प्रशान्त भूषणले तिरे १ रूपैयाँ जरिवाना, सर्वोच्चको फैसलाविरूद्ध आजै रिभ्यू निवेदन दिने
भारतका चर्चित वकील तथा अधिकारकर्मी प्रशान्त भूषणले अदालतको अवहेलनामा एक रूपैयाँ जरिवाना तिरेका छन्। त्यहाँको सर्वोच्च अदालतले उनले जून महीनामा गरेका दुई वटा ट्वीटले अदालतको अवहेलना हुने ठहर्याउँदै उनलाई एक रूपैयाँ जरिवाना हुने सजाय सुनाएको थियो।
३१ अगस्टमा १५ दिनभित्र जरिवाना तिर्न आदेश दिएको सर्वोच्च अदालतले उनले उक्त जरिवाना नतिरेमा तीन महीनासम्म कैद हुने र तीन वर्षसम्म वकालत गर्न नपाउने गरी उनको लाइसेन्स निलम्बन हुने आदेश दिएको थियो।
आज आदेशको १४औं दिनमा जरिवाना तिर्दै भूषणले आफूलाई दोषी पाउने सर्वोच्च अदालतको फैसला ‘रिभ्यू’ गर्न निवेदन दिने भएका छन्। लाइभ ल का अनुसार भूषणले आफूले जरिवाना तिर्नुको अर्थ सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेको नहुने बताएका थिए।
“मैले सर्वोच्चको फैसलाविरूद्ध रिभ्यू निवेदन आजै दर्ता गर्नेछु”, उनले संवाददाताहरूसँग भने।