कुलमानको चारवर्षे कार्यकाल : लोडसेडिङ अन्त्यदेखि बिजुलीमा आत्मनिर्भर उन्मुखसम्म
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार वर्षे सेवा अवधिमा ‘लोडसेडिङलाई इतिहासमा बिलय गर्न सफल’ भएको बताएका छन्। २९ भदौ २०७३ मा प्राधिकरण प्रवेश गरेका घिसिङ चार वर्षे कार्यकाल सकेर विदा भएका छन्।
प्राधिकरणले मंगलबार आयोजना गरेको घिसिङको विदाई कार्यक्रममा उनले भने, “२०७३ को लक्ष्मीपूजादेखि मुलुकलाई उज्यालोतर्फ अगाडि बढाउन सफल भएको छ। त्योसँगै वैशाख २०७५ देखि औद्योगिक ग्राहकको लागि पनि लोडसेडिङ अन्त्य भयो। फलस्वरूप मुलुकबाट नै लोडसेडिङलाई इतिहासमा बिलय गराउन सफल भएको छौं।’’
घिसिङले जिम्मेवारी लिँदा मुलुकले ६ देखि ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङको अवस्था थियो। प्राधिकरणको वित्तीय अवस्था पनि कमजोर थियो।
प्राधिकरणको आर्थिक वर्ष २०७२/७३ सम्ममा संचित घाटा रु.३४ अर्ब ६१ करोड पुगेको थियो भने सोही वर्ष रु.८ अर्ब ८९ करोड खुद नोक्सानी थियो। प्रणालीमा वार्षिक विद्युत् चुहावट २५.७८ प्रतिशत थियो भने करीब ६३ प्रतिशत जनता मात्रै ग्रीडको विद्युत् पहुँचमा थिए।
ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा घिसिङको नेतृत्वपछि प्राधिकरणले आर्थिक वर्ष (आव) २०७३/७४मा ८८.१९, आव २०७४/७५ मा ८७.९८, आव २०७५/७६ मा ८६.८२ र आव २०७६/७७ मा ८७.५५ प्रतिशत प्रगति गरेको छ।
विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भएको घिसिङ बताउँछन्।
उनी भन्छन्,‘‘लोडसेडिङ अन्त्य गर्नु मात्र हाम्रो अन्तिम अभिष्ट थिएन। हाम्रो योजना प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरणतर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ शुरू गर्नु थियो।’’ जीर्ण बनेका अधिकांश आयोजनाहरू निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा पुगेका उनको भनाइ छ।
घिसिङले नेतृत्व लिएको पहिलो आर्थिक वर्षमा प्राधिकरण रु.१ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भयो। त्यसपछि दोश्रो वर्ष रु.२ अर्ब ८५ करोड, तेश्रो वर्ष रु.९ अर्ब ८१ करोड २५ लाख खुद नाफा प्राधिकरणले कमायो। चौंथो वर्षमा यस्तो नाफा बढेर रु.११ अर्व ५ करोड पुगेको छ।
ऋणात्मक रहेको संचित कोष धनात्मकतर्फ अघि बढिरहेको छ। चार वर्षअघि ३४ अर्ब ६१ करोड रूपैयाँ संचित नोक्सानी रहेकोमा आव २०७६/७७ मा प्राधिकरणले सम्पूर्ण संचित नोक्सानीलाई शून्यमा झरेको र करिब रु.५ अर्ब नाफामा लैजान सफल भएको घिसिङको चार वर्षे कार्यकालको प्रगति विवरणमा उल्लेख छ।
चार वर्ष अगाडि १४ घन्टासम्मको लोडसेडिङ हुँदा मुलुकभित्रको कुल विद्युत् खपतको करीब ३५ प्रतिशत विद्युत् भारतबाट आयात भइरहेको थियो। तर, विद्युत् खपत करीब ७५ प्रतिशतले बढेको अवस्थामासमेत आव २०७६/७७ मा कुल उपलब्ध विद्युतकोे २२ प्रतिशत मात्रै आयात भएको छ भने आयातको ६ प्रतिशत विद्युत् निर्यात गरिएको छ। अर्को आवबाट नेपाल विद्युतमा आत्मनिर्भर हुँदैछ।