प्रदेश-२ को कोरोना विशेष अस्पतालमै आधारभूत सुविधा अभाव, भद्रगोल व्यवस्थापन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितहरूको संख्या ५५ हजार ३२९ पुगेको छ।यीमध्ये १५ हजार ३९३ जना सक्रिय संक्रमित छन्, भने ३६० जनाको मृत्यु भइसकेको छ।
२९ भदौसम्म कुल सक्रिय संक्रमितमध्ये २०८ जनाको आईसीयू र भेन्टिलेटरमार्फत उपचार भइरहेको छ। उनीहरू कोरोनाका सिकिस्त बिरामी हुन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार प्रदेश–२ मा सक्रिय संक्रमितको संख्या एक हजार ९८७ छ। तर प्रदेश–२ कोरोना विशेष अस्पतालमा अझैं पनि पर्याप्त जनशक्ति, सरसफाई लगायतको आधारभूत सुविधाको अभाव छ भने अस्पतालको व्यवस्थापन भद्रगोल अवस्थामा छ।
प्रदेश–२ कोरोनाको हटस्पटको रुपमा चिनिन्छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार २९ भदौसम्म प्रदेश–२ मा मात्र ११९ जनाको मृत्यु भइसकेको छ।
कोरोना संक्रमितको मृत्युको कारण उनीहरूको जटिल स्वास्थ्य अवस्थासँगै उपचारका लागि चाहिने सेवा तथा सुविधा पनि कारक देखिएको छ।
२८ भदौमा वीरगञ्ज महानगरपालिका–१० घर भएकी किरणदेवी कर्णको गण्डक अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण मृत्यु भयो।
१२ भदौमा श्वासप्रश्वासमा समस्या भएकी उनलाई २२ भदौमा गण्डक अस्पतालले कोरोना परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।
फोक्सोमा समस्या देखिएकी उनलाई निरन्तर अक्सिजन चाहिन्थ्यो। तर २२ भदौ राति ११ बजे अक्सिजन दिएपछि २ बजे अक्सिजन दिन स्वास्थ्यकर्मी नआएका कारण उनको मृत्यु भएको आफन्तको आरोप छ।
राति दुई बजे अक्सिजन दिन स्वास्थ्यकर्मी नआएपछि उनको अक्सिजनको अभावमा तीन बजे राती ज्यान गएको आफन्तहरू बताउँछन्।
अस्पतालमा उपचाररत बिरामीहरूका अनुसार त्यहाँ सरसफाईको राम्रो व्यवस्था छैन भने भएका पल्स मिटर र एसी चल्दैनन्।
गएको शुक्रबार राती अस्पतालको आईसीयूमा रहेको ट्वाइलेटको धारा फुटेपछि त्यहाँको फोहोरसहितको पानी बिरामीको उपचार भइरहेको एनआईसीयू, आईसीयू र क्याबिनको भुँईभरी भएको थियो।
निजी अस्पताल गण्डक सरकारले तोकेको कोरोना विशेष अस्पताल हो। जहाँ कोरोना संक्रमितको उपचारका लागि चाहिने आधारभूत र अत्यावश्यक सेवा सुविधाहरू हुनैपर्ने स्वास्थ्य मन्त्रालयको व्यवस्था छ। यस्तै, संक्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक पूर्वाधारको व्यवस्था गरिनुपर्छ।
अस्पताल व्यवस्थापनको जिम्मा पाएका नारायणी अस्पतालका डा. उदय नारायण सिंह किरणदेवीको मृत्युको कारण अक्सिजन अभाव नभएको बरु उनको स्वास्थ्य नै जटिल बनेका कारण मृत्यु भएको बताउँछन्।
तर डा. सिंहले अस्पतालमा जनशक्ति र बजेट अभाव भएको, सरसफाईको कमी भएकोे र आईसीयू कक्षमा भएका एसी बिग्रिएको स्वीकारे। “डाक्टर तथा स्वास्थ्यकर्मीहरू संक्रमणको डरले ढुक्क भएर काम गर्नसक्नु भएको छैन”, उनले भने, “हामीलाई यहाँ काम गर्ने क्रममा कतै मनोबल बढाउने गरिको हौसला प्रेरणा पनि छैन।”
डा. सिंहले वीरगञ्ज महानगरपालिकाले दुई महिनादेखि दिनुपर्ने आर्थिक अनुदान नदिएको र नारायणी अस्पतालबाट पर्याप्त जनशक्ति उपलब्ध नगराएकाले अस्पतालको व्यवस्थापनमा समस्या परेको र त्यसको असर उपचारमा पनि परेको बताए।
गण्डक अस्पतालमा चार जना चिकित्सक, पारामेडिक्स, स्टाफ नर्स र अहेब गरी १२ जना र सहयोगी कर्मचारीसहित ३५ जनशक्ति छन्। अस्पतालमा थप तीन जना पारामेडिक्स, तीन जना स्वीपर र तीन जना मेडिकल आफिसर आवश्यक परेको डा. सिंहले बताए।
“अस्पतालमा बिरामी चाप बढीरहेको छ। तर ड्युटीमा एक जना मात्र स्वीपर हुन्छन्”, डा.सिंहले भने, “तिनै स्वीपरले पनि अक्सिजन सिलिन्डर बोक्ने र बिरामीका लागि खाना पकाउने काम गर्दागर्दै थाक्छन्। आफ्नो सरसफाईको काम गर्न पाउँदैनन्।”
गण्डक अस्पतालले दिइरहेको सेवाका बारेमा अनुगमन गर्ने जिम्मा वीरगञ्जको नारायणी अस्पतालको हो। तर अनुगमन फितलो भएकाले र महानगरपालिका तथा नारायणी अस्पतालबाट आवश्यक सहयोग नपाएपछि गण्डक अस्पतालको व्यवस्थापन भद्रगोल बनेको छ। अस्पतालमा ४० जना कोरोना संक्रमितको उपचार भइरहेकोमा ७ जना आईसीयूमा उपचाररत छन्।
आईसीयू तथा संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी सरकारले कोरोना विशेष भनेर बनाएका अस्पतालहरूमा जनशक्ति र अन्य आधारभूुत सेवाहरूको व्यवस्थापन गर्नुपर्ने बताउँछन्। डा. अधिकारीले यसो नगरे उपचार गर्न आउने बिरामी अस्पतालभित्रको संक्रमण र अव्यस्थाका कारण ज्यान गुमाउन बाध्य हुने बताए।