बन्दाबन्दीमा गिट्टी बिक्न छाडेपछि खोसियो गाँस
कैलालीको गोदावरी नगरपालिका वडा नं. ९को खुटिया नदीमा अहिले पनि गिट्टी कुट्नेहरुको भीड हुन्छ। तर, बन्दाबन्दीपछि गिट्टी नबिक्दा उनीहरु चिन्तित छन्।
गोदावरी–९ मल्मीकी ७० वर्षीया वृद्धा पारु साउद अहिले पनि गिट्टी कुटिरहेकी भेटिन्छिन्। तर, बन्दाबन्दीपछि गिट्टी बिक्नै छाड्दा उनको गाँस काटिएको छ।
उनी बन्दाबन्दी खुलेपछि निर्माणका काम शुरु हुन्छ र गिट्टी बिक्छ भन्ने आशामा छिन्। “कोरोना भन्ने रोगले त गाँसै खोसिदिएको छ। भोलिपर्सी भए पनि बिक्ला भनेर गिट्टी कुट्न छाडेको छैन”, उनी भन्छिन्।
छोरा बुहारी रोजगारीको शीलशीलामा प्रायः भारततिरै हुन्छन्। उनको आम्दानीको श्रोत नै गिट्टी बिक्री हो। सरकारले बन्दाबन्दीको वेला सोधपुछ गर्नुबाहेक राहत नदिएको उनी बताउँछिन्।
उनी खुटिया नदी छेउमै बनाएको झुपडीमा बस्छिन्। एक महीनामा दुईदेखि तीन घनमिटर गिट्टी कुट्छिन्। बन्दाबन्दीमा एक घनमिटर गिट्टी रु.१२ सयमा बेचेको उनी बताउँछिन्। त्यसबाहेक अरु गिट्टी बिकेको छैन। बन्दाबन्दीअघि भने एक घनमिटरको रु.१८ सयमा बेच्थिन्।
अहिले महङ्गी ह्वात्तै बढे पनि आफूले कुटेको गिट्टीको मूल्य घटेकोमा उनी चिन्तित छिन्। रोगको बहानामा आफ्नो गाँस खोस्ने काम भएको उनको गुनासो छ। तर, गिट्टी कुट्नेबाहेक आफूले अन्य काम नजानेको बताउँछिन्।
“खेति हुनेले रोपाइँ गरे, तर मसँग घरबाहेक जग्गा छैन। बन्दाबन्दीमा एक दुई पटक पुलिसले ‘महामारीको वेलामा पनि किन गिट्टी कुटेको?’ भनेर सोधे। नकुटे खान पाइँदैन भनेर काम जारी राखेँ”, उनी भन्छिन्।
उनी भदौदेखि नै वृद्धभत्ता पाउँदैछिन्। “भत्ता पाएपछि यति धेरै मेहनत गर्न नपर्ला कि!” उनी भन्छिन्।
खुटिया नदीमा गिट्टी कुट्ने उनी एक्ली होइनन्। नदीको छेउमा गिट्टी कुट्न मल्मीबासीहरुको मेला नै लाग्छ। वृद्धदेखि बच्चासम्म ले यहाँ गिट्टी कुट्ने गरेको ३५ वर्षीया भावना श्रीमाल बताउँछिन्।
घामपानी नभनी दिनभरि गिट्टी कुटेर परिवारको खर्च धान्दै आएको उनी बताउँछिन्। “बिहानको उज्यालोसँगै डोको र हथौडा समातेर ढुङ्गा खोज्न नदी जान्छु। बिहान र साँझ ढुङ्गा बटुलेर दिउँसो कुट्ने गरेको छु”, उनी भन्छिन्, “गिट्टी बेचेर नै नुन, तेल, चामल जोहो गर्छु।”
उनकी १३ वर्षीया छोरी विमला पनि गिट्टी कुट्न सघाँउछिन्। स्कुल लागेको वेला विमला बिहान ढुङ्गा बटुलेर पढ्न जान्छिन्। साँझा घरको काम गर्छिन्।
उनका श्रीमान् कामका लागि भारत जान्थे। बन्दाबन्दीपछि भने नेपालमै छन्। बन्दाबन्दीमा उनीहरुले सात घनमिटर गिट्टी कुटिसकेका छन्। तर, किन्नलाई कोही पुगेको छैन। उनको गुनासो पनि उस्तै छ, “पहिला रु.१८ सय प्रति घनमिटर बिक्थ्यो। अहिले १२ सयमा पनि किन्न मानिराखेका छैनन्।”
केही वर्षयता ठाउँ–ठाउँमा क्रेसर सञ्चालन भएको हुँदा धेरैले त्यतैबाटै गिट्टी खरिद गर्ने गरेको उनीहरु बताउँछन्। क्रसरकै कारण आफूहरुको पेसा संकटमा पर्न थालेको उनीहको भनाइ छ।
गोदावरी नगरपालिकाकी उपमेयर रत्ना कडायतले दैनिक मजदुरी गरेर खाने परिवारलाई नगरपालिकाले थोरै भए पनि राहत दिएको दाबी गरिन्। नगरपालिकाले कार्यविधि बनाएर राहत वितरण गरेको उनको भनाइ छ।