यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत मात्र हुने एडीबीको प्रक्षेपण
एशियाली विकास ब्यांकले यो वर्ष नेपालको अर्थतन्त्रको विस्तार असाध्यै सुस्त हुने अनुमान गरेको छ। ब्यांकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत मात्रै हुने आकलन सार्वजनिक गरेको हो।
गत जुन महिनामा ब्यांकले नेपालको आर्थिक वृद्धिदर यो वर्ष ३.१ प्रतिशत हुनसक्ने अनुमान गरेको थियो। तर, आर्थिक क्रियाकलाप सुस्त रहेपछि ब्यांकले आफ्नो अनुमानलाई संसोधन गर्दै घटाएको हो।
ब्यांकले मंगलबार एशिएन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै नेपालको निर्यात, रेमिटेन्स तथा पर्यटन आयमा कमी एवं आर्थिक क्रियाकलापको बन्जेदका कारण आर्थिक वृद्धिदर सुस्त हुने बताएको हो।
मौसमी अनुकुलताका कारण धान उत्पादन बढेर कृषि क्षेत्रको उत्पादनमा सुधार हुनसक्ने ब्यांकले अनुमान गरेको छ। यद्यपि, रासायनिक मलको अभावका कारण धानको सम्भावित वृद्धि खुम्च्याउनेछ। उत्पादनमूलक र निर्माण क्षेत्र खस्किने तथा पर्यटकको आवागमन नहुने कारणले गर्दा सेवा क्षेत्रको विस्तार पनि नहुने ब्यांकले आकलन गरेको छ।
ब्यांकले यो वर्ष नेपालको मूल्यवृद्धि ५.५ प्रतिशत रहने अनुमान गरेको छ।
कोभिड–१९ को खराब असर विकसित देशहरुमा लम्बिएमा वैदेशिक रोजगारीमा गएका नेपालीको आय खुम्चिने कारण नेपालको रेमिटन्स आप्रवाह घट्नसक्ने जोखिम ब्यांकले औंल्याएको छ। त्यसैगरी, ब्यवसायको पुर्नरुत्थान हुन समय लागेमा ब्यांक तथा वित्तीय संस्थाले दिएका ऋण नउठेर वित्तीय प्रणालीमा जोखिम निम्तिन सक्ने पनि आकलन छ।
ब्यांकले एशियाका विकासशील देशहरुमा करिब ६ दशकपछि पहिलो पटक यो वर्ष आर्थिक वृद्धिदर नकारात्मक हुने अनुमान गरेको छ। सन् २०२० मा एशियाका देशहरुको अर्थतन्त्र औसतमा ०.७ प्रतिशतले घट्ने ब्यांकले आकलन गरेको हो। यो सन् १९६० यताकै पहिलो नकारात्मक वृद्धिदर हो।
यो वर्ष अर्थतन्त्रको ऋणात्मक वृद्धि नहुने ठूला अर्थतन्त्रमध्येको एक चीन हुने छ। चीनले सन् २०२० मा १.८ प्रतिशतको वृद्धिदर हासिल गर्ने ब्यांकको अनुमान छ। सन् २०२१ मा भने ७.७ प्रतिशतको वृद्धिदर हासिल गर्नसक्ने आकलन गरिएको छ।
छिमेकी देश भारतको आर्थिक वृद्धिदर यो वर्ष ९ प्रतिशतले ऋणात्मक हुने आकलन गरिएको छ।