पाठ्यक्रम विकास केन्द्रले आउँदो चैतमै शैक्षिक सत्र पूरा गर्ने तयारीसहित पाठ्यवस्तु समायोजन ढाँचा तयार पारेको छ। केन्द्रले भोलि, १ असोजदेखि शैक्षिक सत्र शुरु हुने र साविकको झैं चैतमा नै शैक्षिक सत्र पूरा गर्ने गरि पाठ्यवस्तु समायोजन ढाँचा ल्याएको हो।
पाठ्यक्रमका आधारमा समायोजन ढाँचा ल्याइएको र यो ढाँचा अनुसार चैतमा नै शैक्षिक सत्र पूरा गर्न सकिने केन्द्रका प्रमुख केशवप्रसाद दाहालले बताए। उनका अनुसार नयाँ ढाँचामा पाठ्यपुस्तकलाई दुई भागमा विभाजन गरिएको छ।
शिक्षकको सहजीकरणको आवश्यकता भएको र शिक्षकको निर्देशनमा स्वअध्ययनबाट, अभिभावकको सहयोगमा वा अन्य विधिको प्रयोग गरेर सिक्न सक्ने गरि छुट्याइएको छ।
तल्लो कक्षामा पढिसकेका, दोहोरिएका पाठहरूलाई शिक्षकको निर्देशनमा स्वअध्ययन गर्न लगाउने अथवा अभिभावकको सहयोगमा पढ्न लगाउने गरी तयार पारिएको छ। समयभित्र शैक्षिक सत्र सक्नका लागि समायोजन ढाँचा ल्याइएको केन्द्रका प्रमुख दाहालले बताए।
“छोटो समयमा शैक्षिक सत्र पूरा गर्नका लागि र विद्यार्थीको शैक्षिक क्षति हुन नदिन समायोजन ढाँचा ल्याएका हौं”, ढकालले भने।
पाठ्यक्रम विकास केन्द्रले भोलि, १ असोजमा नै ‘पाठ्यवस्तु समायोजन ढाँचा’ स्थानीय तहमा पठाउने केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईले बताए। केन्द्रले पठाएको ‘पाठ्यवस्तु समायोजन ढाँचा’ स्थानीय सरकारले आफ्नो अनुकुल मिलाएर केही तलमाथि गरेर लागू गर्न सक्ने भट्टराई बताउँछन्।
“कतिपय स्थानीय तह अथवा विद्यालयहरूले वैशाख, जेठदेखि नै विद्यार्थीलाई नियमित सिकाइसँग जोडिरहेकाले यो ढाँचा आफू अनुकुल बनाएर लागू गर्न सक्नेछन्”, भट्टराईले भने।
केन्द्रका प्रमुख दाहाल समयमा शैक्षिक सत्र पूरा गर्न शिक्षक, विद्यार्थी र अभिभावक सबैले मिहिनेत गर्नुपर्ने बताउँछन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशिका अनुसार विषयगत शिक्षकहरूसँगको छलफलपछि ‘पाठ्यवस्तु समायोजन ढाँचा’ तयार पारिएको केन्द्रका प्रमुख दाहालले बताए।
पाठ्यक्रम विकास केन्द्रले मूल्याकंनको ढाँचा पनि परिर्वतन गरेको बताएको छ। केन्द्रका अनुसार अब विद्यार्थीको पहुँचअनुसार परीक्षा लिँदा घरमा सिकेका, अनलाइन, रेडियो, टीभीबाट पढ्नेलाई ‘असाइनमेन्ट’ र मौखिक आधारमा परीक्षा लिएर मूल्यांकन गरिने भएको छ।