बन्दाबन्दीः हुनेलाई बिदा, नहुनेलाई जेलभन्दा कठोर !
यतिबेला काठमाडौंको सतुङ्गलस्थित हिरा इँटा उद्योग सुनसान छ । बन्दाबन्दी नहुँदा यो क्षेत्र एकदमै व्यस्त हुन्थ्यो । आँखाले भ्याएसम्मको दूरीमा इँटा भट्टाले निकालेकाे धुवाँको कालो मुस्लो देख्न सकिन्थ्यो।
यो इँट्टाभट्टा उद्योग वरिपरि साना एककोठे इँटाका टहरा छन्, जहाँ कामदारहरु बसोबास गर्छन् । यी घरहरु साँघुरा र पर्याप्त प्रकाश नै नछिर्ने खालका छन् ।
जमुना रोक्का (२६) आफ्नी २८ महीने छोरीसँग यहींको एक टहरोमा बस्छिन् ।
रोक्का इँटा उद्योगमा काम गर्थिन् तर अहिले बेरोजगार छिन् । इँटा उद्योगको लागि बर्खामा काम नहुने भएकाले त्यसअघिकाे सकेजति काम गर्ने र पछिका लागि खर्च जोहो गर्ने उनको ध्याउन्न थियो । तर, कोरोनाभाइरसको महामारीका कारण भएको बन्दाबन्दीले उनलाई पिरोल्यो ।
इँटाभट्टामा काम नभएपछि अहिले उनलाई छटपटी भएको छ । बन्दाबन्दीमा साहुले पछि तलबमा कटाउने गरी केही पैसा दिए तर यसले आफ्नाे समस्या धान्न सक्ने भएन ।
रोक्काका श्रीमान सागरले पनि महामारी शुरु भएपछि साउदी अरबमा वेटरको जागिर गुमाए । तर, ऋण काढेर साउदी पुगेका उनलाई साहुलाई तिर्ने पैसा जम्मा नगरी फर्कने विकल्प छैन । त्यसैले पनि उनी महामारीमा घर फर्कन सकेका छैनन् ।
“यतिबेला म आफ्नो गाउँ जान सक्दिनँ” रोक्का भन्छिन्, “केही गरी म गाउँ पुगें नै भने पनि साहुकारहरु पैसा माग्न आइहाल्छन् ।”
रोक्कालाई आशा छ, बन्दाबन्दी र निषेधाज्ञाजस्ता प्रतिबन्धहरु चाँडै हट्नेछ र दशैंपछि उनी पुनः आफ्नो काम शुरु गर्न पाउनेछिन् ।
“खर्चले धान्न सक्ने मान्छेका लागि यस्तो बेला घरमै बस भन्ने आदेश बिदा पनि हुनसक्छ” रोक्का भन्छिन्, “तर हामी जस्ता दुःखीका लागि जेल भन्दा पनि गाह्रो हो, जेलमा खान त पाइन्छ !”