जापानको नयाँ प्रधानमन्त्रीमा सिन्जो आबेका निकटस्थ मानिएका योशिहिदे सुगा निर्वाचित
स्वास्थ्य अवस्थाका कारण जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएको डेढ महीनापछि उनका निकटस्थ मानिएका योशिहिदे सुगा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। ७१ बर्षीय सुगा जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख समेत हुन्।
जापानको संसदमा बुधबार भएको निर्वाचनमा सुगा अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भए। जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाएको विश्लेषण भएको छ।
सन् १९९१ मा प्रधानमन्त्री बनेका किचि मियाजावापछि सबैभन्दा पाको उमेरको प्रधानमन्त्री हुने दोस्रो व्यक्ति सुगा भएका छन्।प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि उनले देश र जनताको लागि काम गर्न आफू सँधै प्रतिबद्ध रहेको बताएका छन्। “मेरो लगाव सबै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु,” उनले भने।
उनले आफूले सबैभन्दा बढी प्राथमिकता कोरोनाविरुद्धको लडाईमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताएका छन्। त्यसका लागि सबैको तर्फबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरे।
उनको मन्त्रीपरिषद्मा पूर्व अर्थमन्त्री तारो असो र विदेश मन्त्री तोशिमित्सु मोतेगी दोहोरिने संभावना देखिएको छ। सुगाले यसअघि लिएको मन्त्रीपरिषद्को मुख्य सचिवको जिम्मेवारी भने तत्कालिन स्वास्थ्य मन्त्री कत्सुनोबु कातोले पाउने अपेक्षा गरिएको छ।
निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको अति निकटस्थ पात्रका रुपमा रहेका सुगालाई यसअघि गत सोमबार पार्टीको प्रमुखमा निर्वाचित गराइएको थियो।
सुगाले आबे नेतृत्वको सरकार रहेका बेलामा सरकारको मुख्य प्रवक्ता र मन्त्रीपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए।
गत सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उनले ३७७ मत प्राप्त गरेका थिए। उनीसँग प्रतिस्पर्धा गरेका पूर्व विदेशमन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षा मन्त्री शिगेरु इशिबाले ६८ मत मात्रै प्राप्त गरेका थिए।
निवर्तमान प्रधानमन्त्री आबेले २८ अगस्टमा अस्वस्थताको कारण देखाउदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेका थिए। उनी शुरुमा सन् २००६ देखि २००७ सम्म पहिलो पटक प्रधानमन्त्री भएका थिए। त्यतिबेला पनि अस्वस्थतालाई कारण देखाउदै पद त्याग गरेका आबे स्वास्थ्यमा सुधार आएपछि सन् २०१२ मा फेरी प्रधानमन्त्रीमा निर्वाचत भएका थिए। त्यसपछि उनी लगातार प्रधानमन्त्रीका रुपमा सत्ता चलाइरहेका थिए।
जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका ६५ बर्षिय आबेले आफ्नो कार्यकाल झण्डै एक बर्ष बाँकी रहँदै राजीनामा दिएका हुन्। उनले सरकारको नेतृत्व गरेका बेलामा सुगाले अति निकट भएर उनीसँग काम गरेका थिए।
जापानमा अहिलेपनि आबेलाई अति लोकप्रिय नेताका रुपमा लिइने र पार्टीभित्र पनि उनको प्रभाव धेरै रहेको मानिन्छ।