अर्बन गर्लः विद्यार्थीले शुरु गरेको व्यवसायमा ५० जनालाई रोजगारी
शहरका युवतीलाई गहना बेच्ने उद्देश्यले १० वर्षअघि स्नातक तेस्रो वर्षमा अध्ययनरत दुई युवाले रु.१० हजारमा खोलेको अनलाइन व्यवसाय ‘अर्बन गर्ल’मा अहिले ५० जनाले रोजगारी पाएका छन्।
निकिता आचार्य २०६८ सालमा स्नातक तेस्रो वर्षमा अध्ययनरत थिइन्। अन्तर्राष्ट्रिय ई–कमर्श वेबसाइटहरुबाट प्रभावित भएर उनले केही नयाँ गर्ने सोच बनाइन्। अनि साथी किरण तिम्सिनासँग मिलेर रु.१० हजारको लगानीमा शुरु गरिन्, ‘अर्बन गर्ल’ अनलाइन व्यवसाय।
उनी भन्छिन्, “इन्टरनेसनल ई–कमर्श धेरै हेर्थें। गज्जब लाग्थ्यो। नेपालमा ई–कमर्शबारे जानकारी खोज्दा खासै पाइनँ। अनि दुई जना मिलेर अर्बन गर्ल शुरु गर्याैं।” शुरुमा उनीहरुले आफ्नै उमेर समूहकालाई लक्षित गरेर गरगहना बेच्न थाले। लक्षित समूहमा अर्बन गर्ल लोकप्रिय हुँदै गयो। त्यसपछि मेकअप, घरायसी साजसज्जा र इलेक्ट्रोनिक्स सामान बेच्न थाले।
निकिता भन्छिन्, “१८ देखि ३० वर्षका युवतीलाई लक्षित सामग्री बेच्न थालेकाले त्यसका लागि सुहाउँदो नाम अर्बन गर्ल राखेका थियौं।” अहिले उनीहरुको व्यवसाय फराकिलो भइसकेको छ। बानेश्वरमा कार्यालय रहेको अर्बन गर्लले अरु धेरै सामग्री बेच्न थालेको छ।
अर्बन गर्लले छोटकरी नाम यूजी राखेर ई–कमर्शको दायरा बढाउँदै लगेको छ। व्यवसाय शुरु गरेको दुई वर्षपछि नै ‘युजी केक’ शुरु गरेको थियो। शुरुमा अन्य बेकरीबाट केक लिएर ग्राहकको माग पूरा गरिरहेको थियो। यूजी केक शुरु भएको दुई वर्षपछि आफ्नै उत्पादन शुरु गर्यो।
अर्बन गर्लको संस्थापकद्वय निकिता आचार्य र किरण तिम्सिना फोर्ब्सको सूचीमा एशियाका ३० वर्षमुनिका ३० ‘सामाजिक उद्यमी’ भित्र पर्न सफल भए।
यूजी केकले अर्बन गर्लको लोकप्रियतालाई बढायो। जन्मदिन वा वार्षिकोत्सव मनाउन मात्रै नभएर साथीभाइ भेट्दा वा छुट्दा केक काट्ने प्रचलन बढ्दाे छ। त्यही कारण यूजी केकको माग पनि बढेको छ। अहिले काठमाडौं बाहिर पोखरामा समेत यूजी केकको शाखा विस्तार भएको छ।
अर्बन गर्लको संस्थापकद्वय निकिता आचार्य र किरण तिम्सिना फोर्ब्सको सूचीमा एशियाका ३० वर्षमुनिका ३० ‘सामाजिक उद्यमी’ भित्र पर्न सफल भए। यसले काम गर्न उत्साह थपेको उनी बताउँछिन्।
अर्बन गर्ल अहिले सोसल ई–कमर्स प्लेटफर्मको रुपमा अपग्रेड भएको छ। अब अर्बन गर्लले ‘यूजी बजार’ नाममा आफ्नो मोबाइल एप र वेबसाइट थालेको छ। निकिताका अनुसार यूजी बजारको ई–कमर्स सात मोड्युलमध्ये एक हो। त्यसबाहेक अक्सन अफर, एचआर, अटोमोबाइल, सोसियल ई–कमर्श, क्वीज कन्टेस्ट र टिकेट प्लेटफर्म मोड्युल हुन्।
ई–कमर्श एपले आफ्ना प्रयोगकर्तालाई आपसमा जोड्ने निकिताको भनाइ छ। यो एपमा अटोमोबाइल, कन्टेस्ट फिचर, क्वीज मोड्युल, सोसल कनेक्सन, अफर र बिडिङ, एचआर मोड्युल, ई–कमर्श फिचरहरु छन्। यसमध्ये एचआर मोड्युल सार्वजनिक हुन बाँकी छ।
अर्बन गर्लको प्रमुख कार्यकारी अधिकृत (सीईओ) निकिता हुन्। यूजी बजारको सीईओ अर्बन गर्लकै सह–संस्थापक किरण तिम्सिना हुन्। यूजी बजारमार्फत कम्पनीले ग्राहकको घरैमा सेवा पुर्याउँछ। खाद्य, मनोरञ्जन मात्र नभएर घरपरिवारलाई चाहिने सबै सामग्रीको आपूर्ति यूजी बजारबाटै हुने निकिताले बताइन्। यो कम्पनीमा हाल ५० जनाभन्दा बढीले रोजगारी पाएका छन्।
व्यवसाय फैलाउन उनीहरुले छुट्टै लगानी थपेका छैनन्। बरु त्यही व्यवसायबाट भएको कमाइलाई खर्च गरिरहेको उनीहरु बताउँछन्। बन्दाबन्दीअघि जस्तो नभए पनि अहिले व्यवसाय भने चलिरहेको निकिता बताउँछिन्। उनीहरुले ‘होम डेलिभरी’ सेवा दिइरहेका छन्।
तर, होम डेलिभरी हुँदा पनि कोरोनाभाइरस संक्रमण बढ्ने भन्दै गएको ११ भदौमा यस्ता व्यवसायीलाई सरकारले धरपकड गर्याे। निकिता पनि पक्राउ परिन्। उनलाई कम्पनीबाटै पक्राउ गरिएको थियो। पछि होम डेलिभरी नगर्ने शर्तमा छाडियो।
सरकारले ‘होम डेलिभरी’ सेवा नबुझेर रोक लगाएको निकिताको भनाइ छ। विश्वभरि नै महामारीका वेला होभ डेलिभरीलाई प्रोत्साहन गरिएको छ। उनी भन्छिन्, “हामी आफ्नै र हाम्रो ग्राहकको स्वास्थ्यप्रति गम्भीर र सचेत छौं। स्वास्थ्य सम्बन्धी सबै मापदन्ड पुर्याएर सेवा दिइरहेको वेला सरकारले रोक्यो।”
सरकारकै कारण समस्या
नेपालमा ई–कमर्शका लागि चुनौतीका पहाडै पहाड देख्छिन्, निकिता। उनी भन्छिन्, “अन्य समस्या त छन् नै, सरकार नै ई–कमर्श बुझ्दैन। सबैभन्दा ठूलो समस्या नै त्यही हो।”
“अन्य समस्या त छन् नै, सरकार नै ई–कमर्श बुझ्दैन। सबैभन्दा ठूलो समस्या नै त्यही हो।”
ई–कमर्शको महत्व बुझेका राष्ट्रहरुले यसमा लाग्ने युवालाई प्रोत्साहन स्वरुप लगानी गरिदिने, कर छुट दिने गरे पनि नेपालमा भने उल्टै दुरुत्साहन भइरहेको उनी बताउँछिन्। ई–कमर्शबारे स्पष्ट नीति नबन्दा पनि समस्या भएको छ।
बन्दाबन्दीले भने ई–कमर्शको महत्व धेरै बढाएको उनको अनुभव छ। तर, नेपालमा ई–कमर्श काठमाडौँ उपत्यकामा मात्रै सीमित भएको उनी बताउँछिन्। काठमाडौँ बाहिर केही मुख्य शहरमा कम संख्यामा मात्र यस्तो व्यवसाय शुरु भएको उनको भनाइ छ।
आजका धेरै युवालाई समेत ई–कमर्शको ज्ञान नभएको उनको बुझाइ छ। उनी भन्छिन्, “अधिकांश युवाहरुको हातमा स्मार्ट फोन छ। तर, त्यसको उपयोगबारे अध्ययन गर्ने हो भने केवल मनोरन्जनका लागि मात्रै प्रयोग गरेको पाइन्छ।”
तर, उनी आशावादी छिन्। नेपालमा ‘डिजिटल लिट्रेसी’ बढाउनुपर्ने र त्यसको लागि सक्षम युवाहरुको सहयोग लिनुपर्ने उनको भनाइ छ। उनी भन्छिन्, “डिजिटल लिट्रेसी बढ्ने बित्तिकै ई–कमर्शको दायरा बढेर जान्छ ।”