‘संक्रमणको झन् डरलाग्दो चरण आउँदैछ, समुदायस्तरमा तयारी गरौं’
कामकाजी युवा घरबाहिर निस्कन थालेपछि संक्रमण ह्वात्तै बढिरहँदा संयुक्त परिवारमै होम आइसोलेसनमा बसिरहेका संक्रमितबाट समुदायमा जोखिम बढेको र अब समुदाय नै यसविरुद्ध लड्ने तयारीमा जुट्नुपर्ने विज्ञको सुझाव छ।
आइतबारसम्म देशमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यीमध्ये सक्रिय संक्रमित १५ हजार १७७ छन्। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म ३४५ पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्र एक हजार ३९ कोरोना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं उपत्यकामा मात्र ५९७ जना थपिएका छन्।
स्वास्थ्य मन्त्रालयको आँकडा नै हेर्ने हो भने पनि पछिल्ला दिनमा औसतमा दैनिक एक हजार कोरोना संक्रमित थपिइरहेका छन्। यो दैनिक रुपमा भइरहेको औसतमा १० हजार नमूना परीक्षणको नतिजा हो। जसले १० प्रतिशत हाराहारीमा संक्रमण भेटिएको देखाउँछ।
२५ भदौसम्म देशमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ मात्र थियो। अर्थात् तीन दिनको अन्तरमा तीन हजार ६९४ नयाँ संक्रमित थपिएका छन्।
जनस्वास्थ्यका विज्ञहरू यो आँकडाले कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको देखाउने बताउँछन्। धुलिखेल अस्पतालको जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम प्रमुख डा. विराज कर्माचार्य भन्छन्, “कोरोनाको संक्रमण समुदायस्तरमा नै फैलिएको संकेत देखिन थालिसकेको छ। तर, अहिले भइरहेको कट्याक्ट ट्रेसिङ प्रभावकारी नभएकाले कहाँ कहाँ यस्तो भइसक्यो भन्न सकिएको छैन।”
नेपालमा कोरोना संक्रमितमध्ये सबभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन् भने मृत्यु हुनेमा ६१ देखि ७० वर्ष उमेर समूहका व्यक्तिको संख्या सबभन्दा धेरै छ। कोरोना संक्रमणको दर बढिरहँदा अबका चुनौती र चाल्नुपर्ने कदम के के हुन्? हिमालखबरका रामु सापकोटासँगको कुराकानीमा डा. कर्माचार्यले देखेका चुनौती र गर्नुपर्ने काम यस्ता छन्:
स्वास्थ्य मन्त्रालयकै आँकडा केलाउँदा संक्रमण दर बढ्दो क्रममा रहेको र संक्रमण समुदायस्तरमै फैलिएको संकेत देखिएको छ। तर अहिले भइरहेको कट्याक्ट ट्रेसिङ अझै पनि प्रभावकारी नभएकाले अरु विभिन्न ठाउँमा समुदायस्तरमा संक्रमण विस्ता भएको वा नभएको भन्न सकिने अवस्था छैन।
पहिले जस्तो समुदायमा संक्रमण एक दुई जनामा सीमित छैन, एकै पटक ४०/५० जनासम्ममा संक्रमण देखिन थालेको छ। पहिले विदेशबाट फर्किएकाहरूमा संक्रमण बढी देखिएकोमा अब विदेशबाट फर्कनेहरुमा संक्रमण देखिएको छैन। बरु स्थानीय स्तरमा र युवा समूहमा संक्रमण धेरै देखिनथालेको छ। शुरुमा विदेशबाट फर्केका संक्रमित लक्षणविनाका थिए, अहिले स्थानीय स्तरमा लक्षणसहितका संक्रमित धेरै भेटिन थालेका छन्।
युवा उमेरका व्यक्तिमा नै संक्रमण धेरै देखिनुको कारण चाहिँ उनीहरू कामका लागि घरबाहिर निस्कने गरेकाले हो। यो अवस्थालाई हेर्दा हामीकहाँ कोरोना संक्रमणको अर्को चरण शुरु भइसकेको देखिन्छ। यो हेर्दा अझै खतरनाक अर्को चरण आउन बाँकी नै छ।
स्वास्थ्य मन्त्रालयकै तथ्यांक हेर्दा पनि कोरोना संक्रमणबाट अन्य उमेर समूहको तुलनामा ६० वर्ष माथिका धेरैको मृत्यु भएको छ। अब संक्रमणको तेस्रो चरणमा सरकार र समुदायस्तर दुवै तहमा आवश्यक तयारी गरिएन भने अधिकांश दीर्घरोगीलाई संक्रमण हुनसक्ने र उनीहरुमध्ये धेरैको ज्यान जासक्ने खतरा देखिनथालेको छ।
अब घरभित्रै बस्ने दीर्घरोगीलाई पनि संक्रमण बढ्न सक्छ। किनभने काममा घरबाहिर निस्केका घरकै युवा सदस्यले उनीहरूलाई संक्रमण सारेको देखिइसकेको छ।
स्वास्थ्य मन्त्रालयकै तथ्यांक हेर्यौं भने आइतबारसम्म ७ हजार ३८७ जना कोरोना संक्रमित घरमै आइसोलेसनमा छन्। उनीहरूमध्ये धेरैको घरमा छुट्टै ट्वाइलेट, धारा र बस्ने कोठा छैन। संक्रमितले नियमित हेरचाह पनि पाइरहेका छैनन्। यसले गर्दा संक्रमित र उनीहरूका परिवार दुवै खतरामा छन्।
घरमा भएका दीर्घरोगी बाबु आमालाई बचाउन र होम आइसोलेसनमा बसिरहेकाहरूलाई व्यवस्थित गर्न अब समुदायस्तरबाटै कोरोना विरुद्धको लडाईं शुरु गर्न ढिलो गरिनुहुन्न। त्यसका लागि प्रत्येक वडामा स्थानीय सरकारसँगै टोलमा समेत समुदायका विभिन्न व्यक्तिको पहलमा संस्थागत आइसोलेसनको व्यवस्था गर्नुपर्छ।
अहिले ठिमी, बनेपा, धुलिखेल लगायतका नगरपालिकाहरूमा स्थानीय स्तरमै आइसोलेसन सेन्टर बनाउने काम भइरहेको छ। होम आइसोलेसनमा बस्न नसक्नेहरूलाई यसरी नै व्यवस्थापन गर्न सके परिवार र समुदायमा कोरोना फैलिनबाट जोगाउन सकिन्छ।
यस्तो संरचना बनाउएर कट्याक्ट ट्रेसिङ तथा परीक्षणलाई प्रभावकारी बनायौं भने हामी अब आउन सक्ने संक्रमणको थप जटिल चरणविरुद्धको लडाईं लड्न सक्छौं। नभए हामीले अकल्पनीय क्षति व्यहोर्ने अवस्था आउन सक्छ।