सिन्धुपाल्चोकमा रातभरि वर्षा, बिहानै भूकम्प
वर्षामा बाढीपहिरोका कारण ठूलो क्षति सहिरहेका सिन्धुपाल्चोकबासीलाई बिहानै भूकम्पले अत्याएको छ। बिहान भूकम्प जानुअघि जिल्लाका केही स्थानमा रातभरि वर्षा भएको थियो।
प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले रातभरि पानी परेकाले पहिरोको जोखिम झन् बढेको बताएका छन्। जल तथा मौसम विज्ञान विभागको स्वचालित मौसम मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको चौतारामा पछिल्लो ६ घन्टामा ६.८ मिलिलिटर वर्षा भएको छ। त्यस्तै पछिल्लो १२ घन्टामा २४ मिलिलिटर वर्षा भएको छ।
प्रजिअ ढकालले अहिलेसम्म जिल्लाका कुनै पनि स्थानबाट क्षतिको विवरण नआएको बताए। भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १९ मिनेट जाँदा बाह्रबिसे नगरपालिका वडा नं. ९ को राम्चे आसपास केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको हो।
बाह्रबिसेमा नै रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले पनि क्षतिको विवरण नआएको बताए। उनले भने, “म काम विशेषले बाह्रबिसे आएको छु। म बसेको इलाका प्रहरी कार्यालय वडा नम्बर ४ मा छ। भूकम्पको केन्द्र भनिएको ठाउँ वडा नम्बर ९ हो। वारिपारि पर्छ। क्षति भयो भन्ने अहिलेसम्म जानकारी आएको छैन।” इलाका प्रहरी कार्यालयले क्षति भए/नभएको जानकारी लिइरहेको उनले बताए।
बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रीनले पनि आफूले सो वडाका केही स्थानीय र जनप्रतिनिधि कुरा गर्दा अहिलेसम्म क्षति भएको जानकारी नआएको बताइन्। “म पनि बाह्रबिसे नै छु, राम्चे नजिकै एकदम धेरै हल्लायो। अहिलेसम्म चाहिँ क्षति भएको भन्ने आएको छैन, तर पहिरो जान सक्ने भन्दै धेरै स्थानीयबासी त्रासमा हुनुहुन्छ।”
गएको आइतबार मात्र बाह्रबिसे नगरपालिकाको वडा नं. ७ मा पहिरो जाँदा ठूलो क्षति भएको थियो। उक्त पहिरोमा १४ जनाको मृत्यु भएको थियो भने १७ जना अझै बेपत्ता छन्। यो वर्ष पछिल्लो दुई महिनामा पहिरोबाट जिल्लामा ७४ जनाले ज्यान गुमाएका छन् भने ४१ जना अझै बेपत्ता छन्।