प्याजमा किन परनिर्भर छ नेपाल ?
तराईदेखि मध्य पहाडसम्म प्याजको खेती गर्न अनुकूल भए पनि व्यावसायिक प्याज खेतीबाट नाफा नदेखेर किसान यसतर्फ आकर्षित नहुँदा नेपाल प्याज आयातमा निर्भर रहँदै आएको छ।
भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको भोलिपल्टै नेपाली बजारमा प्याजको अभाव र मूल्यवृद्धि शुरु भएको छ। भारतमा प्याजको मूल्य लगातार बढेपछि भारत सरकारले २९ भदौमा प्याज निर्यातमा रोक लगाएको थियो। गत वर्ष पनि असोजमा भारतले प्याजको निकासीमा रोक लगाएपछि नेपाली बजारमा प्रतिकिलो रु. २५० सम्म पुगेको थियो।
हरेक वर्ष भदौ–असोजपछि प्याजको अभाव शुरु हुन थाल्छ। अनि, दैनिक भान्सामा पाक्ने अधिकांश तरकारीलाई स्वादिलो पार्न अनिवार्यसरह मिसाइने प्याजको तिखो हरक जस्तै मूल्य पनि चर्को हुन थाल्छ।
प्याजमा नेपाल परनिर्भर छ। गत आर्थिक वर्ष २०७६/७७ मा नेपालले रु. ४ अर्ब २२ करोड मूल्यको १ लाख ७ हजार टन प्याज आयात गरेको थियो। योभन्दा अघिल्लो वर्ष २०७५/७६ मा १ लाख ७८ हजार टन प्याज आयात गर्न रु. ५ अर्ब ६२ करोड विदेशिएको थियो। नेपालमा मुख्य रुपमा भारतबाट र केही हिस्सा प्याज चीनबाट पनि आयात हुन्छ।
तराईदेखि मध्य पहाडसम्म खेती गर्न अनुकूल प्याजको परनिर्भरता निकै हदसम्म घटाउन स्वदेशमै उत्पादन गर्न नसकिने होइन। तर, उत्पादन र उत्पादकत्व दुवै न्यून भएपछि आयातमा भर पर्नुपरेको हो। व्यावसायिक प्याज खेतीबाट नाफा नदेखेर किसानहरु आकर्षित नहुँदा प्याज आयात गर्नुपर्छ। कृषि तथा पशुपन्छी मन्त्रालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७५/७६ मा नेपालमा २ लाख ९१ हजार मेट्रिक टन प्याज उत्पादन भएको थियो। नेपालमा प्याजको उत्पादकत्व १३.९४ टन प्रतिहेक्टर मात्रै छ।
असफल प्रयास
प्याजको आयात लगातार बढिरहेपछि कृषि मन्त्रालयले करीब एक दशकअघि ‘मिसन प्याज’ कार्यक्रम अगाडि सारेको थियो। देशभित्रै प्याजको उत्पादन बढाउन तराईका रुपन्देही, सप्तरी, सिरहा, रौतहट, बारा लगायत जिल्लामा यो अभियान लागू गरिएको थियो। किसानलाई प्याजको उन्नत बीउबिजन, मल र सिंचाइमा अनुदान लगायत प्रोत्साहनको योजना यसले अगाडि सारेको थियो। तर, यो कार्यक्रम असाध्यै असफलमध्ये एक हुनपुग्यो।
“व्यावसायिक रुपमा प्याज खेती बढाउन अहिले पनि उन्नत बीउको अभाव मुख्य समस्या हो। प्याजको बेर्ना राख्ने वेला बीउको सधैं अभाव हुन्छ।” - दिनेशप्रसाद सापकोटा, प्रमुख, तरकारी बाली विकास केन्द्र खुमलटार
त्यसको एउटा कारण थियो, बीउकै अभाव। देशमा प्याजको बीउ किसानले मागेजति उपलब्ध हुँदैन, भारतबाट आयात गर्नुपर्छ। भारतले त्यो वेला प्याजको बीउबिजनमा रोक लगाएपछि यो कार्यक्रमले गति समातेन। कार्यक्रम लागू गरिए पनि न प्याज खेती गर्ने किसान थपिए, न उत्पादन बढ्यो। तरकारी बाली विकास केन्द्र खुमलटारका कार्यालय प्रमुख तथा वरिष्ठ बागवानी विकास अधिकृत दिनेशप्रसाद सापकोटा भन्छन्, “व्यावसायिक रुपमा प्याज खेती बढाउन अहिले पनि उन्नत बीउको अभाव मुख्य समस्या हो।”
केन्द्रले यो वर्ष प्याजको बेर्ना उत्पादन गर्न भनेजति बीउ पाएन। बल्लतल्ल रुकुमका किसानका घरघरमा कर्मचारी पठाएर करीब ३५ किलो बीउ संकलन गरिएको सापकोटाले बताए। रुकुममा समशीतोष्ण तरकारी बीउ उत्पादन केन्द्र छ। “काभ्रेको पाँचखालस्थित सम्बन्धित कार्यालयहरुले प्याजको बीउ पाइएन, केही सहयोग गरिदिनुस् भनिरहेका छन्” सापकोटाले भने, “प्याजको बेर्ना राख्ने वेला बीउको सधैं अभाव हुन्छ।”
सापकोटाका अनुसार, प्याजको बीउ सामान्यतया असार महीनामा उत्पादन हुन्छ। तर, यसका लागि पानी कम पर्ने क्षेत्र चाहिन्छ। देशको पूर्वी र मध्य क्षेत्रका तुलनामा मध्यपश्चिममा कम पानी पर्ने र हावापानी पनि सुहाउँदो भएकाले रुकुमको तरकारी बीउ उत्पादन केन्द्र अन्तर्गत प्याजको बीउ उत्पादन गरिन्छ। तर, त्यसले माग थेग्दैन।
“प्याज उत्पादनको झन्झटिलो विधि, बिरुवा हुर्काउन कठिन तथा उत्पादन हुने वेला भारतीय सस्तो प्याजसँग प्रतिस्पर्धा गर्नुपर्ने कारणले किसान प्याज लगाउन उत्साहित हुँदैनन्।” - डा. महादेवप्रसाद पौडेल, वरिष्ठ अर्थ विज्ञ, कृषि विभाग
नेपालमा प्रायः मंसीर–पुसमा रोपेर चैत–वैशाखमा उत्पादन हुने गरी एक मौसममा मात्र प्याज खेती गरिन्छ। यसरी उत्पादित प्याज अधिकांश घरायसी प्रयोजनमै प्रयोग हुन्छ। व्यावसायिक रुपमा उत्पादन गरी बजारमा पठाउने किसान कमै छन्। किसानले प्याज उत्पादन गरेका वेला बजारमा मूल्य असाध्यै सस्तो पर्छ। उनीहरुसँग प्याजलाई भण्डार गरी राख्ने क्षमता हुँदैन। सस्तैमा बिक्री नगरे वर्षा लागेपछि कुहिन थाल्छ। भण्डार गरेर राख्ने क्षमता रहेको भए भदौ–असोजबाट प्याजको मूल्य उकालो चढ्न थालेका वेला भण्डारबाट झिकेर महँगोमा बिक्री गर्ने सुविधा हुन्थ्यो। तर, चैत–वैशाखमा सस्तोमा उत्पादित भारतीय प्याजसँग प्रतिस्पर्धा गर्नुपरेका कारण किसानहरु प्याज खेतीमा आकर्षित हुँदैनन्।
कृषि विभागका वरिष्ठ अर्थ विज्ञ तथा प्रवक्ता डा. महादेवप्रसाद पौडेल भन्छन्, “प्याज उत्पादनको झन्झटिलो विधि, बिरुवा हुर्काउन कठिन तथा उत्पादन हुने वेला भारतीय सस्तो प्याजसँग प्रतिस्पर्धा गर्नुपर्ने कारणले किसान प्याज लगाउन उत्साहित हुँदैनन्।” उनी प्याज उत्पादनका लागि विशेष कार्यक्रम सञ्चालन गरी किसानलाई मल, बीउ, सिंचाइ आदिको प्रबन्ध र अनुदान नदिएसम्म उत्पादन बढाउन कठिन भएको बताउँछन्।
खेतीको तरिका
मध्य एशियाको इरान, अफगानिस्तान, पाकिस्तान क्षेत्र वरपर उत्पत्ति भएको मानिने प्याज एकदलीय, परसेचित बाली हो। प्याजको खेती करीब दुइ हजार वर्षअघि इजिप्टबाट शुरु भएको मानिन्छ। इजिप्टको पिरामिड बनाउने मिस्त्रीहरुलाई प्याज खुवाएको हुनसक्ने विभिन्न अध्ययनको आकलन छ।
नेपालमा प्याज खेती कति शताब्दीअघि शुरु भयो भन्ने प्रष्ट छैन। अहिले देशको तराईदेखि पहाडसम्म करीब २१ हजार हेक्टर क्षेत्रफलमा प्याज खेती हुन्छ। उसो त, मनाङमा समेत ठूला गाना प्याज उत्पादन भएको कृषि विभागले जनाएको छ।
तराई, भित्री मधेश र होचा पहाडहरुमा प्याजको खेती हुनसक्छ। प्रायः हिउँदे महीनामा खेती गरिने प्याजको उत्पादनमा तापक्रम, प्रकाश तथा दिनको लम्बाइले विशेष भूमिका खेल्छ। बिहानैदेखि घाम लाग्ने पारिलो ठाउँमा सप्रिने प्याजका लागि १२ देखि २५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ। पानी लाग्ने हलुका र मलिलो दोमट माटोमा हुने प्याजको बोट बढ्न भन्दा गाना लाग्न बढी तापक्रम चाहिन्छ। शून्य भन्दा तलको तापक्रममा पनि यसको वानस्पतिक वृद्धि सामान्य रूपमा भए तापनि गानो भने लाग्दैन।
राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार, प्याज खेती गर्ने जग्गालाई दुई तीन पटकसम्म खनजोत गरी माटो बुर्बुराउँदो बनाउनुपर्छ। बिरुवा लगाउनु भन्दा एक साताअघि कम्पोष्ट वा कुहिएको मललाई राम्रोसँग माटोमा मिलाउनुपर्छ। रासायनिक मल भने दुइदेखि तीन दिनअघि वा त्यसै दिन राख्दा पनि हुन्छ।
त्यस्तै, यो बाली सप्रिन सामान्यतया ७० प्रतिशत सापेक्षित आर्द्रता चाहिन्छ। बढी पानी पर्ने र बढी सुक्खा ठाउँमा प्याजको खेती राम्रो हुँदैन। अन्य बालीलाई जस्तै प्याजलाई पनि प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ चाहिन्छ।
प्याज खुला परसेचित बाली भए पनि बजारमा वर्णसंकर बीउहरू पनि पाइन्छन्। नेपालमा रेड क्रियोल, पुसारेड, अर्ली ग्रानो (पहेंलो प्याज), नासिक रेड, नासिक–५३ आदि जातका प्याजका बीउ लोकप्रिय छन्। सोझै बीउ छरेर, बेर्ना उमारेर तथा उचित दूरीमा बेर्ना सारेर र प्याजका साना रोपेर प्याज खेती गर्न मिल्छ।
उच्च पहाडी क्षेत्रमा फागुन–चैत महीनामा बीउ छर्ने तथा वैशाख–जेठ महीनामा बेर्ना सारी वर्षमा एक पटक मात्र प्याज खेती गरिन्छ। उक्त क्षेत्रमा भदौ महीनामा बाली तयार हुन्छ। त्यस्तै, मध्य पहाडी क्षेत्र, बेसी तथा तराई क्षेत्रमा असोज–कात्तिक महीनामा बीउ छर्ने तथा मंसीर–पुस महीनामा बेर्ना सारी प्याज खेती लगाइन्छ। यसरी लगाइएको बाली वैशाख–जेठ महीनामा तयार हुन्छ।
राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार, प्याज खेती गर्ने जग्गालाई दुई तीन पटकसम्म खनजोत गरी माटो बुर्बुराउँदो बनाउनुपर्छ। बिरुवा लगाउनु भन्दा एक साताअघि कम्पोष्ट वा कुहिएको मललाई राम्रोसँग माटोमा मिलाउनुपर्छ। रासायनिक मल भने दुइदेखि तीन दिनअघि वा त्यसै दिन राख्दा पनि हुन्छ। ब्याड बनाएर १५ सेमीको लाइनमा १० सेमीको दूरीमा बेर्ना सार्नुपर्छ। बेर्नाहरु मध्याह्नपछि वा बादल लागेको समयमा सार्नुपर्ने र तुरुन्तै पानी दिनुपर्ने केन्द्रले जनाएको छ।