वीर अस्पताललाई कोभिड अस्पताल बनाइएपछि अनशनरत गंगामायाको बिचल्ली
सरकारले वीर अस्पताललाई कोभिड अस्पतालका रूपमा सञ्चालन गरेपछि त्यहाँ अनशनरत गंगामाया अधिकारीको बिचल्ली भएको छ। छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै ९ वर्षदेखि वीर अस्पतालमा अनशनरत अधिकारीलाई अस्पताल प्रशासनले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै क्याबिन खाली गर्न भनेको छ।
अधिकारी अस्पतालको पहिलो तलाको क्याबिन नम्बर ७ मा अनशनरत थिइन्। अस्पतालले त्यहाँ कोभिडका बिरामी राख्ने भनेपछि उनले क्याबिन खाली गर्नुपर्ने भएको हो। चिकित्सकले कोभिडका बिरामी भर्ना गरेपछि स्वास्थ्यको जोखिम हुने भन्दै नबस्न भनेकाले क्याबिन खाली गर्नुपरेको उनले बताइन्।
काठमाडौंमा आफ्नो बस्ने ठाउँ कतै नभएको उल्लेख गर्दै अधिकारीले अस्पतालले जहाँ व्यवस्था गर्छ त्यहीँ बस्ने बताइन्। अस्पताल प्रशासनले राष्ट्रिय ट्रमा सेन्टरमा बस्ने व्यवस्था गरिने बताएको छ। तर, ट्रमा सेन्टरमा पनि क्याबिन खाली नभएकाले अहिलेसम्म ठाउँको टुंगो लागेको छैन।
गत हप्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को बैठकले वीर अस्पताललाई कोभिड अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेपछि अधिकारीलाई ट्रमा सेन्टरमा सार्न लागिएको अस्पताल प्रशासनले जनाएको छ। वीर अस्पतालको स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने सरकारले जनाएको छ।