विराटनगर महानगरका कर्मचारीमा कोरोना देखिएपछि मेयर र उपमेयर क्वारेन्टिनमा
विराटनगर महानगरका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरपालिकाका पदाधिकारीलगायत अधिकांश कर्मचारीहरू क्वारेन्टिनमा बसेका छन्।
प्रमुख प्रशासकीय अधिकृत, मेयरका चालक, स्वास्थ्यकर्मीका चालक, नगर प्रहरी, कर्मचारी कोरोना संक्रमित भएकाले महानगर संचालन गर्ने अधिकांश ब्यक्ति क्वारेन्टीनमा बसेका हुन्।
प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल संक्रमित भएको २८ भदौमा पुष्टि भएपछि मेयर भिम पराजुली, उपमेयर इन्दिरा कार्की, स्वास्थ्य संयोजक रमेश कार्की, जनस्वास्थ्य निरीक्षक हैदर अली, मेयरका सचिवालयका सदस्य, अंगरक्षक, चालकहरूको पीसीआर परिक्षण गरिएको थियो। मेयरका चालकलाई पनि संक्रमण पुष्टि भएपछि महानगर चलाउने सबै क्वोन्टिनमा बसेका हुन्।
उनीहरू विराटनगर मेनरोडस्थित जैन भवनमा क्वारेन्टिन बसेका छन्। “रिपोर्ट त नेगेटिभ आइसक्यो तर, तुरुन्तै परिक्षण गरिएकाले नदेखिएको पनि हुनसक्छ”, मेयर पराजुलीले भने, “बुधबार पुनः परिक्षण गरेर मात्रै घर जान्छु।”
घरमा ८५ वर्षीया आमा र ३ वर्षीया छोरी भएकाले पनि होम क्वारेन्टिन बस्न नसकेको उनले बताए। उपमेयर कार्की भने होम क्वारेन्टिनमा नै बसेकी छन्।
प्रमुख प्रशासकीय अधिकृत पोखरेल क्वाटरमै आइसोलेसनमा बसेका छन्। मेयरका चालक र स्वास्थ्यकर्मीका गाडी चलाउने अन्य दुई चालक, नगर रक्षक, कर्मचारी मारवाडी सेवा सदनमा आइसोलेसनमा छन्। २८ भदौदेखि २ दिन कार्यालय नगएका मेयर पराजुलीले फोनबाट महानगरको काम गर्न आफू गएर गरे जस्तो सजिलो नभएको बताए।
कोरोनाको संक्रमण तिब्र गतिमा विराटनगरमा फैलन थालेपछि महानगरपालिकाले गत साउनमा बन्दाबन्दी घोषणा गरेको थियो। मोरङ प्रशासनले तीन साता निषेधाज्ञा लगाएर खुल्ला गरेपनि बेलुका ७ बजेपछि कडाई गरेकाले महानगरले पुनः बन्दाबन्दी घोषणा गर्नु नपरेको पराजुली बताउंछन्। भदौको पहिलो साता विराटनगरका आइसोलेसन भरिएर ६ सय बढी संक्रमित घरमै बसेका थिए।
अहिले संक्रमण दर घट्दै गएकाले पहिलेको जस्तो समस्या नभएको बताउंदै उनले हाल ३ सय बढी संक्रमित मात्रै घरमा रहेको जानकारी दिए।