शिव रेग्मी: एक शब्दचित्र, तीन अध्याय
१९९८ सालमा आजकै दिन १ असोजमा जन्मिएका शिव रेग्मीले जीवन रहुञ्जेलसम्म साहित्य र पत्रपत्रिकाका पत्र–पत्र खोतलेर अरुलाई चम्काउने काम मात्रै गरे। एउटा असल, इमानदार र मौनसाधकको पर्याय बने।
जन्मकालमा र शिव रेग्मीको महाप्रस्थानपछि उनलाई धेरै व्यक्तिले विभिन्न परिचय दिए। "वाङमयका गुगल", "साधु साधक", "नेपाली साहित्यको इन्साइक्लोपेडिया" आदित्यादि। तर उनले आफूलाई भने "असफल सरकारी सेवक र अम्मली साहित्यिक खोजकर्ता" ठाने। हुन त खोजीमेलीलाई शरदचन्द्र शर्मा भट्टराईले आविष्कार, अन्वेषण, गवेषणा, अनुसन्धान भनी अर्थ्याएका छन्। शब्दकोशकै सहयोग लिई अनुसन्धान "नयाँ सत्य वा तथ्यको खोजी" हो भनेका छन्।
शिव रेग्मीले पनि "अरूले खोजिनसकेको सत्यतथ्यलाई खोतलेर बाहिर प्रकाशमा ल्याउनु र आजसम्मका धारणालाई सत्यतथ्यका आधारमा खोजमेल गरी प्रकाशित गर्नु नै खोज-अनुसन्धान हो" भनेका छन्। त्यसैले १ असाेज उनकाे जन्मदिनको अवसरमा उनलाई खोजीमेलीमा लागेका एक अनुसन्धाताका रूपमा प्रस्तुत गर्ने जमर्को यहाँ गरिएको छ- तीन अध्यायमा।
एक
यो अध्याय १९९८ असोज १ मा ठमेल, काठमाडौँमा उनको जन्मदेखि शुरु भएर २०२२ मा कानून आयोगमा खरिदार पदमा अस्थायी नियुक्त भएपछि अन्त्य हुन्छ। यस कालमा उनी बिस्तारै पठनपाठन, पत्रपत्रिका र पुस्तकालयमा आकर्षित मात्र भएनन् साहित्य सृजनामा पनि लागे।
२०१५ सालमा एसएलसी उत्तीर्ण गर्दा सम्ममा उनमा साहित्यिक किताब र पत्रिका पढ्ने बानी भइसकेको थियो। दरबारमा काम गर्ने उनका बुबा र दाजुले किनेका/राखेका पत्रपत्रिका र किताब घरमा उपलब्ध थिए जुन रेग्मीले सानैमा पढ्ने मौका पाए।
२००९ सालभित्रै उनले घरमा भएका लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, गोपालप्रसाद रिमालको मसान जस्ता किताब पढिसकेका थिए। त्यही साल फागुनमा जुद्दोदय पब्लिक स्कूलमा कक्षा ५ मा भर्ना भएपछि स्कूलको पुस्तकालयमा भएका किताब पनि पढे। उनी पाठ्यपुस्तकभन्दा बढी साहित्यिक सामग्री पढ्थे ।
एसएलसीपछि भने रेग्मीले अझ धेरै पत्रपत्रिका र किताब पढ्ने मौका मात्र पाएनन्, पुस्तक, पत्रिका किन्न र संकलन गर्न थाले। उनले २०१५ मै नवीन विकास पुस्तकालय र नेपाल राष्ट्रिय पुस्तकालयमा स्वयंसेवकका रूपमा काम गरे जसका कारण उनले धेरै पत्रपत्रिका र किताब पढ्न पाए।
२०१५ देखि २०१९ सालसम्म उनले आफूले पढेको बालसखादल प्राइमरी स्कूलमा पढाए। सम्भवत: यस कामबाट भएको अर्थोपार्जनपछि उनलाई किताब र पत्रपत्रिका किन्न सजिलो भयो। एसएलसीपछि नै उनले स्वास्नी मान्छे (२०१५) र साहित्य (२०१६) जस्ता पत्रिका सङ्कलन गर्न थाले । पुस्तक र पत्रिका संकलनबाट उनको आफ्नै सानोतिनो पुस्तकालय बनेको अनुमान गर्न सकिन्छ।
साहित्यिक पुस्तक र पत्रपत्रिका पढ्दै जाँदा उनलाई साहित्य सृजनामा रूचि भयो। २०२० सालदेखि नै उनले आफ्ना कविता पत्रपत्रिकामा छपाए पनि ।
यसरी यस कालखण्डमा अनुसन्धानमा संलग्न हुनलाई आवश्यक आधारभूमि तयार हुँदैथियो । पाठ्यक्रमभन्दा बाहिरका पुस्तक र पत्रपत्रिका त उनले सानैदेखि पढ्न थालेकै थिए। तिनीहरूको संकलन मात्र होइन उनी साहित्य लेखनमा लागिसकेका थिए।
दुई
यो अध्याय २०२२ देखि २०५८ सालसम्मको उनको सरकारी जागिरे जीवनसँग सम्बन्धित छ। दोस्रो कालमा उनी सरकारी जागिरे मात्र भएनन्, उनले शुरुमा केही साहित्य, त्यसपछि समालोचना, निबन्ध, खोजमूलक लेख र पुस्तक प्रकाशित गराए। साहित्य, समालोचना, निबन्ध, र खोजमूलक लेख भन्ने विभाजन रेग्मीबारे चन्द्रदेवी राईले गरेको शोधका आधारमा गरिएको हो। यस्तो विधा विभाजनमाथि बहस हुनुपर्छ तर यहाँ त्यो गरिएको छैन।
पद्यबाट गद्यमा फड्कोलाई उच्च शिक्षामा उनको प्रवेशसँग जोडेर बुझ्न सकिन्छ। उनले जागिरे जीवन र पढाइ सँगसँगै लगे। २०२३ सालमा कानून तथा न्याय मन्त्रालयमा स्थायी खरिदार भएपछि उनलाई औपचारिक शिक्षाको महत्वको बोध भयो र २०२४ मा उनले नेपालीमा आईएको परीक्षा दिए।
२०२७ सालमा गोरखापत्र मा विजय मल्लको नाटक कोही किन बर्बाद होस् बारे उनको समालोचना छापियो। त्यही वर्ष नायब सुब्बामा बढुवा भएर उनले हुलाक सेवा विभागमा काम गरे। त्यसपछि पनि निरन्तर उनका समालोचना छापिए।
२०३२ सालमा एमए पनि गरे। यसले पनि उनलाई समालोचनामा आकर्षित गरेको हुनुपर्छ। सोही वर्ष शाखा अधिकृत पदमा बढुवा भई सञ्चार मन्त्रालयमा काम गरे।
त्यसपछि भने उनले पर्यटन उद्योग, कागज उद्योग सम्बन्धित निबन्ध २०३४ सालमा प्रकाशित गराए। यी मात्र होइन २०३९ सालमा इतिहासकार बाबुराम आचार्यबारे खोजमूलक लेख नेपाली पत्रिकामा छपाए। २०४६ सालमा सहायक सचिव र २०४९ मा प्रधानमन्त्रीको कार्यालय नियुक्त भए भने २०५० सालमा उपसचिवमा बढुवा भए। २०५८ असोजमा उनी सेवा निवृत्त भए।
जागिरे जीवनमा फुर्सदको समयमा अनुसन्धानमा लागे पनि उनी सन्तुष्ट थिएनन्। उनको चाहना साहित्य सम्बन्धी अध्ययन-खोजी अझ गर्नु थियो।
२०५३ सालमा प्रकाशित पुस्तकका अनुसार उनले ८ जेठ, २०४४ मा यसो भनेका थिए: "जानेर वा नजानेर साहित्य अध्ययन, मनन, लेखनतिर लागेँ। फलस्वरूप बसिबियाँलोको रूपमा केही लेखेँ पनि तर सन्तुष्टिचाहिं अझै मिलेको छैन। अध्ययन र लेखन सँगसँगै लैजाने विचार अझै छ। आजकालचाहिं दिनभरि कार्यालयको टिप्पणी लेख्छु। बिहान-बेलुकी फुर्सदमा घरमा सुख र सन्तोषका लागि साहित्यिक टिप्पणी लेख्छु। बस् यस्तै छ ।"
फुर्सदकै समयमा काम गर्दै सेवा निवृत्त हुनुभन्दा अघि उनका यी तीन पुस्तक पनि प्रकाशित भए: भूपि शेरचनका कविता (२०५७), शारदाका सम्पादकीय विचारहरू (१९९०-२०२०) (२०५८), र गोरखापत्र : सय वर्षका १०१ कथा (२०५८)।
यी तीनवटै पुस्तकमा विभिन्न पत्रिकाबाट संकलित सामग्री छन्। गणेश रसिक २०५३/५४ मा साझा प्रकाशनका महाप्रबन्धक र अध्यक्ष हुँदा शिव रेग्मीले भूपिका कविता संकलन गरी बुझाएका थिए। यस पुस्तकभित्रको सामग्री उनकै पुस्तकालयबाट लिइएका थिए। दोस्रो पुस्तक शारदाका सम्पादकीय विचारहरू (१९९०-२०२०) (२०५८) उनको संकलन र सम्पादनमा प्रकाशित भयो। यसमा शारदा पत्रिका १९९१ फागुनदेखि २०२० सम्ममा प्रकाशित १८० वटा सम्पादकीय संकलित छन्।
त्यसबेला केही निजी व्यक्तिको पुस्तकालयमा रहेका यस्ता सम्पादकीय संकलन गर्न रेग्मीलाई सकस परेको थियो। यसका लागि उनले अच्युतरमण अधिकारी र ईश्वर बरालको संकलनको सहयोग लिए, तैपनि तीन–चार अंक पुगेन।
यसबारे २०७० वैशाख २५ मा सूर्य सुवेदीसँगको अन्तर्वार्ताका क्रममा रेग्मीले भनेका छन्, आखिरमा मलाई तीन–चार अंक शारदा ले अल्झायो। त्यो पनि धेरै ठाउँमा धाएर धेरै खुशामद गरेर भेटाएँ। वर्ष २२ को एउटा शारदामा सम्पादकीय भेटिएन। मदन पुरस्कारमा पनि भेटिएन। शारदा को १८० अंकको सम्पादकीय यसमा बटुलिएका छन्। यो काम गर्न मलाई झण्डै झण्डै दश वर्ष लाग्यो ।"
कमल दीक्षित, शिव रेग्मी र शिवप्रसाद भट्टराईको सह-सम्पादनमा प्रकाशित गोरखापत्र : सय वर्षका १०१ कथा मा १९५८ वैशाखदेखि २०५६ चैतसम्ममा गोरखापत्र मा प्रकाशित कथा संकलन गरिएको छ।
यी तीन कृतिको आफ्नै महत्व छ। भूपि शेरचनलाई धेरै व्यक्तिले उनको पुस्तक घुम्ने मेचमाथि अन्धो मान्छे मार्फत चिन्छन् जुन २०२५ सालमा प्रकाशित भएको थियो। त्यसपछि भूपिले लेखेका कविता शिवको किताबमा छन्। पहिलो किताबका उनका "गलत लाग्छ मलाई मेरो देशको इतिहास" र "हल्लै हल्लाको देश" जस्ता कविता छन् जसले उनलाई "प्रगतिवादी" कविको रूपमा चिनाउँछ भने शिव रेग्मीको किताबमा उनको 'वीरेन्द्र जिन्दावाद' शीर्षकको कविता पनि छ जसले पञ्चायती व्यवस्थासँगको उनको सान्निध्यता देखाउँछ।
भूपिको अर्को पाटो थाहा पाउन सकिन्छ यस किताबबाट। गोरखापत्र मा प्रकाशित कथाको संकलनबाट यस पत्रिकाले कथा विधामा पुर्याएको योगदान थाहा हुन्छ। अनि शारदा का सम्पादकीयले राणाशासनदेखि २०२० सालसम्ममा शारदाले के-कस्ता विषयमा सम्पादकीय लेखे वा लेखन भन्ने थाहा पाउन मद्दत गर्छ।
यस कालखण्डमा शिव रेग्मीले फुर्सदमा खोजी-अनुसन्धानमा लागेको भए पनि उनलाई सन्तोष भने मिलेको थिएन। अनुसन्धानमै लिप्त हुने उनको चाहना उनको निवृत्त जीवनपछि पूरा भयो।
तीन
यो अध्याय रेग्मीकाे अवकाशपछिको अवधि हो। तेस्रो कालमा भने उनी अझ बढी अनुसन्धानमा लागे। २०५९ चैत १ मा प्रकाशित लेखमा पत्रकार देवेन्द्र भट्टराईले शिव रेग्मीको दिनचर्या यसरी बयान गरेका छन् : "कहिले कसैको आग्रहमा पुराना पत्रिका बटुल्दै, कहिले अरूको लेख संकलन गर्दै, कुनै बेला भूमिका लेख्दै र धेरै समय साहित्यिक पत्रकारितामाथि मनन गर्दै समय बिताउन बानी परेका छन् ।" यसरी काम गरेर उनले करीब १७ वर्षमा १९ वटा पुस्तक दिए।
साहित्यिक पत्रिका र मिडियाका अरू विषयमा पनि उनले किताब छपाए। यहाँ तीनवटा पुस्तकको चर्चा गरिन्छ। पहिलो,२०५८ मै शिव रेग्मी र पी. खरेलको सह-लेखनमा नेपालमा आमसञ्चारको विकास प्रकाशित भयो। यसमा नेपालमा हुलाक सेवा, दूरसञ्चार सेवा, प्रचारप्रसार, टेलिभिजन, छापाखाना र प्रकाशन मात्र होइन छापाखाना/पत्रपत्रिकाको कानून अनि नेपाल पत्रकार महासंघको इतिहास समेत दिइएको छ। यसले उनको रूचि साहित्यमा मात्र होइन आमसञ्चारको अनुसन्धानमा पनि छ भन्ने देखाउँछ।
सञ्चार मन्त्रालयमा काम गरेको अनुभव र २०४३ सालदेखि नै नेपाल प्रेस इन्स्टिच्यूटमा नेपाली पत्रकारिताको इतिहासको अध्यापनले यो सहकार्यलाई सम्भव बनाएको थियो। दोस्रो, २०६३ मा प्रकाशित अतीतका पाना: केही नेपाली साहित्यिक पत्रपत्रिका हो जसमा उनले तीन दशकमा विभिन्न पत्रपत्रिकामा छपाएका ४७ वटा लेख छन्।
तेस्रो, २०६९ मा प्रकाशित खोजीनिती: लेखसङ्ग्रह हो जसमा साहित्यिक पत्रिका सम्बन्धित ३६ वटा लेख छन्। पछिल्ला दुई पुस्तकमा रहेका लेखका विशेषता अतीतका पाना को भूमिका लेख्ने क्रममा मदनमणि दीक्षितले व्यक्त गरेकाे यो विचारले जनाउँछ : "वहाँका लेखनहरू नेपाली साहित्यका ऐतिहासिक घटनाहरूलाई यथार्थका आधारमा केलाउने, तिनका मिति ठम्याउने र विचारहरू सच्याउने रूपका रहेका देखिन्छन्। यसले गर्दा ती लेखहरू सीमित शब्द र वाक्यका, विचार र विवरणलाई सच्याएर टुङ्गो लगाउने, आफू विवादलाई ननिम्त्याउने प्रकृतिका हुने गर्छन्। यसले गर्दा वहाँका लेखहरू छोटा, मीठा र सरल अभिव्यक्तिका हुने गर्छन्।"
यी दुवै किताब नेपालमा साहित्यिक पत्रपत्रिका र आमसञ्चारबारे अध्ययन गर्न चाहने व्यक्तिलाई उपयोगी छन्।
गोरखापत्र का सामग्री संकलन र सम्पादनमा पनि उनी फेरि लागे। दुइटा किताब पनि प्रकाशित भए। पहिलो, माधवप्रसाद पोखरेल, शिव रेग्मी र शिवप्रसाद भट्टराईको सह-सम्पादनमा २०६० मा गोरखापत्रका एक सय एक निबन्ध प्रकाशित भयो। यसमा काव्यात्मक, नियात्रा, साहित्यिक संस्मरण, अल्पसाहित्यिक संस्मरण, साहित्यिक प्रबन्ध, साहित्यिक समालोचना, भाषिक प्रबन्ध, सांस्कृतिक प्रबन्ध र ऐतिहासिक प्रबन्ध जस्ता नौ प्रकारका निबन्ध छन्।
दोस्रो, २०६७ सालमा शिव रेग्मी, शिवप्रसाद भट्टराई र जयदेव भट्टराईको सम्पादनमा गोरखापत्रको इतिहास प्रकाशित भयो। यसमा अधिकांश गोरखापत्र र एकाध गोरखापत्र संस्थानका अरू प्रकाशनमा प्रकाशित ४५ जनाका लेख संकलित छन्। यसका सबै लेखले गोरखापत्रको इतिहासको केही न केही पक्षबारे जानकारी दिन्छ जुन मिडिया र आमसञ्चारका अध्येताका लागि उपयोगी छ।
साहित्यकारका पुस्तकमा नसमेटिएका रचनाको संकलन र सम्पादनमा पनि उनी जोडतोडले लागे। उनले यसै कालखण्डमा नेपाली कविता, भीमनिधि तिवारी र देवकोटाका भूमिका, तारिणीका कविता, देवकोटाका निबन्ध र भैरव अर्यालका रचना संकलन र सम्पादन गरे।
२०६६ सालमै उनका महाकवि देवकोटाका निबन्ध र महाकविका भूमिका प्रकाशित भए। त्यसपछि उनले देवकोटाको कथा पनि संकलन गर्न थालेका थिए। यस्ता ११ वटा कथा संकलन पनि गरिसकेका थिए तर भारतबाट प्रकाशित भएको पत्रिका युगवाणी मा छापिएको 'डायमण्ड कुकुर' शीर्षको कथा फेला परेन। पुस्तक प्रकाशित गर्न सकिएन।
२०७१ सालमा प्रकाशित राजीनामा : भैरव अर्यालका विविध रचना मा २१ वटा रचना छन्। यसैका आधारमा यी साहित्यकारबारे स्थापित तथ्य र सत्य अरू अध्येताले परिमार्जन गर्न सक्छन्। देवकोटाले कविता र निबन्ध लेखेको धेरैलाई थाहा भएकै कुरा हो तर उनले केही भूमिका पनि लेखेका थिए भन्ने प्रमाण उनले आफ्नो पुस्तकमार्फत दिए।
भैरव अर्यालको छवि नेपाली साहित्यमा हास्यव्यङ्ग्यकारका रूपमा छ तर रेग्मीको पुस्तकमा उनले लेखेका चिठी, संस्मरणात्मक लेख, समालोचना पनि छन्। यति मात्र होइन यस पुस्तकको शीर्षक नै भैरव अर्यालको मृत्युपछि प्राप्त भएको आफूले काम गरेको संस्था गोरखापत्र संस्थानका लागि उनले लेखेको चिठी हो जुन पढ्दा उनका अन्तिम दिनका मनोदशा थाहा हुन्छ। यस्तो सामग्रीलाई सुलभ गर्ने काम यस पुस्तकबाट भएको छ।
यी पुस्तकबाहेक उनले धेरै व्यक्तिलाई किताब निकाल्न सहयोग गरे। शिव रेग्मीका अनुसार उनले करीब तीन दर्जन व्यक्तिको किताबका लागि सामग्री जम्मा गरेका थिए। तर एउटा किताबमा भने काम गरेर पनि नाम राख्न चाहेनन्। प्रेस काउन्सिल नेपालले २०६५ मा प्रकाशित पुस्तक नेपाली साहित्यिक पत्र-पत्रिकाका संक्षिप्त ग्रन्थकोश मा शिव रेग्मीले नै काम गरेका थिए।
काउन्सिलका तत्कालीन अध्यक्ष राजेन्द्र दाहालले किताबको प्राक्कथनमा यसमा भएका धेरैजसो विवरण र पत्रिकाको तस्वीर पनि शिव रेग्मीले उपलब्ध गराएको, अरूलाई पनि विवरण दिन प्रेरित गरेको र प्राप्त विवरण रुजु गरेकाेमा आभार व्यक्त गरेका छन्। यस पुस्तकमा १९६५ देखि २०६४ सालसम्म प्रकाशित १,१८० वटा पत्रिकाको विवरण दिइएको छ।
सूर्य सुवेदीसँगको अन्तर्वार्तामा भने रेग्मीले "…मदन पुरस्कार पुस्तकालयमा भएका पत्रपत्रिकाहरू यहीँ ढाँचामा मैले लिन सकेको भए पत्रपत्रिकाको संख्या बढ्ने थियो" भनेका छन्। यो पुस्तक अपुरो रहेको विचार पनि व्यक्त गरेका छन्।
रेग्मीको खोजी-अनुसन्धानकै कारण उनले साहित्यिक पत्रकारिता पुरस्कार, जगदम्बा पुरस्कार जस्ता महत्वपूर्ण पुरस्कार पाए। २०६३ सालमा प्रेस काउन्सिल नेपालले उनलाई साहित्यिक पत्रकारिता पुरस्कार दिने बेला "लामो समयदेखि अन्वेषण, सम्पादन एवं लेखनको माध्यमबाट अतुलनीय योगदान" भनिएको थियो। त्यस्तै २०७० सालको जगदम्बा-श्री पुरस्कार अर्पण गर्ने क्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितले यस्तो भनेका थिए :
आदरणीय शिव रेग्मीज्यू, एउटा कुनोमा बसेर साधना गर्ने तपाईंलाई यो सभासम्म ल्याई सम्मान गर्न पाउँदा मलाई व्यक्तिगत रूपमा पनि अत्यन्त आनन्द लागेको छ। तपाईंको जीवन नै नेपाली भाषाको सेवामा समर्पित भएको देखेको छु मैले। तपाईंले जे जति लेख्नुभयो आजसम्म अरूलाई नै चम्काउने र उजिल्याउने काम मात्र गर्नुभयो। आफ्नो लागि तपाईंले कहिल्यै क्यै गर्नुभएन। यो ठूलो त्याग र तपस्या हो, सितिमिति कसैले गर्न नसक्ने !
नेपाली भाषा, साहित्य र साहित्यिक पत्रकारिताको विकास र विस्तारमा सृजना र अन्वेषणमार्फत सेवा गरेकाले र गोरखापत्रमा प्रकाशित साहित्यिक/गैरसाहित्यिक सामग्रीको संकलन र सम्पादन गरेकाले वि.सं. २०७४ मा गोरखापत्र संस्थानले पनि शिव रेग्मीलाई सम्मान गरेको थियो।
साहित्य, मिडियासम्बन्धी खोज-अनुसन्धानमा उनी निरन्तर लागे। सूर्य सुवेदीलाई उनले आफ्नो अवकाश जीवन राम्ररी नै बितिरहेको र फलदायी भएको जानकारी दिएका थिए : "अब यो थोत्रोमोत्रोलाई केलाउँदा मलाई यति आनन्द र सन्तुष्टि लाग्न थाल्यो, म यसैमा रमाउन थालें। यदि मैले यो प्रवृत्ति नअँगालेको भए शायद मेरै अवकाश जीवन यस्तो सुखी हुने थिएन " (सुवेदी २०७०: ५५६) ।
यसरी नै काम गर्दै गएकाले ८ फागुन, २०७५ मा बित्नु अगाडिसम्म उनले आफ्नो लेखनमा तीन, सह-लेखनमा एक, सम्पादनमा १२, सह-सम्पादनमा ६ पुस्तक प्रकाशित गराए । करीब ७०० लेख प्रकाशित गरे भने तीनवटा पुस्तकका पाण्डुलिपि प्रकाशकलाई रेग्मी आफैँले बुझाएका थिए। ती अझै अप्रकाशित छन् ।
रेग्मी ज्युँदो हुँदा र उनको मृत्युपछि परिवारले मार्टिन चौतारीलाई दान गरिएको पत्रपत्रिकाको प्रारम्भिक सूचीमा ८७५ शीर्षक देखिएको छ जुन मदन पुरस्कार पुस्तकालयको सहकार्यमा 'डिजिटाइज' हुँदैछ। त्यसपछि यी पत्रिका अध्येताका लागि खुला गरिनेछ। उनको मृत्यु हुनेताका उनीसँग करीब ४००० किताब थिए जसमध्ये करीब ३००० नेपाल प्रज्ञा प्रतिष्ठानलाई दिइएको छ।
शिव रेग्मीको बुझाइ थियो, "अनुसन्धान कल्पना होइन। एउटा लुप्त बीज हुनुपर्छ, त्यसलाई मलजल गरेर रूखका रूपमा हुर्काउने काम नै अनुसन्धान हो।" त्यसैले नै पत्रपत्रिका पुस्तकमा छरिएका साहित्यकारका रचनाहरू, पत्रपत्रिकामा छापिएका कथा, निबन्ध, सम्पादकीय, लेख गाँस्दै किताब बनाउन उनले जाँगर देखाए अनि पत्रपत्रिकाका पाना–पाना केलाएर यिनीहरूको इतिहास खोज्न, चर्चामा नआएका साहित्यकारलाई उजिल्याउन उनी तल्लीन रहे। अरूलाई खोजीमेलीमा लाग्न प्रेरित गरे।
- हर्षमान महर्जन मार्टिन चौतारी सम्बद्ध अनुसन्धानकर्ता हुन्। मिडिया इतिहासमा तथा मिडिया र समाजको सम्बन्धबारे विभिन्न अध्ययन गरेका उनले हालै मात्र शिव रेग्मीका प्रकाशित पुस्तकः एक सूची संकलन गरी प्रकाशित गरेका छन्।