शहर पस्दै मुस्ताङको स्याउ, बगैंचामै पुग्न थाले व्यापारी
विभिन्न जिल्लाबाट मुस्ताङ पुगेका व्यापारी अहिले क्वारेन्टिनमा छन्। क्वारेन्टिनबाट निस्किएपछि उनीहरुले बगैँचा डुलेर स्याउ खरिद गर्नेछन्।
हिमालपारिको जिल्ला मुस्ताङमा २०२७ सालदेखि स्याउ फल्न थालेको हो। भरियामार्फत फाट्टफुट्ट मात्र मुस्ताङका स्याउ शहर झर्थे। पोखरासम्म पुग्ने मुस्ताङका स्याउ काश्मीरी र चिनियाँको दाँजोमा विस्तारै धेरै ग्राहकको रोजाइमा पर्न थाले।
म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्म सडक पुगेपछि भने मुस्ताङको स्याउले देशैभरि बजार पाउन थालेको छ। अहिले मुस्ताङका विभिन्न ठाउँमा गरी एक हजार २०० हेक्टर जमीनमा स्याउ खेती गरिएको छ। मुस्ताङ ‘स्याउको राजधानी’ नामले समेत चिनिन थालेको छ।
सडक पुगेपछि स्याउ खरिद गर्न व्यापारीहरु बगैँचामा नै पुग्न थालेका छन्। अहिले त्यहाँका कृषक स्याउ बजार पठाउने तयारीमा छन्।
स्याउ टिप्न यसपटक स्थानीय मजदुर प्रयोग भइरहेको छ। कोरोनाभाइरस संक्रमणको जोखिमका कारण मुस्ताङमा बाहिरी जिल्लाका मजदुरलाई स्याउ टिप्न रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) मुस्ताङको बैठकले स्याउ र तरकारी खरिद बिक्रीको व्यवस्थापनमा स्थानीयलाई नै खटाउनुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन्। यसअघि ठेकेदारले नै स्याउ टिप्ने कामदार लिएर जाने गरेका थिए।
स्याउको बगैंचा हेर्न र ठेक्का लिनका लागि भने एक जना मात्रै ठेकदार आउन पाउने नियम छ। त्यसका लागि पनि सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्छ।
पहिरोले रोक्यो, चाडपर्व ढिलो आयो
विगत वर्षहरुमा तीजदेखि नै बजारमा पुग्ने मुस्ताङको स्याउ यो वर्ष भने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा बगैँचामै रोकिए। कोरोनाभाइरस महामारीका कारण मानिसको चहलपहल नहुँदा र दशैं तिहारलगायत चाड ढिलो हुँदा पनि समयमै बजार पुग्न सकेन।
यसपटक हिउँदमा अत्यधिक हिउँ पर्नु र वर्षात्मा वर्षा भैरहेका कारण चिसो बढी हुँदा याउमा ढुसी लागेको छ। त्यहीकारण उत्पादनमा कमी आएको मार्फाका कृषक दीपक लालचनले जानकारी दिए।
मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौं, नारायणगढ, बुटवल र भैरहवासहित स्वदेश तथा विदेशका बजारमा पुग्छ। मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, स्याङ, कागबेनी, ताङ्बे, छुसाङ र मुक्तिनाथ क्षेत्रमा स्याउ उत्पादन हुन्छ। पछिल्लो समय उपल्लो मुस्ताङको लोमान्थाङ, चराङ, घमीलगायत क्षेत्रमा समेत स्याउ उत्पादन हुन थालेको छ।
मार्फा र टुकुचेमा सबैभन्दा धेरै स्याउ फल्छ। मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउ उत्पादन हुने गरेको छ।