व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने मागसहित शैलून सञ्चालक र ब्युटिसियनहरू सडकमा
स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै सौन्दर्य कला व्यवसायी र शैलून सञ्चालकहरू प्रदर्शनमा उत्रिएका छन्। कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि ६ महीनादेखि यी व्यवसाय सञ्चालनमा छैनन्। सरकारले बन्दाबन्दी अन्त्यको घोषणा गरेपनि शैलून, ब्युटिपार्लर, मसाजलगायतका व्यवसाय पुनः सञ्चालन गर्न दिइसकेको छैन।
व्यवसाय सञ्चाल गर्न पाउनुपर्ने माग राख्दै सौन्दर्य कला व्यवसायी संघ आवद्ध ब्युटिसियनहरूले आज काठमाडौंको माइतीघर मण्डलमा पुगेर धर्ना दिए। नेपाल नाइ ट्रेड युनियन केन्द्रीय समिति, नेपाल नाइ संघ जिल्ला समिति ललितपुर र अखिल नेपाल राष्ट्रिय नाइ महासंघ आवद्ध शैलून व्यवसायीले पनि ललितपुरको जाउलाखेल चोकबाट र्याली निकालेर माइतीघर मण्डलमा पुगेर धर्ना दिएका छन्।
कोरोना भाइरस महामारीका कारण लामो समयदेखि सौन्दर्य कला व्यवसाय बन्द हुँदा भोकै बस्न परिरहेकोले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उनीहरूको माग छ। “यही व्यवसायमा आश्रित परिवार रोगले होइन भोकले मर्ने अवस्था आएपछि सडकमा निस्कन बाध्य भएका हौं”, सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले भनिन्।
स्वास्थ्य मापदण्ड कायम गरी व्यवसाय सञ्चालन पाउनुपर्ने, कर छुट दिनुपर्ने, निःशुल्क रूपमा पीपीई सेट उपलब्ध गराउनुपर्ने, राहत पाउनुपर्ने लगायत उनीहरूको माग छ। “हामी भोकै मर्नुभन्दा अब राज्यले नै गोली हानेर मारोस्, हामी मर्न तयार छौं”, नेपाल नाइ ट्रेड युनियका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले भने।
‘सौन्दर्य व्यवसायीहरूको धैर्यताले सीमा नाघ्यो, कि व्यवासय सञ्चालन गर्न देऊ कि राहतको व्यवस्था गर’, ‘कोरोनाले भन्दा भोकले मर्ने डर भयो’, ‘सौन्दर्य व्यवसाय धरासायी बनाउन पाइँदैन’, ‘देशभरका सबै शैलून र पार्लर खोल्ने घोषणा गर’ लगायतका नारासहितका प्लेकार्ड बोकेर व्यवसायीहरू प्रदर्शनमा उत्रिएका हुन्।
सौन्दर्य कला व्यवसायी संघका अनुसार नेपालमा करीब चार लाख सौन्दर्य व्यवसाय सञ्चालनमा छन्। संघले सोमबार ब्युटीपार्लर तथा ब्युटी शैनलूनहरू सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापन पत्र बुझाएको थियो।