कानूनमा लेखिएका अधिकार बालबालिकाले उपयोग गर्ने वातावरण बनाऔं : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बाल अधिकार सम्बन्धी संविधानदेखि विभिन्न नीति तथा कानूनमा लेखिएका अधिकार बालबालिकाले उपयोग गर्न पाउनुपर्ने बताएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा आयोजना गरेको भर्चुअल समारोहमा प्रधानमन्त्री ओलीले संविधानदेखि ऐन, नियमावलीहरूमा बालअधिकारको सुनिश्चितता गरिएकाले घरपरिवार र बाबुआमा वा उनीहरूको संरक्षण गर्ने जो कोहीले पनि बाल अधिकारको उपयोग गर्ने वातावरण बनाइदिन आग्रह गरे।
वर्तमान अवस्थामा विद्यालयमा गएर शिक्षा पाउने जोखिम भएको तर, सबैले आधुनिक प्रविधिको प्रयोग गरेर शिक्षा हासिल गर्न सक्ने र पाउने अवस्था नभएकोले सरकारले त्यो सुविधा प्रदान गर्न प्रयत्न गरिरहेको प्रधानमन्त्रीको भनाइ छ।
गरीबीका चपेटामा परेका परिवारका बालबालिकाले राम्रो शिक्षादीक्षा, खानपान र अन्य सेवासुविधा नपाउने अवस्था अझै रहेको भन्दै गरिबी अन्त्य गर्ने अभियानमा सरकार रहेको प्रधानमन्त्रीले बताए।
आफ्नो अभिभावक नभएका बालबालिकाको राज्य अविभावक भएको भन्दै प्रधानमन्त्री ओलीले केन्द्रदेखि ७ प्रदेश र ७५३ वटै स्थानीय तहको सरकारमा बालबालिका सम्बन्धी काम गर्ने संरचना अविभावकको रूपमा रहने उल्लेख गरे।
बालबालिकाको खानपानदेखि शारीरिक, मानसिक, बौद्धिक विकास हुने गरी काम गर्न ती संरचनाहरू लाग्नुपर्ने प्रधानमन्त्रीको ओलीको भनाइ छ। बाल अधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरूले असाधारण काम गरेको भन्दै प्रधानमन्त्रीले बालअधिकारका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाको प्रशंसा पनि गरे।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सरकारले बालअधिकार संरक्षणको कामलाई नीतिगत, कानूनी र संरचनागत सबै हिसाबले उच्च प्राथमिकतामा राखेको बताए।
बालबालिकामाथि हुने सबै प्रकारका हिंसाविरुद्ध शून्य सहनशिलताको नीति अवलम्बन गरिएको भन्दै उनले बालबबालिकामाथि हुने हिंसाका घटनामा संलग्न अपराधीहरूलाई कडा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताए।
बालअधिकार सुनिश्चित गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच बलियो सहकार्यका लागि आवश्यक समन्वय र व्यवस्था मिलाइएको भन्दै उनले ‘समृद्ध नेपाल, सुखी’ नेपालीको राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि बालबालिकाको क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने बताए। ‘विपदमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता’ भन्ने नाराका साथ आज बाल दिवस मनाइँदैछ।