कोरोना अपडेट: सात वटै प्रदेशमा सक्रिय संक्रमित भन्दा निको हुनेको संख्या धेरै
नेपालमा कोरोनाका नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा पछिल्लो २४ घण्टामा १४५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै मुलुकमा कोरोना संक्रमितको संख्या ५६७८८ पुगेको छ। त्यसमध्ये हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १५७७९ पुगेको छ, ४०६३८ जना निको भइसकेका छन्।
मुलुकमा कोरोनाबाट निको हुनेको यो दर ७१.६ प्रतिशत हो भने सक्रिय संक्रमितको दर २७.८ प्रतिशत र मृत्युदर ०.६ प्रतिशत छ।
सार्क राष्ट्रमध्ये नेपालमा कोरोनाका सक्रिय संक्रमितको दर भुटानपछि सबैभन्दा धेरै छ। भुटानमा कोरोनाका सक्रिय संक्रमितको दर सार्क राष्ट्रमा सबभन्दा धेरै २९.७ प्रतिशत छ।
केही समयअघिको तथ्यांक अनुसार नेपाल सार्क राष्ट्रमै कोरोनाका सक्रिय संक्रमितको दर बढी हुने पहिलो मुलुक थियो। पछिल्ला दिनहरूमा मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भन्दा निको हुने व्यक्तिको संख्या बढ्न थालेपछि सार्क राष्ट्रमध्ये सक्रिय संक्रमितको दर धेरै भएको मुलुकबाट नेपाल विस्तारै तल झर्न थालेको हो।
कुन प्रदेशमा कति?
नेपालमा हाल सातै वटा प्रदेशमा कोरोनाका सक्रिय संक्रमितभन्दा निको हुने व्यक्तिको संख्या बढ्न थालेको छ। यसअघि बागमती र प्रदेश-२ मा कोरोनाबाट निको हुने व्यक्तिको संख्या भन्दा कोरोनाका सक्रिय संक्रमितको संख्या धेरै थियो।
मंगलबारसम्मको तथ्यांक अनुसार बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या ८१५२ र निको हुने व्यक्तिको संख्या ८३९२ पुगेको छ।
प्रदेश–२ मा कोरोनाबाट निको हुने व्यक्तिको संख्या सबैभन्दा धेरै ११०९६ छ। तर सक्रिय संक्रमितको संख्या भने २१७८ छ।
प्रदेश–१ मा कोरोनाबाट निको हुने व्यक्तिको संख्या ३५६२ र सक्रिय संक्रमितको संख्या १५१७ छ। गण्डकी प्रदेशमा निको हुने व्यक्तिको सख्या २३४५ र सक्रिय संक्रमितको संख्या ९८२ छ।
यस्तै, प्रदेश-५ मा कोरोनाबाट निको हुने व्यक्तिको संख्या ६६७७ र सक्रिय संक्रमितको संख्या १९८१ छ। कर्णाली प्रदेशमा निको हुने व्यक्तिको संख्या २५३१ र सक्रिय संक्रमितको संख्या ३९३ छ। सुुदूरपश्चिम प्रदेशमा निको हुने व्यक्तिको संख्या ६०३५ र सक्रिय संक्रमितको ५७६ छ।
२९ भदौसम्म बागमती प्रदेशमा कोरोनाबाट निको हुने व्यक्तिको भन्दा सक्रिय संक्रमितको संख्या धेरै थियो। त्यतिबेलासम्म बागमती प्रदेशमा कोरानाका सक्रिय संक्रमितको संख्या ७९०७ र निको भएका व्यक्तिको संख्या ७८१९ थियो।
सोमबारको तथ्यांक अनुसार बागमती कोरोनाबाट निको हुने भन्दा सक्रिय संक्रमित धेरै भएको एक मात्र प्रदेश थियो। तर बागमती प्रदेशमा एकै दिन ५७३ जना व्यक्ति निको भएपछि यस प्रदेशमा सक्रिय संक्रमित भन्दा निको हुने व्यक्तिको संख्या बढी देखिएको हो।
विश्व स्वास्थ्य संगठनमा कार्यरत एक जना क्लिनिकल भाइरोलोजिष्टले मुलुकमा पछिल्ला दिनहरूमा सक्रिय संक्रमित घट्दै गएको र निको हुने व्यक्ति बढ्दै गएको कुरालाई सकारात्मक भनेका छन्।
उनले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने जस्ता जनस्वास्थ्यका आधारभूत मापदण्ड पालना गर्ने हो भने संक्रमण दर घटाउन सकिने बताएका छन्।