एकैदिन करीब तीन लाख आठ हजार कोरोना संक्रमित भेटिए
विश्वमा एकैदिन तीन लाखभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिएका छन्। आइतबार कम्तीमा तीन लाख सात हजार ९३० जना संक्रमित भेटिएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।
एकैदिन संक्रमित हुने यो अहिलेसम्मकै ठूलो संख्या भएको डब्लुएचओलाई उधृत गर्दै अलजजिराले जनाएको छ। अब विश्वमा संक्रमितको जम्मा संख्या दुई करोड ९१ लख ७५ हजारभन्दा धेरै भएका छन्। यीमध्ये दुई करोड १० लाख २० हजार ८२७ जना निको भएका छन्।
मृत्यु हुनेको संख्या नौ लाख २७ हजार ९८६ पुगेको छ। अमेरिकामा सबैभन्दा बढी एक लाख ९८ हजार ५२० जनाको मृत्यु भएको छ। त्यहाँ कुल संक्रमित झन्डै ६७ लाखमध्ये अझै करीब १० लाख उपचाररत छन्।
पछिल्लो समय भारतमा संक्रमित र मृतकको संख्या लगातार बढिरहेको छ। पछिल्लो तीन दिनमा हरेक दिन एक हजारभन्दा बढीको मृत्यु भएको छ। गएको २४ घन्टामा त्यहाँ एक हजार १४० जनाको मृत्युु भयो।
यही अवधिका मेक्सिकोमा ४२१, अमेरिकामा ३९२ र ब्राजिलमा ३८९ जनाको मृत्यु भएको छ। आइतबार भारतमा मात्र ९३ हजार २१५ नयाँ संक्रमित थपिएका छन्।