बढी मानिस बसेर घर फिर्ता भएको तथ्याङ्क छ।
विभिन्न समयमा भारत र अन्य देशमा रोजगारीको खोजीमा गएकाहरू कोरोना महामारीपछि घर फर्किएका थिए। जिल्लाभन्दा बाहिरबाट आउनेलाई तत्कालीन निर्देशनअनुसार क्वारेन्टिनमा बस्नुपर्ने हुन्थ्यो। सबैभन्दा बढी भारतबाट आएर क्वारेन्टिनमा बसेको पाइएको छ।
क्वारेन्टिनमा बस्नेहरूको सम्पूर्ण व्यवस्थापन जिल्ला प्रशासन कार्यालय रौतहटको निगरानीमा पालिकाहरूले गरेका थिए। करीब साढे दुई महीना क्वारेन्टिनमा अत्यधिक चापका कारण खाना, पानी, शौचालय, सुताइ व्यवस्थापनमा निकै समस्या भएको थियो।
कन्ट्याक्ट ट्रेसिङमा परेका, बाहिरी मुलुकबाट आएका तथा संक्रमणको लक्षण देखिएकाहरू समेत सरकारले तोकेको मापदन्ड पूरा गरी घरमै क्वारेन्टिनमा बस्न रुचाउने गरेकाले संस्थागत क्वारेन्टिन खाली भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
जिल्लाका अधिकांश सामुदायिक विद्यालय, क्याम्पस तथा मदरसालाई क्वारेन्टिन बनाएर बाहिरबाट आएका मानिसलाई राखिएको थियो। अहिले जिल्लाको धरहरीमा रहेको जय किसान पोलिटेक्निक इन्स्टिच्युटमा निर्माण गरिएको आइसोलेसनबाहेक करीब सम्पूर्ण शिक्षालय खाली भएका छन्।