नारायणगढ-मुग्लिन सडक १६ घण्टादेखि अवरुद्ध
पहिरो खसेपछि गएरातिदेखि अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। ठाउँ ठाउँमा खसेको पहिरो पन्छाउन समय लाग्दा सडक १६ घण्टादेखि अवरुद्ध छ।
चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरो खसेको प्रहरीले जनाएको छ। चितवनको इच्छाकामना गाउँपालिका-६, पाँचकिलो नजिक गएराति साढे १० बजे खसेको पहिरो पन्छाएर सकिएको छैन। हिजो दिउँसो सोही ठाउँमा पहिरो खसेर अबरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको केहीबेर पछि पुनः पहिरो खसेको थियो। आज इच्छाकमनाकै चारकिलो र घुमाउनेलगायतका थप स्थानमा पहिरो खसेको छ।
पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए। “थप पहिरो खसेन भने एक/डेढ घण्टामा एकतर्फी सञ्चालन गर्न सकिन्छ होला”, प्रहरी निरीक्षक भट्टले भने। उनका अनुसार पूरै सडक सञ्चालनमा आउन भने समय लाग्नेछ।