विदेशबाट फर्केका नेपालीको अनुभव- 'विमानस्थलमा भद्रगोल व्यवस्थापन, नराम्रो व्यवहार'
नियमित र चार्टर्ड उडानमा विदेशबाट फर्कने नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले गरिरहेको व्यवस्थापन भद्रगोल रहेको र व्यवहार राम्रो नभएको बताएका छन्।
विभिन्न देशबाट नियमित र चार्टर्ड उडानमा फर्केका नेपालीहरुलाई त्रिभुवन विमानस्थलदेखि प्रदेशगत होल्डिङ सेन्टरसम्म पुर्याइन्छ र उनीहरुको तथ्यांक राखिन्छ। यो कामको जिम्मा नेपाली सेनाले पाएको छ।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सात प्रदेशका सात वटा होल्डिङ सेन्टर छन्। विदेशबाट आएका नेपालीलाई उनीहरूको स्थायी ठेगानाको आधारमा विमानस्थलबाट ती होल्डिङ सेन्टरसम्म पुर्याई लगत संकलन गरेर छाडिन्छ। पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुलाई होल्डिङ सेन्टरबाट छाडिन्छ भने पीसीआर रिपोर्ट नलिई आएकाहरूलाई होटल क्वारेन्टिनबाट सम्बन्धित प्रदेश र स्थानीय तहकै क्वारेन्टिनमा पठाइन्छ।
रूपन्देहीको रूद्रपुर स्थायी ठेगाना भएका लेखनाथ पौडेल २२ भदौको बिहान करीब साढे ८ बजे काठमाडौं विमानस्थलमा उत्रेका थिए। नेपाली सेनाको व्यवस्थापन राम्रै होला भन्ने ठानेका उनलाई शुरूमै दाँतमा ढुङ्गो लागे जस्तो त्यतिवेला भयो, जब केही सैनिक जवानहरु यात्रु विमानबाट झरेपछि धावनमार्गदेखि टर्मिनल भवनसम्म पुर्याउने बसमै केही 'विशेष' यात्रुको खोजीमा लागे।
चार्टर्ड उडान मात्रै भइरहेकोमा मन्त्रिपरिषद्ले नियमित व्यावसायिक उडान पनि गर्ने निर्णय गरेपछिको पहिलो उडानमा युरोपबाट दोहा हुँदै कतार एअरवेजबाट उनी काठमाडौं उत्रिएका थिए। "विमानबाट झरेदेखि नै समस्या भयो। हप्कीदप्की र भेडाबाख्रालाई जस्तो व्यवहार गरे। विमानस्थलभित्र पनि लथालिङ्ग थियो। व्यक्तिगत दूरी कायम गराउनेबारे पनि कसैलाई ध्यानै थिएन" पौडेलले हिमालखबरसँग भने, "रेकर्ड लिने, तथ्यांक राख्ने सबै काम लथालिङ्ग थियो। विमानस्थलबाट होल्डिङ सेन्टरसम्म जाने क्रममा अझ अव्यवस्थित देखियो। बसभित्र वृद्धवृद्धालाई लगेज राख्न सघाउनुको साटो सेनाका जवानहरू आफ्ना 'विशेष यात्रु' का लागि सिट व्यवस्थापनमा खटिएको देखिन्थे।"
नेपालको परराष्ट्र सम्बन्ध र सुरक्षा मामिलामा पनि कलम चलाइरहने पौडेल नेपाली सेनालाई नागरिकसँग कस्तो व्यवहार गर्ने भन्ने तालिम र जानकारीको अभाव भएकाले आफूहरूले हप्काइ भेटेको हुनसक्ने बताउँछन्। "सेनाको व्यवस्थापन छ भन्ने सुनेदेखि नै राम्रो होला भन्ने परेको थियो, तर काठमाडौं झरेपछि ठ्याक्कै उल्टो पाएँ" उनले भने, "जनसम्पर्क नभएकाले पनि हुनसक्छ, व्यावसायिकता पटक्कै देखिएन। केही व्यक्तिलाई विशेष र अरूसँग रूखो व्यवहार गरे।"
विमानस्थलको अव्यवस्थाबारे टिप्पणी गर्ने पौडेल एक्लो होइनन्। काठमाडौंको बानेश्वरका पुरूषोत्तम मुडभरीको अनुभव पनि यस भन्दा फरक छैन। त्यही उडानमा न्यूयोर्कबाट आएकी छोरी अलिशालाई लिन विमानस्थल पुगेका पुरूषोत्तम भन्छन्, "सही सूचनाको अभावले गर्दा त्यस दिन धेरै दु:ख पायौं, विमानबाट उत्रिएपछि 'इमिग्रेसन' नपुग्दै शुरू हुने अव्यवस्था र त्यसको दु:ख होल्डिङ सेन्टरसम्म रहेछ।"
उनले विमानस्थलका सूचना अधिकारीले फोन मार्फत दिएको सूचनाका आधारमा आफू छोरी 'रिसिभ' गर्न विमानस्थल पुगेको र त्यहाँबाट छोरीलाई केही समय राखिएको होल्डिङ सेन्टरबारे पनि समयमै सही सूचना पाउन नसकेको बताए। "वागमती प्रदेशको होल्डिङ सेन्टर कहाँ छ भन्ने सूचना समेत सही समयमा कसैले दिएन। पहिले सुकेधाराको सेन्टर पठाए, त्यहाँ पुगेपछि थाहा भयो, त्यो गण्डकी प्रदेशको रहेछ। त्यसपछि फेरि बसुन्धराको होल्डिङ सेन्टर पठाए" उनले भने, "बिहानैदेखि घरबाट निस्किएका हामी दिनभर कुर्नुपर्यो। तर, त्यहाँ न प्रतीक्षा गर्ने व्यवस्थित ठाउँ छ, न शौचालयको व्यवस्था, न पानी किन्ने ठाउँ छ।"
दोहाबाट २२ भदौमै आएका आफ्नो परिचय सार्वजनिक गर्न नचाहने अर्का एक यात्रु पनि सैनिकले विमानस्थलमा 'लाठी नलगाएसम्म नहुने हो ?' भन्दै हकारेको बताउँछन्। "उनीहरूले राम्रो व्यवस्थापन गरेका छैनन्। लगेज लिने ठाउँदेखि होल्डिङ सेन्टरमा जाने बस चढ्ने स्थानसम्म सबै भद्रगोल छ, तर यात्रुलाई लाठी नलगाएसम्म नटेर्ने भन्दै थर्काउँछन्", उनले भने। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वेबसाइटमा अनलाइन फर्म भरेर त्यसको प्रिन्टकपी साथमा लिई आउनुपर्ने नियम बनाए पनि होल्डिङ सेन्टरमा फेरि त्यही फर्म भर्न लगाएको उनले बताए।
मापदण्ड पालना नहुँदा यात्रुलाई सास्ती
९ चैत २०७६ बाट अन्तर्राष्ट्रिय उडान बन्द गरी ११ चैतबाट देशभर लकडाउन गरिएकोमा बीचमा केही छिटपुट उद्धार उडान भएका थिए। सरकारले चीनको वुहानबाट नेपाली विद्यार्थीलाई ल्याएको थियो भने केही देशहरूले नेपालबाट आफ्ना नागरिकको उद्धार गर्न केही चार्टर्ड उडान गरेका थिए। ३२ असारबाट भने नियमित रूपमा चार्टर्ड उडान भइरहेका छन्। त्यसका लागि नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सलाई अनुमति दिइएको छ। केही विदेशी विमान कम्पनीले पनि चार्टर्ड उडानको अनुमति पाएका छन्।
दैनिक ८०० जनाको कोटा निर्धारण गरेर चार्टर्ड उडान भइरहेकोमा विदेशबाट नेपाल आउन चाहनेको माग बढेसँगै २२ भदौबाट दैनिक ८०० जनाकै कोटा थपेर नियमित उडान पनि भइरहेका छन्।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार, अहिले कुवेत, जापान, यूएई र कतारमा नियमित उडान भइरहेको छ। अन्य कतिपय देशमा चार्टर्ड उडान भइरहेको छ। जापानका लागि नेपाल वायुसेवा निगम, कुवेतका लागि मालिन्दो, कतारका लागि कतार एअरवेज र यूएईका लागि फ्लाई दुबईले नियमित उडान गर्ने बताइएको छ।
नियमित उडानबाट विदेशमा रहेका नेपाली, कूटनीतिक नियोगका कर्मचारी र गैरआवासीय नेपाली स्वदेश फर्कन पाउनेछन्। तर, उनीहरूले पछिल्लो ७२ घण्टाभित्र परीक्षण गरेको र पीसीआर नेगेटिभ आएको रिपोर्ट ल्याउनुपर्ने हुन्छ। कोरोना नेगेटिभ आएको रिपोर्ट लिएर आउने उनीहरू हरेकको तथ्यांक राख्ने जिम्मा नेपाली सेनाले पाएको छ। त्यही प्रयोजनका लागि उनीहरूलाई विमानस्थलदेखि प्रदेशगत रूपमा छुट्याइएका होल्डिङ सेन्टरसम्म पुर्याइन्छ।
नियमित अन्तर्राष्ट्रिय उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई कम्पनीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने शर्तहरू सार्वजनिक गरेको छ। जसमध्ये नेपाल आउने यात्रुसँग कोरोना नेगेटिभको रिपोर्ट हुनु पहिलो र अनिवार्य शर्त हो। 'नियमित उडान मार्फत आउने सबै यात्रुले जहाज चढ्नुभन्दा ७२ घण्टाभित्रको रियल टाइम पीसीआर नेगेटिभ भएको प्रमाण र सीसीएमसीको वेबसाइटमा अनलाइन फर्म भरेर सोको बार कोड वा प्रिन्टकपी साथमा लिई आउनुपर्ने हुन्छ। कुनै कारणवश त्यस्तो फर्म भर्न छुटेमा सम्बन्धित वायुसेवाले अनबोर्ड गर्दाकै अवस्थामा त्यस्तो फारम यात्रुलाई उपलब्ध गराउनुपर्नेछ'– मन्त्रालयको नियममा छ।
तर, पहिलो नियमित उडान भरेको कतार एअरवेजले नै यो नियम उल्लंघन गर्यो। २२७ यात्रुमध्ये पीसीआर परीक्षण नै नगरेका ६ जनालाई पनि मिसाएर ल्यायो। त्यसैकारण उक्त उडानमा आएका सबै यात्रु अहिले होटल क्वारेन्टिनमा छन्। उक्त उडानमै आएका लेखनाथ पौडेलले विमानस्थलबाट धुम्बाराहीस्थित प्रदेश-५ को होल्डिङ सेन्टर पुर्याइएपछि त्यहाँबाट आफूहरूलाई क्वारेन्टिनका लागि विमानस्थलको प्रवेशद्वार नजिकैको 'एअरपोर्ट होटल' मा राखिएको बताए। विमान कम्पनीको कमजोरीका कारण पीसीआर नेगेटिभको रिपोर्ट लिएर आएका आफूहरू जस्ता यात्रुले दु:ख पाएको उनले गुनासो गरे। अब उनीहरू सबैको पीसीआर परीक्षण गरेपछि रिपोर्ट नेगेटिभ आएकाहरूलाई मात्रै क्वारेन्टिनबाट पठाइनेछ।
त्यसअघि १८ भदौमा जापानबाट आएको निगमको जहाजमा पनि एक यात्रुको पीसीआर रिपोर्ट नभएका कारण बाँकी सबैलाई होटल क्वारेन्टिनमा राखिएको थियो। यस्तो अवस्थाको खर्च भने सम्बन्धित विमान कम्पनीले नै व्यहोर्नुपर्छ।
सीसीएमसीका अनुसार, २७ भदौसम्म ३७१ चार्टर्ड उडान र ३० नियमित उडान मार्फत ३० वटा देशबाट ६२ हजार ४९४ जना नेपाल फर्किएका छन्। जसमध्ये ४४ हजार ७६५ जनालाई प्रदेशले व्यवस्थापन गरेका क्वारेन्टिनमा पठाइएको छ। पाँच हजार ११४ जनालाई होटल क्वारेन्टिनमा राखिएको छ भने सात हजार ५६ जनालाई होम क्वारेन्टिनमा पठाइएको छ। स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टिनमा चार हजार ८६४ जना पठाएकोमा ६६ जनालाई भने अस्पताल भर्ना गरिएको सीसीएमसीले जनाएको छ। यस्तै, विभिन्न देशबाट ३३९ जनाको शव समेत ल्याइएको छ।
सीसीएमसी सचिवालयका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले अझ धेरै नेपालीलाई उद्धार गर्न बाँकी भएकाले अझै मिहिनेतसाथ लागिरहेको बताए। उनले विमानस्थलमा सेनाको व्यवस्थापन र व्यवहार नराम्रो नरहेको पनि दाबी गरे।
"विमानस्थलमा सेनाको चुस्त व्यवस्थापन छ, सेना रूखो हुनुपर्ने कुनै कारण नै छैन", उनले भने, "पीसीआरको नेगेटिभ रिपोर्ट नल्याएका यात्रुलाई पनि विमान कम्पनीले अन्य यात्रुसँगै मिसाएर ल्याएछ, त्यसैले होम क्वारेन्टिनमा जान चाहनेहरूलाई सेनाले रोकेर होटलमा पठाएपछि केही यात्रुले दु:ख भयो भनेका हुन्। अरूबाट गुनासो आएको छैन।"
गुरागाईंले पीसीआर नेगेटिभको रिपोर्ट लिएर आउने यात्रुलाई सीधै होम क्वारेन्टिनमा पठाउने गरिएको बताए। "अहिले सबै उडानको जिम्मा मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको छ, उद्धार उडानलाई प्राथमिकतामा राखेर नियमित उडान पनि हुँदै छन्। थप ठूलो संख्यामा नेपालीलाई स्वदेश फर्काउने गरी काम भइरहेको छ", उनले भने।
पछिल्लो पटक १८ भदौमा सीसीएमसीको बैठक बसेको थियो। उक्त बैठकले तेस्रो मुलुकबाट भइरहेका नियमित र चार्टर्ड उडानमा एअरलाइन्सहरूले तोकिएको मापदण्ड बमोजिम उडान नगर्दा विभिन्न समस्या भएको भन्दै उड्डयन मन्त्रालयले कडाइका साथ अनुगमन गर्ने र प्रभावकारी रुपमा कार्यान्वयन गराउने निर्णय गरेको थियो। तर, त्यसको चार दिनपछिकै उडानमा कतार एअरवेजले नियम मिचे पनि त्यस विरूद्ध कुनै कदम चालिएको छैन।