एसिड पीडितको आजीवन उपचार खर्च सरकारले व्यहोर्ने, चारवटा अस्पताललाई डेडिकेटेड बनाइने
एसिड आक्रमणका पीडितहरूको आजीवन खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ। त्यसका लागि सरकारले काठमाडौं उपत्यकामा चार वटा डेडिकेटेड अस्पताल समेत तोकेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले 'पीडितको निःशुल्क उपचार र स्वास्थ्यसँग सम्बन्धित प्रयोग गर्नुपर्ने आजीवन औषधि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको' बताए।
सरकारले स्वास्थ्य मन्त्रालयले संयोजन र सहजीकरण गर्ने गरी एसिड आक्रमणमा परेका पीडितहरूको उपचारका लागि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पतालका रुपमा तोकेको छ।
पीडितको तत्काल सम्भव हुने अस्पतालमा उपचार गरेर थप उपचारका लागि प्राथमिकताका साथ रिफर गर्नुपर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताए।
यससँगै पीडितहरुको निःशुल्क शिक्षाको व्यवस्था गर्ने त्यसको जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिने निर्णय गरेको छ। साथै, पीडितको क्षमता र सीप विकास, रोजगारी, अनुदान उपलब्ध गराउन पनि सम्बन्धित मन्त्रालयहरूलाई तोकिएको ज्ञवालीले जानकारी दिए।