५ असोजदेखि आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने
सरकारले आउँदो ५ असोजदेखि आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाभाइरस संक्रमणको महामारी शुरु भएपछि ठप्प भएका हवाई तथा सडक दुवै यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। ५ असोजदेखि हवाई उडानसँगै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले हिमालखबरलाई बताइन्।
गएको चैत दोस्रो साता देशव्यापी बन्दाबन्दी शुरु गरिएपछि आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात ठप्प भएका थिए।
यसअघि सरकारले २५ भदौखि छोटो दूरीको यातायात जोर बिजोर प्रणालीअनुसार खुला गरेको थियो।
यातायात व्यवसायीहरुले ११ चैतदेखि शुरु बन्दाबन्दी र निषेधाज्ञाका कारण व्यवसाय नै थला परिसकेको भन्दै १ असोजदेखि लामो दूरीमा गाडी चलाउने घोषणा गरेका थिए।
त्यसपछि सरकार र यातायात व्यवसायीहरूबीच भएको छलफलबाट कोरोना संक्रमण रोकथामका उपायहरू अपनाएर यातायात सञ्चालन गर्ने निष्कर्षमा सरकार पुगेको हो।