कुलमान घिसिङको कार्यकाल सकियो, पुनर्नियुक्तिबारे टुंगो छैन
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ। सरकारले घिसिङलाई अर्को कार्यकालका लागि नियुक्ति गर्ने चर्चा चलेपनि यसबारे कुनै निर्णय भएको छैन।
ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिका विषयमा छलफल भइरहेको तर कुनै निर्णय नभएको बताए। उनले भने, “लामो समय कार्यकारी प्रमुखको पद रिक्त राख्न मिल्दैन, छिटै नियुक्तिको प्रकृया अघि बढाउँछौं।”
ऊर्जा मन्त्रालयले उनको पुनर्नियुक्तिका लागि प्रस्ताव लैजाने विषयमा कुनै निर्णय गरेको छैन। मन्त्रीपरिषद्को वैठक सोमबार बस्ने तयारी छ। तर, सोमबार बस्ने मन्त्रिपरिषदको बैठकमा समेत घिसिङको पुनर्नियुक्तिका बारेमा प्रस्ताव लैजाने वा नलैजाने विषयमा टुंगो छैन।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिस्पर्धामार्फत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको पक्षमा रहेको स्रोत बताउँछ। यद्यपि, नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भने घिसिङलाई नै निरन्तरता दिनुपर्ने पक्षमा अडान राखिरहेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच आइतबार साँझ भएको भेटवार्तामा घिसिङको पुनर्नियुक्तिका विषयमा छलफल भएको हुनसक्ने आकलन गरिएको छ।
४ वर्ष पहिले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने पक्षमा जनमत छ। तर, मन्त्रालयका एक अधिकारीले भने पुनर्नियुक्तिका विषयमा विद्युत प्राधिकरणको नियममा प्रष्ट व्यवस्था नभएकाले प्रतिस्पर्धा गराउनुपर्ने सम्भावना रहेको बताए।
२०७३ साल भदौ २९ गते घिसिङ ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। उनले आफ्नो कार्यकालमा एक दशक लामो लोडसेडिङ हटाएको तथा प्राधिकरणको वित्तिय स्वास्थ्य सुधार गरेको भनी जस पाएका थिए।
घिसिङको कार्यकाल सकिएर भोलिदेखि कार्यकारी प्रमुखको पद रिक्त हुने कारणले प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशकलाई निमित्तको जिम्मेवारी दिने तयारी छ। सचिव घिमिरेले तत्काललाई कार्यकारी निर्देशक रिक्त हुँदा पनि वरिष्ठ उपकार्यकारी निर्देशकहरूमार्फत निर्णय प्रकृया र काम नरोकिने प्रबन्ध मिलाइने बताए।
प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, हरराज न्यौपाने लगायतका वरिष्ठ अधिकारीहरूमध्ये एक जनालाई केही दिनका लागि निमित्त कार्यकारी निर्देशक बनाउने तयारी रहेको बताइन्छ।