वर्ल्डलिंकले तीन वर्षभित्र सर्वसाधारणलाई शेयर जारी गर्ने
नेपालको ठूलो इन्टरनेट सेवाप्रदाक कम्पनी वर्ल्डलिंकले तीन वर्षभित्रै सर्वसाधारणको लागि शेयर जारी गर्ने भएको छ। वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले पब्लिक कम्पनीमा जाने काम भएकाेले अब शेयर जारी गर्ने आन्तरिक तयारी रहेकाे बताए। आवश्यक प्रक्रिया पूरा गरेर शेयर जारी गर्ने तयारीमा वर्ल्डलिंक रहेको अग्रवालको भनाइ छ।
‘‘वर्ल्डलिंक नेपालमा रहेको ब्यांक तथा वित्तीय संस्थाबाटै ऋण पाइने अवस्थाकाे कम्पनी भएकोले बाहिरबाट लिनुपर्ने छैन। त्यसैले पनि आन्तरिक लगानीबाटै सेवा विस्तार गर्दै जाने योजनाका साथ अगाडि बढिरहेका छौं,’’ अग्रवालले भने।
अग्रवालका अनुसार वर्ल्डलिंकले देशका ७३ वटा जिल्लामा सेवा पुर्याएको छ। सन् १९९५ बाट सुरु भएको वल्र्डलिंकले सेवा सुरु गरेको २५ औं वार्षिकोत्सवमा मंगलबार गरेको एक भर्चुअल कार्यक्रममा अग्रवालले नेपालमा बढ्दै गएको टिकटक प्रयोगको समस्या समाधान गर्न नेपालमै सर्भर राख्न लगाएको, अब टिकटक प्रयोग गर्दा इन्टरनेटको खपत बढेर हुने समस्या कम हुने बताए।
नेपालमा बन्दाबन्दीपछि ४० देखि ५० प्रतिशतसम्मले इन्टरनेट प्रयोगकर्ता बढेका छन्। इन्टरनेटको पहुँच र प्रयोगकर्ता बढेकोले प्राविधिक गाँठा फुकाउँदै जाने वर्ल्डलिंकका सीईओ केशव नेपालले बताए ।
कार्यक्रममा नेपालमा इन्टरनेटले आफूलाई चिनाएको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताए। उनले भने ‘‘वायरलेस इन्टरनेटको प्रयोग गर्न सिकाएकै कारण सबै नेपालीले चिनेको छन्। अहिले त्यो भन्दा पनि ठूलो उपलब्धि हासिल गर्ने गरी राष्ट्रिय आविष्कार केन्द्रले काम गरिरहेको छ।’’