रौतहटमा १ असोजदेखि कार्यालयहरू खुल्ने, सीमित क्षेत्रमा मात्रै निषेधाज्ञा
गत २४ साउनदेखि जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी निषेधाज्ञा १ असोदेखि खुल्ने भएको छ। जिल्लाका सरकारी कार्यालय तथा गैरसरकारी संघ संस्थाहरू १ असोजदेखि खुल्ने भएका छन्।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सबै प्रकारका कार्यालयका साथै पसल र व्यवसाय, ब्यांक तथा वित्तीय संस्थाहरू, उद्योग, कलकारखाना तथा सेवा व्यवसायहरू सञ्चालन गर्न दिने निर्णय गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।
गत २४ साउनदेखि ठप्प रहेको निजी सवारी साधन र जिल्लाभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनहरू पनि १ असोजदेखि सञ्चालन गर्ने छुट दिइएको छ।
जिल्लामा कोरोना संक्रमितहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको र संक्रमणको जोखिमको सम्भावनासमेत उच्च रहेको भए पनि दैनिक जनजीवन कष्टकर हुन नदिन निषेधाज्ञालाई खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ।
निषेधाज्ञा खुकुलो भए पनि विक्रेता तथा उपभोक्ताले स्यानिटाइजर, मास्क तथा पन्जाको प्रयोग अनिवार्य गर्नुपर्ने, मास्क नलगाई आउने उपभोक्तालाई मालसामान विक्री वितरण नगर्ने, अनिवार्य रुपमा भौतिक दूरी कायम गरी मात्र विक्री वितरण गर्ने निर्देशन पनि दिइएको छ।
बजार तथा सार्वजनिक यातायात खुले पनि विद्यालय, कलेज तथा क्याम्पसको पठनपाठन र सिनेमाघर सञ्चालनमाथिको रोक कायमै रहेको छ। यसै गरी सबै प्रकारका सभा, जुलुस लगायत सामूहिक रुपमा मनाइने सबै प्रकारका चाडपर्वहरू, मठ, मन्दिर, मस्जिद, खेलमैदान लगायत कुनै पनि सार्वजनिक स्थलमा भेला–जम्मा हुने कार्यमाथि निषेध कायम रहेको छ।
चाडपर्व नजिकिँदै जाँदा जिल्ला सतर्कतासहित निषेधाज्ञा खुकुलो बनाइएको तर सबैले सतर्क भएर दैनिक व्यवहार चलाउनु पर्ने अवस्था रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष धर्मेन्द्रकुमार सिंहले जानकारी गराएका छन् ।
रौतहटका छिमेकी जिल्लाहरू बारा र सर्लाहीमा भने निषेधाज्ञा खुकुलो भइसकेको छ। रौतहटमा पनि दिनदिनै जनजीवन सामान्य हुँदै गएको देखिएको छ।