वाङमय संरक्षणमा उदासीन स्थानीय तहहरू
प्रदेश २ का स्थानीय तहहरू वाङमय संरक्षण, सम्वद्र्धन तथा विकासमा उदासीन देखिएका छन्। स्थानीयताको पहिचानको आधारको रुपमा रहेको स्थानीय वाङमयको संरक्षण, सम्बर्द्धन तथा विकासमा पहिचानवादीहरू समेत सक्रिय हुन सकेका छैनन्।
भाषा र संस्कृतिलाई पहिचानको आधार मानेर वाङमयको क्षेत्रमा पहिचान खोजेका दलको नेतृत्व रहेका पालिकाहरूमा समेत वाङमय संरक्षणको पक्ष कमजोर रहेको पाइएको छ।
स्थानीय भाषा, साहित्य र संस्कृतिको संरक्षणको लागि कतिपय पालिकाले पालिकासभाबाट ऐन पारित गरे पनि कार्यान्वयनमा ल्याउन सकेका छैनन्। प्रदेश २ का कुनै पनि पालिकामा वाङमय संरक्षणको लागि प्रतिष्ठान गठन हुन नसकेबाट वाङमयप्रति स्थानीय तहहरू उदासीन रहेको प्रमाणित भएको हो।
गत वर्ष पर्साको वीरगंज महानगरपालिकाले भोजपुरी प्रतिष्ठान ऐन पारित गरेको थियो। तर प्रतिष्ठान गठन हुन सकेको छैन। प्रतिष्ठान गठनतर्फ खासै पहल हुन नसकेको अवस्थामा कोरोनाको कारणले अझ पछाडि धकेलिएको छ।
बाराको महागढीमाई नगरपालिकाले भोजपुरी बौद्धिक समाजलाई वर्षेनी दुई लाख रुपैया उपलब्ध गराउँदै आएको छ तर प्रतिष्ठान गठनतर्फ खासै चासो देखाएको छैन। भोजपुरी बौद्धिक समाजले भने वर्षेनी भोजपुरी स्रष्टालाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ।
रौतहटको गरुडा नगरपालिकाले बज्जिका भाषाको विकासमा लगानी गर्दै आएको छ तर वाङमय प्रतिष्ठानको लागि कुनै पहल गरेको पाइँदैन। बज्जिका साहित्य संगम रौतहटमार्फत भाषा र साहित्यको क्षेत्रमा अलिकति लगानी गरेको संगमका अध्यक्ष श्याम सहनी चन्द्रांशुले बताए।
सर्लाहीको लालबन्दी नगरपालिकाले केही महिना पहिले लालबन्दी वाङमय परिषद् गठन गर्ने ऐन नगरसभाबाट पारित गरेको छ। निरन्तरको निषेधाज्ञा र बन्दाबन्दीले गर्दा प्राज्ञसभा र परिषद् गठनको प्रक्रिया अवरुद्ध भएको ऐन निर्माणमा सक्रिय साहित्यकार सुमन घिमिरे अग्रिमले जानकारी गराए।
नगर उपप्रमुख शान्ति लामा आफैँ पनि साहित्यकार भएको हुनाले वाङमय परिषद् ऐन पारित गराउन सजिलो भएको गोलसिमल साहित्यिक मासिक पत्रिका लालबन्दीका प्रकाशक तथा सम्पादक अच्युत अधिकारीको भनाइ छ। परिषद् गठन गर्न वर्तमान कोरोनाबाहेक अन्य कुनै समस्या नभएको र केही दिनमै परिषद् गठनका साथै केही पुरस्कार स्थापनाको घोषणा पनि हुने अधिकारीको भनाइ छ।
आधाभन्दा बढी कार्यकाल सकिए पनि प्रदेशमा पालिकास्तरीय वाङमयको छुट्टै संस्था एउटा पनि गठन नहुनु समग्र वाङमयप्रतिको उदासीनता भएको भाषासेवी तथा साहित्यकार सञ्जय सुदामाको भनाइ छ।