अर्डर साथी: बन्दाबन्दीमा जन्मेको स्टार्टअप व्यवसाय
अर्डर साथीको प्लेटफर्ममा आएर सेवाग्राहीले आफ्नो आवश्यकता अनुसार सामग्री अनलाइनबाट मगाउन सक्छन्। व्यवसायीले स्वयं अथवा डेलिभरी पार्टनरको सहयोगमा सेवा दिन्छन्।
अर्डर साथी सोसल ई–कमर्स प्लेटफर्म हो। बन्दाबन्दीमा आफ्ना केही साथीहरूको कम्पनीलाई सहयोग गर्ने उद्देश्यले प्रियाशा महर्जनले शुरू गरेको अर्डर साथी अहिले लोकप्रिय बनिरहेको छ। विदेशका व्यवसायीहरूले समेत अर्डर साथीमा आफ्नो कम्पनी दर्ता गर्न थालेका छन्।
अर्डर साथीको अवधारणा बन्दाबन्दीपछि नै विकास भएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महर्जन बताउँछिन्। गएको जुन महीनादेखि सेवा शुरू गरेको हो। वाट्स एपबाट शुरू यो ‘प्ल्याटफर्म’लाई अहिले वेबसाइटमार्फत सञ्चालन गरिएको छ।
अर्डर साथीमार्फत माग गर्दा सम्बन्धित व्यक्तिको मोबाइलमै मेसेज जान्छ। त्यही अनुसार रेष्टुरेन्ट तथा कम्पनीहरूले आफ्ना ग्राहकसँग ‘डिल’ गर्छन्। त्यसैले सेवा प्रदायक कम्पनी र सेवाग्राहीलाई सीधै जोड्ने अनलाइन माध्याम हो, अर्डर साथी।
यो वेबसाइटमा दर्ता हुनको लागि कम्पनी तथा रेष्टुरेन्टहरूले आफ्नो व्यवसायको सम्पूर्ण विवरण र सामग्रीको सूची पठाउनुपर्छ। अनि अर्डर साथीले कम्पनीको लागि ड्यासबोर्ड बनाइदिन्छ। ड्यासबोर्डभित्र बिक्रेताहरूलाई पहुँच दिइन्छ। त्यहीबाट उनीहरुले प्रत्यक्ष रूपमा सेवाग्राहीहरूसँग जोडिएर व्यवसाय गर्न सक्छन्।
सेवाग्राहीका लागि पनि यसमा सजिलो ‘लग इन’ छ। उनीहरूले लोकेसन, इमेल लगायत व्यक्तिगत जानकारी खुलाइराख्नु पर्दैन। ग्राहकले सजिलै लग इन गरेर आफूले चाहेको सामान वा खाजा अर्डर गर्न सक्छन्। यसले विशेष गरी गृहणी, ज्येष्ठ नागरिक र बालबालिकालाई सहज बनाएको महर्जन बताउँछिन्।
“अनलाइन अर्डर गर्न अन्य प्ल्याटफर्ममा इमेल राख्नुपर्ने हुँदा झन्झटिलो भयो। त्यस्तो झन्झट ब्यहोर्नुभन्दा गृहणीलगायत धेरैजसो बरु नजिको किराना पसल जाने थाहा पाएपछि उहाँहरूकै सहजताका लागि अर्डर साथीमा विना इमेल र लोकेसन अर्डर गर्न मिल्ने बनाएका छौं।” – प्रियाशा महर्जन, सीईओ, अर्डर साथी
उनी भन्छिन्, “अनलाइन अर्डर गर्न अन्य प्ल्याटफर्ममा इमेल राख्नुपर्ने हुँदा झन्झटिलो भयो। त्यस्तो झन्झट ब्यहोर्नुभन्दा गृहणीलगायत धेरैजसो बरु नजिको किराना पसल जाने थाहा पाएपछि उहाँहरूकै सहजताका लागि अर्डर साथीमा विना इमेल र लोकेसन अर्डर गर्न मिल्ने बनाएका छौं।”
अर्डर साथीले बढी मात्रामा रेष्टुरेन्टसँग काम गरिरहेको छ। रेस्टुरेन्ट तथा बार एसोसिएसनसँग सबै रेस्टुरेन्ट तथा बारलाई ‘अनबोर्ड’ गर्ने गरी सम्झौता गरिसकेको छ। अर्डर साथीको सेवा अहिले नेपालभित्र काठमाडौं, पोखरा, चितवन र वीरगञ्जमा उपलब्ध छ।
अर्डर साथीले आफै डेलिभरी गर्दैन। डेलिभरीको लागि पार्टनर छन्। डेलिभरी सर्भिसहरूलाई पनि प्लेटफर्ममा आउने ठाउँ खुल्ला गरेको छ।
साना तथा मझौला कम्पनी र खुद्रा बिक्रेताहरूलाई आफै डिजिटल प्लेटफर्म निर्माण गर्नको लागि थप खर्च गर्नुपर्ने भएकाले अर्डर साथीले त्यो सुविधा उपलब्ध गराएको महर्जनको भनाइ छ। उनी भन्छिन्, “रेस्टुरेन्टबाहेक साना तथा मझौला कम्पनीहरू र खुद्रा विक्रेताहरूलाई पनि जोड्दै लगिरहेका छौं।”
एग्री नेपाल कौसी खेतीले अर्डर साथीबाट ड्यासबोर्ड निर्माण गरेको छ। कौशी खेतीका लागि आवश्यक उपकरण मल, कोकोपिट र गड्यौला अर्डर साथीबाट अर्डर गर्न सकिन्छ। एग्री नेपाल कौसी खेतीका संचालक सुनिता नेमकुलले अर्डर साथीबाट ड्यासबोर्ड बनाएपछि आफ्ना ग्राहक बढेको बताईन्।
कौशी खेती गर्न चाहनेहरू अधिकांश ५० वर्ष माथिका छन्। नेमकुल भन्छिन्, “अर्डर साथीले बनाइदिएको ड्यासबोर्डबाट सामान अर्डर गर्दा लग इन वा साइन इन गरिरहनुपर्ने झन्झट छैन। त्यसैले मेरा ग्राहक बढेका छन्।”
यसरी हुन्छ कम्पनीको आम्दानी
प्रियाशाका अनुसार कम्पनीले ‘सब्स्क्रिप्सन मोडल’बाट आम्दानी गरिरहेको छ। ड्यासबोर्डको सेवा लिने कम्पनी अथवा व्यवसायीले वार्षिक रु.१० हजार शुल्क बुझाउनुपर्छ। अहिले नेपालका ५० भन्दा बढी रेष्टुरेन्ट र साना तथा मझौला उद्योगहरू ड्यासबोर्डमा आएका छन्।
अर्डर साथीले ड्यासबोर्ड निर्माण गरिदिएर सेवाग्राही र सेवा प्रदायकबीच सम्पर्क सहज बनाउँछ। यो अत्यन्तै उपयोगी भइरहेकाले विदेशका नेपाली व्यवसायीले पनि ड्यासबोर्डका लागि रजिष्ट्रेसन गरिरहेका छन्। अर्डर साथीले ठूला ठूला मार्ट, डिपार्टमेन्टदेखि लिएर खुद्रा विक्रेताको समेत ड्यासबोर्ड बनाउँछ।
महर्जनसहित चार जना मिलेर साना तथा मझ्यौला संस्थाहरूलाई आफ्ना उत्पादन तथा सामग्री प्रवद्र्धन गर्न सहयोग गर्ने उद्देश्यले समर्थ नामक कम्पनी शुरू भएको थियो। यस्ता कम्पनीलाई सोसल मिडियाका लागि विज्ञापन तथा ग्राफिक डिजाइन बनाइदिने, फेसबुक र इन्स्टाग्राम ह्याण्डल बनाइदिने समर्थ कम्पनीले नै अर्डर साथी पनि शुरू गरेको हो।
अहिले अर्डर साथीले व्यवसायीको लागि एप बनाएको छ। ग्राहकको लागि पनि एप बनाईरहेको छ महर्जन बताउँछिन्। यो एपबाट एकै ठाउँमा गएर विभिन्न रेष्टुरेन्टबाट खाना अर्डर गर्न सकिने छ भने खाद्यन्न, तरकारी र कपडा लगायत सामानको अर्डर गर्न सकिनेछ।
यस्ता छन् चुनौती
अर्डर साथीले बनाईदिएको प्लेटफर्म मार्फत सेवा प्रदायक व्यवसायीले आफैँ अर्डर लिनुपर्छ। जस्तो, रेष्टुरेन्टले अर्डर लिन्छ। डेलिभरी पार्टनरले रेष्टुरेन्टले अर्डर लिएको समान ग्राहकसम्म पुर्याउन सहयोग गर्छ।
यो प्रणाली लागू गर्दा शुरूमा कतिपय रेष्टुरेन्टले अर्डर लिन अप्ठ्यारो र झर्को मानेका थिए। रेष्टुरेन्टहरूले आफैँ अर्डर लिन नजान्दा समस्या पनि भइरहेको महर्जन बताउँछिन्। उनी भन्छिन्, “यो हाम्रो लागि पनि चुनौती हो। त्यसैले हामी अनलाइनबाट ग्राहकको अर्डर र डेलिभरी पार्टनरको सहयोग कसरी लिने भनेर तालिम पनि दिईरहेका छौं ।”
अर्डर साथीले बनाईदिएको प्लेटफर्म मार्फत सेवा प्रदायक व्यवसायीले आफैँ अर्डर लिनुपर्छ। जस्तो, रेष्टुरेन्टले अर्डर लिन्छ। डेलिभरी पार्टनरले रेष्टुरेन्टले अर्डर लिएको समान ग्राहकसम्म पुर्याउन सहयोग गर्छ।
अर्को मुख्य चुनौती भनेको इ–कमर्शको लागि स्पष्ट नीति बनेको छैन। अहिलेसम्म कम्पनी कहाँ गएर दर्ता गर्ने भन्ने स्पष्ट छैन। ईकमर्श दर्ताका लागि छुट्टै निकाय नभएको र कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भइरहेको छ। कम्पनीले अनलाइन कारोबार गर्दा पालना गर्नुपर्ने नियम पनि स्पष्ट छैन।
“यो हाम्रो लागि समस्या होइन। किनभने हाम्रो सफ्टवेयर कम्पनी हो”, उनी भन्छिन् “तर, हामीले ड्यासबोर्ड बनाउने भनेको ई–कमर्श कम्पनीहरूको हो। उनीहरूलाई समस्या पर्नेबित्तिकै हाम्रो काममा पनि असर गर्छ।”
अर्डर साथीले पनि अनलाईन नै कारोबार गरिरहेको छ। कम्पनीले प्रविधिमार्फत गर्ने व्यवसाय भनेर वडा कार्यालयमा दर्ता गरेको छ।
केही दिनअघि मात्रै सरकारले विभिन्न अनलाइन व्यवसायीलाई थुन्नेसम्मको काम गरेपछि ई–कमर्श क्षेत्रलाई नै झस्काएको छ। महर्जन भन्छिन्, “खाना, खाजा डेलिभरी कम्पनीका संचालकहरूलाई विना जानकारी समातेर लाने व्यवहारले अत्याएको छ। कुन बेला के हुन्छ भनेर डराइ डराइ काम गर्नुपर्ने अवस्था छ।”