सभामुख सापकोटासँग पाकिस्तानी राजदूतको विदाई भेट
नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग विदाई भेट गरेका छन्। आफ्नो चार वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका राजदूत जावेदले सभामुखको कार्यकक्ष, सिंहदरबार पुगेर सभामुख सापकोटासँग विदाई भेट गरेका हुन्।
भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगका विषयमा कुराकानी भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ।
भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानको ६० वर्ष लामो मैत्री सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद भने। उनले कोरोनाको अन्त्यपछि दुई देशका संसदबीचको सहकार्य र बाँकी रहेका अन्य विषय अघि बढ्ने विश्वास व्यक्त गरेका सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए। सभामुख सापकोटाले पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा समेत गरे।
राजदूत जावेदले दुई देशको सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै नेपालसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोगप्रति आभार व्यक्त गरे।
दुई देशबीचका संसदको सहकार्य बढाउँदै संसदीयमैत्री समूहमार्फत् गतिविधि बढाउनुपर्ने राजदूत जावेदले बताए। राजदूत जावेदले गृहमन्त्री रामबहादुर थापा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतसँग पनि विदाई भेट गरिसकेका छन्।