हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोली काठमाडौंमा, करीब सात हप्ता नेपालमा रहने
कोभिड-१९ का कारण ठप्प भएको हिमाली गतिविधि चलायमान बनाउन सहयोग पुर्याउने गरी बहराइनका राजपरिवारको एक टोली हिमाल आरोहणमा जाँदैछ। खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा गोरखाको मनास्लु हिमाल आरोहण गर्न १८ जनाको टोली काठमाडौं आइपुगेको हो।
टोली काठमाडौं आएर क्वारेन्टिनका लागि गोकर्ण फरेस्ट रिसोर्ट गएको छ। यो टोली एक साता होटलमा बस्ने र त्यसपछि आरोहण गतिविधिमा सहभागी हुनेछन्।
सरकारले हिमाल आरोहणका लाग बहराइनका राजकुमार र उनको टोलीलाई अनुमति दिएको थियो। सोहीअनुसार टोली बहराइनको शेख ईशा एयरबेस जहाज चार्टर्ड गरेर काठमाडौं आइपुगेको र क्वारेन्टिनका लागि होटल गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। टोली लिएर आएको जहाज भने फर्किसकेको छ।
राजकुमारको टोलीको आरोहण दलको व्यवस्थापन गरिरहेको सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार एक साता होटल क्वारेन्टिनमा रहेकै समयमा आरोहण अनुमतिसहितका तयारी पूरा हुने छ। शेर्पा भन्छन्, ‘‘आरोहण अनुमतिको लागि एकै दिनमा हुने भएपनि क्वारेन्टिनको प्रक्रिया पुर्याउनुपर्ने र कोभिडको संक्रमणबाट पनि जोगिएर आरोहणमा जानुपर्ने भएकोले सोही अनुसारको व्यवस्था मिलाइएको हो।’’
आरोहणमा जाँदा उक्त टोलीले स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रूमा पालना गर्ने पनि शेर्पाले बताए। यो टोली पहिले लोबुचे जाने छ। यसका लागि करीब १० दिन लाग्ने छ।
लोबुचे आरोहण सकेर गोरखाको मनास्लु जाने गरी आरोहण तालिका तय भएको छ। मनास्लुको लागि ३० दिनको समय लाग्ने हुँदा राजकुमारको टोली दुवै हिमाल आरोहण गर्ने अवधिसहित करीब ५० दिन नेपालमै रहने जानकारी पनि सेभेन समिटका अध्यक्ष शेर्पाले दिए।