कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना
कोरोना भाइरस संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन्। अचानक ज्वरो आएपछि उनलाई हिजो राति काठमाडौंको चावहिलस्थित् ॐ अस्पताल भर्ना गरिएको हो।
महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। “अब्जरभेसनका लागि आईसीयूमा हुनुहुन्छ। तर, कुनै ब्याकअपको आवश्यकता परेको छैन। स्वास्थ्य सामान्य नै छ”, तिवारीले भने, “बिहान जुुस र स्यान्डवीच खानुभयो। केहीबेरपछि लञ्च दिने कुरा छ।”
२३ भदौमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि कोइराला होम आइसोलेसनमा बसिरहेका थिए। तर, उनलाई हिजो साँझ ६ बजेदेखि ज्वरो बढेको थियो। ज्वरो १०३ डिग्री पुगेपछि उनलाई राति ८ बजे अस्पताल पुर्याइएको थियो। “अहिले ज्वरो पनि नर्मल छ। अन्य कुनै समस्या छैन”, तिवारीले भने।
ॐ अस्पतालले पनि कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ। उनको उपचारमा मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. सुवोधसागर ढकाल र कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेशसुन्दर श्रेष्ठ संलग्न रहेकाे अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले बताएका छन्।