चिउँडोमा मास्क लगाउनेका नाममा
सडकमा हिँड्दा, बस चढ्दा, तरकारी किन्न जाँदा नाकको तल वा चिउँडोमा मास्क लगाएर कुरा गरिरहेका मान्छे सहजै देखिन्छन्। चिनेकालाई त यसरी नलगाउन भन्न सकिएला तर, सबैलाई भन्न मिल्दैन।
“मलाई त सास फेर्नै गाह्रो लाग्छ त्यसैले लगाउँदिन।”
“म त दुईदिनसम्म लगाउँछु अनि फ्याल्छु।”
“मेरो त एउटा मात्रै मास्क छ त्यही धुँदै लगाउँछु।”
डा. अरुणा उप्रेती/मधु राई
आजकल यस्तो कुराकानी बारम्बार सुनिन्छन्। मास्क नलगाउने छिमेकी र बटुवालाई बेलाबेला ‘मास्क त लगाउनु भएको छैन नि?’ भनेर सोध्दा उनीहरुले दिने यस्ता जवाफले हामीलार्ई छक्क पार्छ।
कतिपयलाई त आफैले बनाएको कपडाको मास्कसमेत दिने गरेका छौं। ‘यसरी लगाउनु पर्छ’ भनेर पनि सिकाउछौं। तर, एकछिनपछि ‘सास फेर्न गाह्रो भयो’ भन्दै कसैले नाकमुनि सार्छन भने कसैले चिउडोँमुनि। यसबाट थाहा हुन्छ कि मास्क किन र कसरी लगाउने भन्ने धेरैमा अन्योल छ। बहुसंख्यकलाई त ‘कपडाको भन्दा सर्जिकल मास्क राम्रो’ भन्ने भ्रम पनि छ।
अधिकांशलाई मास्क लगाउनु पर्छ भन्ने थाहा भए पनि किन, कसरी र कहिलेसम्म लगाउने भन्ने राम्रो जानकारी छैन। उनीहरु जेसुकैले मुख छोपे पनि भइहाल्यो भन्ने ठान्छन्। यस्ता कतिपय पुरुष गम्छा र महिला साडीको सप्कोले मुख छोपेर हि“ड्ने गरेको देखिन्छ।
स्वास्थ्यप्रति सचेत हुनेहरुले पछिल्लो समय सर्जिकल मास्क दिनहुँ फेर्ने गरेका छन्। तर, दिनदिनै मास्क किनेर लगाउन नसक्नेहरुले पटकपटक धोएर ३–४ दिनसम्म लगाउँछन्। अधिकांश औषधी पसलेहरुले पनि ‘आयात गरिएको जस्तो, नेपालमा बनेको कपडाको मास्क सुरक्षित हुँदैन’, भनिरहेको सुनिन्छ। यस्ता कतिपय कारणले पनि आयात गरिएको महङ्गो मास्कको बजार फस्टाएको छ।
औषधि पसलमा सस्तो र महङ्गो दुवै प्रकारका सर्जिकल मास्क उपलब्ध छन्। प्रयोगकर्ताहरुले प्रयोग गरीसकेका सर्जिकल मास्क सार्वजनिक बाटो र नालाहरुमा फ्याक्ने गरेको पाइन्छ। पछिल्लो समय हाम्रा बाटा र नालाहरु ‘मास्कमय’ बन्दैछन्।
त्यसो त विभिन्न सञ्चारमाध्यमहरु जस्तै रेडियो, टि.भी, पत्रपत्रिकामा स्वास्थ्य सचेतना जगाउने विज्ञापनहरु बज्न थालेका छन्। जसकारण धेरैले बुझ्न थालेका छन् कि मास्कले कोरोना संक्रमणबाट मात्र नभएर अन्य विभिन्न रोगबाट पनि बचाउन मद्दत गर्छ। तथापि अन्योल भने कायम छ।
यस्तै बन्दाबन्दी र निषेधाज्ञाको बेला पसलबन्द गराएर मानिसको चहलपहल कम बनाउन प्रहरी प्रशासनले कडीकडाइ गरेको थियो। अहिले पनि काठमाडौँ र ठूला शहरमा मास्क नलगाउनेहरुलाई सोधपुछ गरेको देखिन्छ। तर, राम्ररी नलगाउने, कालोमैलो हुने गरी लगाउनेहरुलाई प्रहरीले केही भनेको देखिंदैन।
यस्तै गाउँघरमा मास्क नलगाइ हिँड्नेहरू धेरै भेटिन्छन्। उदयपुर, सिराहा, मकवानपुर, डोटी, आछाम जाँदा यस्ता धेरै मान्छे भेटियो। उनीहरू ‘हामीले मास्क नलगाए पनि केही समस्या भएको छैन’, भन्छन्। यसको अर्थ ‘मास्कको महत्व’ उनीहरूलाई भनिएकै छैन।
कपडाको मास्क प्रयोग गरे हुन्छ। तर, मास्क सफा हुनुपर्छ। दुइ–तीन दिनसम्म एउटै मास्क लगाउनु हुँदैन। दिनदिनै धोएर घाममा सुकाउनु पर्छ। यसले गर्दा बिषाणु मर्छन्। तर, मास्क पातलो कपडाको हुनु हुँदैन। सुतीको कपडाको बहुपत्रे मास्क प्रयोग गर्नुपर्छ।
‘मास्क लगाउँदा शरीरभित्र अक्सिजन कम जान्छ, अनि झन बिरामी परिन्छ त्यसैले मास्क लगाउनु पर्दैन’, भन्ने भ्रमपूर्ण कुरा पनि छ्यापछ्याप्ती सुनिन्छ। ‘कोरोना भनेको नयाँ कुरा होइन। कोही पनि कोरोनाबाट मर्दैन। पछिल्लोसमय कोरोनाबाट कोही बिरामी हुँदैन’ जस्ता भ्रमपूर्ण कुरा पछिल्लो समय निकै फैलाइएको छ।
मास्कका विषयमा देखिएको भ्रमलाई विभिन्न सञ्चार माध्यममार्फत् चिर्नुपर्छ। कपडाको मास्क प्रयोग गरे हुन्छ। तर, सफा हुनुपर्छ। दुइ–तीन दिनसम्म एउटै मास्क लगाउनु हुँदैन। दिनदिनै धोएर घाममा सुकाउनु पर्छ। यसले गर्दा बिषाणु मर्छन्। तर, मास्क पातलो कपडाको हुनु हुँदैन। सुतीको कपडाको बहुपत्रे मास्क प्रयोग गर्नुपर्छ।
यस्तै बजारमा जताततै पाइने सर्जिकल मास्क सबैले लगाउनु पर्छ भन्ने होइन। राम्रोे गुणस्तरीय सर्जिकल मास्क पनि चार घन्टाभन्दा बढी काम लाग्दैन। त्यस्तै ‘एन–९५’ मास्क सबैका लागि अति आवश्यक होइन।
हामीले पनि व्यक्तिगतरुपमा दुई–तीन पत्रे कपडाको मास्क नै लगाउँछौं। यदि कसैसँग दुई तीनवटा मास्क छ भने त झनै राम्रो। स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्क साधारण जनले प्रयोग गर्नु पर्दैन।
विभिन्न अध्ययनले देखाएका छन् कि कोरोनाभाइरसका साथै श्वासबाट सर्ने अन्य रोगबाट बच्न पनि सुती र फलाटिनका मास्कहरू उचित हुन्छन्। तर, मास्क चिउँडोमा वा नाकको तल लगाउनु र नलगाउनु एकै हो।
त्यस्तै गाउँघरमा मात्र नभइ शहरमा पनि बाहिर जाँदा साबुन पानीले समय समयमा हात धुन त्यति व्यवहारिक नहोला। स्यानिटाइजर पनि सबैले किन्न सक्दैनन्। त्यसमाथि पनि नेपालमा पाइने सबै स्यानिटाइजर विश्वसनीय छैनन् भनेर अध्ययनले देखाएको छ।
त्यसैले पसल वा भीड भएको ठाउँमा सकेसम्म जाँदै नजाने, जानै परे पनि छिट्टै किनमेल गरेर फर्किने, र मास्क लगाइरहने गर्दा सुरक्षित हुन सकिन्छ। कति जनाले ‘मैले मास्क नलगाएर पनि केही भएको छैन’ पनि भनेको सुनिन्छ। संक्रमण भएर जटिलता भए त्यस्तो मानिसको जीवन खतरामा पर्छ।
अझ बाटोमा हिँड्दा मास्क लगाउनेले पनि नाकको सिंगान फ्याक्ने र मुखको मास्क तल सारेर थुक्ने त सामान्य मानिन्छ। यसो गर्नु असभ्यता हो भनेर कसैले कसैलाई भन्न मिल्दैन। ‘थुक, खकार वा सिँगान यसरी फ्याक्नु हुँदैन’ भनेर विभिन्न सञ्चारमाध्यममा विज्ञापन बजेको सुनिंदैन। थुक, खकार वा सिँगानले पनि कोरोना र अन्य संक्रमण फैलाइरहेको हुन्छ। यसैले मास्कबारे फैलिएको भ्रम हटाउन तथा कस्तो मास्क कसरी र कतिदिन लगाउने भन्नेबारे स्वास्थ्य मन्त्रालयले विभिन्न सञ्चारमाध्यम मार्फत् प्रचारप्रसार गर्न जरुरी छ।
यस्तै सुती कपडाको बहुपत्रे मास्क पनि आयात गरिएका मास्क जत्तिकै सुरक्षित हुन्छ भनेर पनि प्रचारप्रसार गर्न सके पक्कै पनि कोरोनासँगै अन्य रोगको संक्रमणबाट बच्न र बचाउन सकिन्छ। पछिल्लो समय नेपाल दूरसञ्चार र एनसेल जस्ता सञ्चार सेवा प्रदायक संस्थाहरुले आफ्ना सेवाग्राहीलाई कोरोनाबाट बच्ने र बचाउने उपायहरु सुझाइ रहेका छन्। योसँगै कस्तो मास्क, किन कसरी र कति दिन प्रयोग गर्ने भन्नेबारे पनि सचेत गराउन जरुरी छ।
दशैं आउन थालेको बेला आफन्त कहाँ गएर जमघट गर्नेले ‘जोखिम हुन सक्छ’ भन्ने विचार गर्नुपर्छ। ‘जीवन रहे त अर्को वर्ष भेटौंला’ भनेकै बेस।
मधेशतिर त सुर्ती र गुट्खा खाएर जथाभावी थुक्नु, ख्वाक्क गर्नु सामान्य नै मानिन्छ। प्रायः हामीले सधैंजसो देखिरहने दृश्य भएकाले कसैले थुक्दा र सिँगान फाल्दा वास्ता हुँदैन। तर सिंगापुर वा अमेरिकामा यस्तो गरे ‘सिधै जेल चलान भइन्छ’ भन्ने कुरा कतिपय नेपालीलाई थाहा छ। यसलाई पनि रोक्न प्रचारप्रसार गर्नुपर्छ।
धन्य! नेपालमा मन्दिरहरू, सिनेमा, होटेल अहिलेसम्म बन्द छन्। तर, दशैं आउन थालेको बेला आफन्त कहाँ गएर जमघट गर्नेले ‘जोखिम हुन सक्छ’ भन्ने विचार गर्नुपर्छ। ‘जीवन रहे त अर्को वर्ष भेटौंला’ भनेकै बेस। अर्कोतिर संस्कृति जोगाउने नाममा अनेक जात्राहरूमा धेरै मानिस जम्मा भएर संक्रमण फैलिए समस्या हुन सक्छ।