सीमाञ्चलका सारथि थिए– रघुवंश बाबू
सन् १९८२ तिर हुनुपर्छ। भारत, बिहारको सीमावर्ती शहर सीतामढी पुगेको थिएँ।
रघुवंशप्रसाद सिंह (रघुवंश बाबू) लोहिया आश्रममा छन् भन्ने थाहा पाएर साथीहरूसँगै भेट्न गएँ। उनी स्थानीय राधाकृष्ण गोयन्का कलेजमा गणितको अध्यापन कर्म छाडेर राजनीतिको रंगमा रंगिसकेका थिए।
रघुवंश बाबूको कुरा देहाती अन्दाजलाई विद्यार्थीहरू खूब मन पराउँथे। हामी त्यहाँ पुग्नुमा एउटा महत्वपूर्ण आकर्षण यो पनि थियो।
त्यो दिन उनले हामीलाई ‘सातु महात्म्य’ सुनाए। सातुले सार्वजनिक सेवामा रहेकाहरूको अर्थतन्त्रलाई भरथेग गर्दै तागत दिने पक्षहरू बारे रोचक शैलीमा सुनाए। घण्टौं मन्त्रमुग्ध भएर सुनियो, सिनेमा हेरे जस्तै।
हिंड्ने बेलामा उनले हाम्रो परिचय लिए। ‘म नेपाली हो’ भन्ने, थाहा पाएपछि उनले भनेको अहिले पनि झल्झली सम्झन्छु — ‘अरे नेपालबा के राजा, बजा दिया है जनतबा के बाजा।’ उनको सुझाव थियो, ‘पढाइ–लडाइँ, साथ–साथ।’
उनी हाजिरजबाबी थिए। एकपटक चुनावको मतगणना हुँदै थियो। शिवहर क्षेत्रबाट बाहुबली रघुनाथ झाका प्रशंसकहरूले नारा लगाउन थाले– ‘शेरे बिहार जिन्दावाद।’ कसैले गएर उनलाई यसबारे बताए। त्यतिखेर उनी बिहार विधानसभाका लागि ‘बेलसंड’ बाट प्रतिस्पर्धी थिए। तत्काल नारा फुराए– ‘तू खुद को शेर समझता है, तो बेलसंड बाला पसेरी है।’
राजनीतिमा यिनी माथि उक्लिएसँगै, अनेकौं किस्सा पनि फैलन थाल्यो।
पंचायतकालमा भएका संघर्षमा नेपाली राजनीतिकर्मीहरूको ओहोरदोहोर र वास सीमावर्ती भारतीय क्षेत्रमा भई नै रहन्थ्यो। प्रसिद्ध समाजवादी नेता कर्पुरी ठाकुरका सहयात्री यिनी जहिले पनि नेपालको लोकतान्त्रिक संघर्षमा सहयोगी रहे।
पछिल्लो पटक मधेश आन्दोलनका क्रममा पनि उनको सक्रिय साथ र सहयोग आन्दोलनकारीलाई थियो। यद्यपि तिनका नेता लालु यादव भने चुप बसेका थिए। लालु स्वयंले यस पंक्तिकारलाई भनेका थिए– “यो त अर्को मुलुकको आन्तरिक संघर्ष हो, म केही बोल्दिनँ।”
तर रघुवंश बाबू किन मुखर देखिए त ? उनकै शब्दमा, “लोकतन्त्रमा जबसम्म कुनै समुदाय आफूलाई उपेक्षित ठान्दछ भने, त्यहाँ स्थायी द्वन्द्व रहिरहन्छ। मधेश त हाम्रो ओरियानी (बलेसी) मै छ, हामी कसरी अलग रहन सक्छौं। मैले त शिशु गणतन्त्र कुपोषित नहोस् भन्ने चाहेको हो।”
जयप्रकाशनारायणको नेतृत्वमा भएको आन्दोलनबाट प्रशिक्षित रघुवंशप्रसादले जहिले पनि संघर्षशीलकै पंक्तिमा आफूलाई उभ्याइराखे। सीमाञ्चलमा परस्पर सम्मान र संवादको यिनी पक्षपाती थिए। नेपाललाई असाध्यै मन पराउने बिहारका अग्ला नेता थिए जसको नेपालका आमजनसँग बढी घुलमिल थियो।
रघुवंशप्रसादको स्वतन्त्र रवैया देखेरै लालु यिनलाई ‘ब्रह्मबाबा’ भन्थे। सरकारमा हुँदा होस् वा बाहिर, यिनले ती सबै जनसंघर्षलाई सघाए जसलाई उनी उचित ठान्थे।
जयप्रकाशनारायणको नेतृत्वमा भएको आन्दोलनबाट प्रशिक्षित रघुवंशप्रसादले जहिले पनि संघर्षशीलकै पंक्तिमा आफूलाई उभ्याइराखे। सीमाञ्चलमा परस्पर सम्मान र संवादको यिनी पक्षपाती थिए। नेपाललाई असाध्यै मन पराउने उनी बिहारका अग्ला नेता थिए– जसको जनस्तरसम्म घुलमिल थियो।
भारतमा मनमोहन सिंह पहिलो पटक प्रधानमन्त्री हुँदा यिनी ग्रामीण विकास मन्त्री थिए। त्यसबेला स्थानीय तहमा बेरोजगारहरूलाई कम्तीमा १०० दिनको रोजगारी दिने कार्यक्रम आयो। महात्मा गान्धीको नाम जोडिएर आएको उक्त कार्यक्रम ‘मनरेगा’ भनेर चर्चित र प्रशंसित छ, त्यसको असली शिल्पकार रघुवंशप्रसादलाई मानिन्छ।
रघुवंशप्रसाद भुईयाँसँग जोडिएका नेता थिए। उनी जुन प्रदेशको राजनीति गर्थे त्यसको अस्मिताबारे गहिरो समझ राख्थे। त्यो कुरा उनको व्यवहार र चिन्तनमा लगातार व्यक्त भइरह्यो। सरल भेषभूषा, सादगीपूर्ण जीवन तथा सहज व्यवहार अन्तिम समयसम्म उनको जीवनको हिस्सा रह्यो।
राजनीतिक खुड्किलो उक्लिंदै उनी भारतको संघीय सरकारमा मन्त्री समेत बने तर उनीसँग जहिल्यै भेट्दा पनि आत्मीय अनुभूति हुन्थ्यो। उनी जे सोच्दथे त्यही बोल्दथे, जे कुरा गर्थे त्यही कुरा बोल्दथे।
रघुवंश बाबू निर्भीक थिए। उनको यो निर्भीकता र स्पष्टवादिता सीमाञ्चल वारिपारिका भुईंमान्छेहरूको चरित्रको प्रतिनिधित्व गर्दथ्यो। यस अर्थमा उनी माटोसँग जोडिएका नेता थिए। न सत्तामा हुँदा मात्तिने, न सडकमा हुँदा आत्तिने।
त्यसैले कतिपय टिप्पणीकारहरू भन्थे– ‘रघुवंश बाबू भलै संसद चलेको बेला दिल्लीमा रहुन् तर उनी बेतिया, मोतिहारी, सीतामढी, मुजफ्फरपुर वा वैशालीका पींधका पीडाबारे मसिनो जानकारी राख्थे। यसको कारण थियो जनसामान्यको उहाँसँग सहज पहुँच।’
निधन हुनुभन्दा दुई दिन अघि आफू उपचाररत अस्पतालको बेडबाटै बिहारका मुख्यमन्त्रीलाई यिनले चिठी लेखी आफ्नो क्षेत्रका सरोकार बारे ध्यानाकर्षण गराएका थिए।
जातिवादी राजनीतिमा जेलिएको बिहारको राजनीतिमा उनी सवर्ण (उच्चजातिका) भएर पनि पिछडावर्गको राजनीतिमा कहिल्यै पनि मिसफिट देखिएनन्। पाँच पटक लोकसभामा विजयी उनी वञ्चित समुदायसँग सीधा संवाद स्थापित गर्न सक्थे।
दरभंगास्थित विश्लेषक अरुण दासको भनाइमा ‘बिहारको राजनीतिमा जनप्रतिनिधिको कुनै परिभाषा निर्माण गर्नुपर्छ भने रघुवंश बाबूको जीवनचरित्र नै पर्याप्त छ।’
७४ वर्षको उमेरमा २८ भदौ आइतबार निधन हुँदा रघुवंश बाबू कुनै पदमा थिएनन्। लालु यादव नेतृत्वको राष्ट्रिय जनता पार्टीसँग पनि दुई–तीन दिन अघि मात्र उनले आफूलाई अलग्याएका थिए।
आफ्नो अन्तिम दिनमा कुनै पदमा नरहे पनि उनी बिहारको चानचुने नेता थिएनन् भन्ने कुरा भारतका प्रधानमन्त्री र राष्ट्रपतिले उनीप्रति व्यक्त गरेको श्रद्धाञ्जलि र बिहारमा देखा परेको शोकको लहरले देखाउँछ।
सीमाञ्चलमा मैत्री सम्बन्धका सारथि रघुवंश बाबू जहिले भेट्थे, प्रश्न गर्थे– ‘का हाल बा नेपाल के ?’
श्रद्धाञ्जलि, प्रेरक व्यक्तित्व !