डेरा सर्न खोज्दा विवाद, कीर्तिपुरमा घरधनीको आक्रमणबाट डेरावालको मृत्यु
काठमाडौंको कीर्तिपुरमा डेरा सर्ने विषयमा भएको विवादले एक जनाको ज्यान लिएको छ। प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका–७, भाजङगलका ६६ वर्षीय प्रेमलाल महर्जनको घरमा डेराभाडामा बस्दै आएका बाराको कलैया उपमहानगरपालिका–५ का ४८ वर्षीय शम्भु चौधरीको घरधनीको आक्रमणबाट मृत्यु भएको छ।
घरधनी महर्जनले ढोकाको आग्लोले प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा शुक्रबार दिउँसो करीब १ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत्त कीर्तिपपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक रुकेश तण्डुकारले डेरा छोडेर जाने विषयमा विवाद हुँदा घरधनी महर्जनले चौधरीमाथि आक्रमण गरेका बताए। घटना तीनदिन अघिको भएपनि आफन्तले पोस्टमार्टमपत्र बुझ्न मानेका छैनन्। चौधरीको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।
“चौधरी १५ महीनादेखि उक्त घरमा डेराभाडामा बसेको खुल्न आएको छ। त्यो दिन उनी डेरा सरेर अन्यत्र जाने योजनामा थिए। सोही विषय र पानी भर्ने विषय समेत विवाद हुँदा करीब १२ बजेतिर आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, डीएसपी तण्डुकारले भने।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले प्रेमलाल र उनका दुई छोरालाई नियन्त्रणमा लिएको छ। अनुसन्धानका लागि आज काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।
“पहिले पनि पानी थाप्ने विषयमा उनीहरूबीच विवाद भएको भन्ने खुल्न आएको छ”, एसपी राठौरले भने, “डेरा सरेर जाने विषयले घटना भएको देखिन्छ। थप कुरा खुल्न बाँकी छ। हामी अनुसन्धानमै छौं।”
चौधरी काठमाडौंमा सहचालकको रूपमा काम गर्थे भनिएपनि उनकोे खास पेसा खुलिनसकेको कीर्तिपुरका डीएसपी तण्डुकारले बताए।